विनयको भाजपा एलर्जी :  तामाङ भन्छन्- ‘दार्जीलिङ त के अलिपुरद्वार र जलपाइगढीमा पनि भाजपालाई हराइदिन्छु’

दार्जीलिङ, 11 जुलाई।


जिटिए बिओए विनय तामाङको जनसभा तार्गेटमा भाजपा निरन्तर पर्दै आइरहेको छ। मोर्चाको धारावाहिक जनसभा आज बिजनबारीबाट सकियो। हरेक जनसभामा तामाङको एउटै रट थियो, ‘भाजपालाई 2019 को चुनाउमा दार्जीलिङमा त छिर्न दिन्न दिन्न अलिपुरद्वार र जलपाईगुढीको आसनमा पनि म हराइदिनेछु। मैले यसको तयारी पनि गरिसकेको छु।’

भाजपालाई अलिपुरद्वार र जलपाइगढी आसनमा हराएरै छोड्ने तामाङले आफ्नो दृड सङ्कल्प त सुनाइरहेकै छन्, यसको लागि गोजमुमो चन्दन जस्तै घोटिन परे पनि पछि नहट्ने प्रतिबद्धता पनि प्रकट गरिरहेका छन्।

आज बिजनबारीको  जनसभामा पनि गोजमुमो अध्यक्ष विनय तामाङले त्यही प्रतिवद्धता दोहोऱ्याए। लगभग 2 घण्टाको भाषणमा उनले प्रथमार्द्धमा जीटीएले गरिरहेको विकासको सूचीनै जनताअघि पेश गरे भने उत्तरार्द्धमा भाजपादेखि विमल गुरूङ, लीला गुरुङदेखि गोरामुमोसम्मैका नेताहरूको खोइरो खने।

यद्धपि चाखको कुरा  भाजपाप्रतिको कटाक्ष नै थियो। 2019 मा लोकसभा चुनाउ हुने तय छ। ‘गत वर्ष दार्जीलिङ पहाड आन्दोलनको कारण अस्त-व्यस्त हुँदा एक शब्द पनि नबोल्ने भाजपालाई दार्जीलिङ पहाडमा आएर भोट माग्ने कुनै अधिकार छैन,’ तामाङको कुरा सोझो छ ‘अब 2019-को चुनाउमा यस पार्टीलाई पहाडमा आउन दिन्नौं। यति मात्रै होइन, भाजपालाई अलिपुरद्वार र जलपाइगढीको आसनमा पनि हराउन गोजमुमोले कठोर परिश्रम गर्नेछ।’

भेट्ने मुख्यमन्त्री

विनय तामाङले आजको जनसभाबाट आफूले भोलि राज्यकी मुख्यमन्त्रीसित उत्तरकन्यामा भेट गर्ने योजना बनाएको पनि खुलाए। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी उत्तर बङ्गालको भ्रमणमा छिन्।  यसै क्रममा गोजमुमो वा जीटीए अध्यक्ष तामाङले भोलि उनीसित भेट गर्ने हुन्।

बिजनबारीलाई आश्वासन र विकास फेहरिस्त

तामाङले एक सप्ताहभित्र पुलबजारदेखि बिजनबारीको खण्ड विकास कार्यालयसम्म स्ट्रीट लाइट लगाउने वाचा गरे। जीटीएले 6 महीनाको अवधिमा पूर्व दागोपाप (दार्जीलिङ गोर्खा पार्वत्य परिषद)-का तत्कालीन अध्यक्ष सुवास घिसिङ अनि जीटीएका पूर्व अध्यक्ष विमल गुरूङले गर्न नसकेको काम गरेर देखाएको दावी हरेक जनसभामा गर्दै आइरहेका छन्। हरेक जनसभामा विमल गुरुङले अन्तिम 2 वर्षभित्र स्टेट प्लानबाट 133 वटा परियोजना ल्याएको तर आफूले 6 महिनामा नै  853 वटा परियोजना ल्याएको बताइरहेका छन्।

आज पनि उनले त्यही कुरा दोहोऱ्याए। 45 वटा समष्टिमा 411 करोडको काम भइरहेको,  कतिवटाको टेण्डर हुन बाँकी रहेको, जीटीएका 8 वटा खण्ड विकास क्षेत्रमा आरआईडीएफका 32 वटा अनि पीएमजीवाईएस परियोजनाअन्तर्गत मरम्मत्ति अनि नयाँ 57 गरेर मोठ 89 वटा परियोजनाको काम 45 वटा समष्टिमा चलिरहेको आज पनि बताए।

आगामी विकास योजना

तामाङअनुसार 31 वटा नयाँ पुल निर्माणको लागि राज्य सरकारसमक्ष कुरा भइसकेको छ। दार्जीलिङ र सिक्किमलाई टुरिष्ट सर्किट बनाउने कुरामा सहमति भइसकेको छ। खरसाङको फेदमा एग्रीकल्चर हब, खऱसाङ अनि मङ्पूमा टेक्नो इण्डियाले आइटीआईलगायत अन्य कलेजहरू शुरू गरिनेछ।  खरसाङ, कालेबुङ अनि दार्जीलिङमा निक्को पार्कहरू निर्माण गरिनेछ। आइस पार्क रोहिणीमा बनाइनेछ।  दार्जीलिङमा 7 डी थिएटर निर्माण गरिनेछ। दार्जीलिङको बतासेको गर्ग वर्ल्ड परिसरमा ल कलेज र बीएड कलेज यही सत्रदेखि शुरू हुनेछ।

हेप्पीभेल्ली चियाबगान नजिक नगरपालिकाको खोलीघरलाई नर्सिङ कलेजको रूपमा विकसित गरिनेछ।  भेल्लोरमा 40 वटा पलङको रेष्ट हाउस निर्माणको परियोजना बनिसकेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares