जन्मदिन : राजा पुनियानी-को पाब्लो स्केच

आज कवि राजा पुनियानीको जन्म दिवस। आज नै कवि राजाको ‘फेबरेट कवि’  पाब्लो नेरुदाको पनि जन्म दिन। आफ्नो जन्मदिनमा नै जन्मिएका पाब्लोमाथि कवि राजाले कविता लेखेर उनलाई सम्झिएका छन्। ‘आज मेरो काव्यगुरू – मेरो फेबरेट पोएट – पाब्लो नेरूदाको जन्म दिन हो,’ राजा भन्छन्, ‘यो नेरूदा फ्यानबाट चिलीका शताब्दी कविलाई यो कविता-सम्झाउनी।’


 

सपनाको तुइनमा नेरूदाको चप्पल

● नेभाराको पातबाट
तप्प खसेर
रक्सीको अमिलो थोपा
बन्छ बिहानै
नेरूदाको जून

● एउटै नेरूदा
सम्भव हुँदैन हर समय
त्यसैले कविताले खिँचिराखेको छ
नेरूदासँगको हरेकपालिको
सहवासको भिडियो
कविताको तिघ्रा मुसार्दा
ब्लूफिल्मको हिरोजस्तो अश्लील कहिले देखियो र नेरूदा ?
नेरूदा त सधैँ शालीन

● दुनियाँको एउटा नेरूदाले
के फुल्याएको थियो
कविताको रङ्गीन बेलुन
त्यही बेलुनको पातलो धागो समातेर
कति-कति माच्छुपिच्छुका
अग्ला-अग्ला पहाड़ अझ्झ-अझ्झ अग्लिए
जब आरिसको दाह्रीजुँघा झ्यामझ्याम पालेका
संसारका अरू-अरू हिमालहरूको मुहार चाउरिए

जब देख्छ नेरूदा
रक्सीको रक्सीपन – टमाटरको टमाटरपन – लुगाको लुगापन
र उनीहरूको लागि आयोजन गर्छ
अद्भुत शब्द-सम्मान
तब लाजले जिउँदै मर्छ
हरेक भाटकवि

● घाम
नेरूदाको शब्दमा हिउँ हुन्छ
र हिउँ घाम हुन्छ
युद्ध नेरूदाको बोलीमा
बुद्धले फेरेको
ठूलो लामो सास हुन्छ

● नेरूदाले उकासेको छ कवितामा
शब्दसँगै मान्छेको उचाइ
उसका जाँबाज शब्दहरू
पञ्चैबाजा बजाउँदै
युद्धमोर्चामा जान्छन्

संवेदनाको फूलमा नेरूदा
विचारको फूल फुलाउँछ
विचारको भट्टीमा पकाउँछ
भावनाको जाँड़ पनि

● खासमा नदीको रजस्वला रगत झरेको हो
पानी भएर
नेरूदाको बर्खामा

● कविताले कुनै दिन मूर्ति भैदिनु हो भने
या चित्र
सिनेमा भैदिनु हो भने
या खानेकुरा
दबाइ या बिजुली या कपड़ा या किताब या चुरोट
कविताले यस्तै केही पनि भैदिनु हो भने
नेरूदाको टाइपराइटरमा गएर
यी तमाम कविता एक दिन
मुक्तिको भीख मागिरहेका हुन्थे
कविता यी सबै सबै थोक भए नेरूदाको कवितामा
जुन दिन नेरूदाले
कविताको अर्थी निकाल्यो एक्लै
चिलीको बाक्लो जङ्गलको भीरमा
त्यै दिन त्यहीँबाट
संसारभरि फैलिएको थियो कविता
पास राखेको आँटाको जीवाणुजस्तै

● जसले देखेको थियो
नेरूदा सँगसँगै
रूखलाई अजिङ्गर
बन्दुकलाई तानाशाहको लिङ्ग
प्रेमी ओठलाई बलिरहेको कोइला


नेरूदाको कविताको रगत हो

चुपचाप रोइरहेकी प्रेमिकाको
आँसुको नून बटुलेर
सर्वहाराको चुलामा थपक्क राखिदिने प्रेमी
नुहाएर आएको थिएछ
नेरूदाको कविताको सागरमा

● शब्दमा नेरूदाले जेलाई
ल्याटिन अमेरिकी वृष्टिवनको बर्खा भनिबस्यो
त्यो खासमा अरू नै केही थियो

जस्तै

– अपुताली आमाको न्यानो छात्ती
– क्यान्सरग्रस्त प्रेमिकाको यादिलो केश
– युद्धरत साँझमा तनाविलो चिया
– सड़कमा लतपत लोर्काको खुन

● यही संसारको हाड़-मासुले भरिएको छ
नेरूदाको कविताको
दमदार संसारको कङ्काल

जसभित्र ढुकढुकिन्छ
एउटा अर्कै संसारको सपना

आफ्नै कविताको कागजको आगोमा
जल्यो नेरूदाको लाश

सपनाको नदी तर्नु भनेर नेरूदाको चप्पल
झुण्डिएको छ
त्यै सपनाको तुइनमा

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया