विनयले स्वीकाऱ्यो लीलाकुमार गुरुङको च्यालेञ्च : भने-मलाई मानहानीको मुद्दा लगाउनू,  अब न्यायालयमा नै भेटौं

कालेबुङ, 11 जुलाई


जिटीए बिओए विनय तामाङले विमल गुरुङपछि लीलाकुमार गुरुङको च्यालेञ्च स्वीकारेका छन्। कालेबुङको जनसभाबाट विनय तामाङले उनको भाई बसन्त तामाङमार्फत लीला गुरुङले 15 लाख रुपियाँ मागेको गम्भीर आरोप लगाएका थिए।

यसबाहेक गुरुङविरुद्ध तामाङले पर्जापट्टा दिन्छु भनेर गाउँलेहरूबाट पाँचहजार रुपियाँ घुस लिएकोसमेत आरोप लगाएका थिए। हिमालयन फरेस्ट भिलेजर्स अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङले तामाङका आरोपहरू आधारहीन रहेको भन्दै तामाङले शीघ्र माफी माग्नुपर्ने अनि तीनदिनभित्र माफी नमागे मानहानीको मुद्दा लगाउने घोषणा गरेका थिए।

विनय तामाङले माफी माग्नुको साटो उल्टै लीला गुरुङलाई न्यायालयमा भेट्ने चुनौति दिएका छन्। बिजनबारीको जनसभामा बोल्दै तामाङले  15 लाख मागेकोबारे कुनै शब्द उच्चारण नगरे पनि आफूलाई गुरुङले लगाउने भनेको मानहानीको मुद्दालाई स्वीकार गरेको बताए।

‘मसित पर्याप्त प्रमाणहरू छन्, म त्यसै बोल्ने मानिस होइन। लीलाकुमार गुरुङको चुनौति स्वाकीर छ,’ तामाङले भने, ‘उच्चन्यायालयमा लगाए नी सर्वोच्च न्यायालयमा लगाए नी मलाई स्वीकार छ। म सारा प्रमाणसितै लीला गुरुङसित न्यायालयमा नै भेट्नेछु।’

यता लीला गुरुङसित प्रतिक्रिया माग्दा उनले आफूले तीनदिनको समय दिएको तीनदिनभित्रमा माफी नमागे मानहानीको मुद्दा दर्ता गर्ने बताए। ‘मैले अन्तिमेत्थम दिइसकेको छु, म मानहानीको मुद्दा लगाउने तयारी गरिसकेको छु,’ गुरुङले भने, ‘ठीकै हो, न्यायालयमा नै दूधको दूध पानीको पानी हुनेछ। यद्धपि विनय तामाङसित अझ दुइ दिन माफी माग्ने समय छ। तीनदिनपछि म मेरो बचन पूरा गर्नेछु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares