सदनमा हाजिरी जवाफ प्रतिस्पर्धा : चामलिङ भर्सेस लेप्चा

 गान्तोक, 11 जुलाई।


मुख्यमन्त्री पवन चामलिङले हालै आफ्नो बयानमा वर्ष 2016—17 मा सिक्किमको प्रति व्यक्ति आय 2,91,373 बताएको र विगत दुई दशकमा सिक्किमको प्रति व्यक्ति आय 3033 प्रतिशत वृद्धि भएको दाबीप्रति विपक्षी दल एसकेएमका विधायक कुङ्गा निमा लेप्चाले प्रश्न उठाए।

विधायक लेप्चाले आज बुधबारदेखि शुरू भएको दुई दिवसीय विधानसभा सत्रमा यो विषय उठाउॅंदै सकल राज्य घरेलु उत्पाद (जीएसडीपी) का प्रमुख योगदानकर्ता क्षेत्रहरू कुन—कुन हुन्? भनेर सोधे।

जवाफमा मुख्यमन्त्री तथा वित्त, राजस्व एवं व्यय विभागका प्रभारी मन्त्री चामलिङले सिक्किम राज्यको जीएसडीपी विकासमा योगदान पुऱ्याउने प्रमुख दुई क्षेत्रहरू निर्माण र बिजुली क्षेत्र रहेको जानकारी दिए।

राज्यमा जल विद्युत परियोजनाहरूको शुरूआत, ओद्यौगिक एकाईहरू विशेष रूपमा औषधी उद्योगको स्थापनाले राज्यको जीएसडीपी र प्रति व्यक्ति आय वृद्धिमा योगदान पुऱ्याएको उनले स्पष्ट पारे।

व्याङ्किङ, निर्माण, सञ्चार र जन प्रशासनले पनि जीएसडीपी वृद्धिको महत्वपूर्ण भागमा योगदान पुऱ्याइरहेको थप जानकारी दिए।

यसै क्रममा विधायक रूप नारायण चामलिङले नीजि घरहरूमा हाल चलिरहेका महाविद्यालयहरूका कारण विद्यार्थीहरूले धेरै कष्ट भोग्न परिरहेको बताउॅंदै विभागले कहिलेसम्म आवश्यक सुविधाहरू उपलब्ध गराउँछ? भनेर सोधे।

जवाफमा मानव संसाधन विकास विभागका मन्त्री आरबी सुब्बालाई सिक्किममा तीन सरकारी महाविद्यालयहरू किरायको भवनमा सञ्चालन भइरहेको जानकारी दिए। जसमा गेजिङ सरकारी महाविद्यालय, माङशीला सरकारी कला महाविद्यालय र देन्ताम सरकारी भोकेशनल कलेज रहेका छन्। यस मध्ये गेजिङ सरकारी महाविद्यालय आफ्नो स्थायी क्याम्पसमा स्थानान्तरण गरिएको तथा यसै जुलाईको नयाँ सत्रदेखि महाविद्यालय नयाँ क्याम्पसमा पूर्ण रूपले सञ्चालन हुने उनले जानकारी दिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares