मुम्बईमा भानु

मुम्बई, 15 जुलाई


सारा विश्वमा पालन भइरहेको 204 -औँ भानुजयन्ती यहाँका नेपालीभाषी महिलाहरूको एकमात्र सामाजिक संस्था सुनखरी महिला समाजले हिजो 14 जुलाईका दिन मिरा रोडस्थित सृष्टि कम्प्लेक्सको कल्पतरू क्लब हाउसमा  पालन गऱ्यो। विभिन्न स्थानबाट आएका नेपालीभाषीहरूको व्यापक उपस्थिति रहेको कार्यक्रममा मूल सचिव श्रीमती विष्णु सिँहले स्वागत वक्तव्य राखिन् अनि  मुख्य अतिथि तथा बसिबियाँलो-का नाइके हीरा छेत्रीको बाहुलीबाट भानुको तस्वीरअघि माला अर्पण गरियो।

दोहोरी लोकगायिका अनि कुशल मञ्च सञ्चालिका उर्मिला छेत्री आकर्षक उद्घोषणामा सम्पन्न कार्यक्रममा नाच, गीत, हँस्यौली, विचार आदि प्रस्तुतिहरू समाविष्ट थिए। कालेबुङको लिङसे बस्तीका पण्डित् वेदनिधि पौड्यालले मङ्गलाचरण अनि रामायण पाठ गरेर सुरू गरेको कार्यक्रममा बाल एवम् युवा कलाकारहरू वासु बौड्याल, डली थापा, देवश्री मोथे, ध्रुव-यश नरोना, पुजा थापा, मनु जोशी, विकास पौड़ेल, रितु थापा, लीना राई, सन्तोष भट्टराई, महिमा मोथे, वेदान्त शर्मा, साई ज्योति छेत्री, आदिले आ-आफ्ना गीत, नाच अनि साहित्यिक कृतिहरू पाठ गरेका थिए। युवा उपन्यासकार शिव बस्यालले पनि यस औसरमा आफ्नो विचार पोखे।

यसै उपलक्ष्यमा वैचारिक भेटघाट बसिबियाँलो-को तेस्रो प्रकरण पनि सुनखरी महिला समाजकै घरपटीत्वमा सम्पन्न भएको थियो। बसिबियाँलो-का प्रमुख सहयात्री तथा सिनेमाटोग्राफर युवराज न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्दै मुम्बईमा रहेर आइरहेका नेपालभाषीहरूले पनि भानुभक्तले आफ्नो जातिका लागि गरेजस्तो केही नयाँ अनि चुनौतीपूर्ण काम गरेर समाजको उत्थान गर्नुपर्ने आफ्नो मनसाय प्रकट गरे अनि बसिबियाँलो-ले मुम्बईका नेपालीभाषीहरूलाई महिनामा एकपल्ट भेट गर्ने औसर प्रदान गरिरहेकोमा हर्ष व्यक्त गरे। बसिबियाँलो-का मुम्बईनिवासी सहयात्रीहरू सकुन सिँह राई, स्वस्तिका छेत्री, निलु दूतराज आदिले आ-आफ्ना रचनाहरू पाठ गरेका थिए।

विशेष अतिथिका रुपमा उपस्थित भारतीय गोर्खा एकता समाजका सभापति तथा सामाजिक कार्यकर्ता ध्रुव प्रधानले आफ्नो वक्तव्य प्रस्तुत गर्दै सुनखरी महिला समाजका कार्यकर्ताहरूले यसरी नियमित रुपमा भानुजयन्ती अनि अन्य गतिविधिहरू सम्पन्न गरेर आइरहेकोमा खुसी प्रकट गर्दै भावी कार्यक्रमहरूका लागि शुभकामना प्रदान गरे। उनले भारतीय गोर्खा एकता समाजले पनि यसरी नै सामाजिक कार्यहरू सम्पन्न गरेर आइरहेको अनि भावी दिनमा पनि केही ठोस कार्य गर्ने उद्देश्य राखेको जानकारी पनि दिए।

कार्यक्रममा हीरा छेत्रीले मुम्बईजस्तो व्यस्त सहरमा घरेलु महिलाहरूले भानुजयन्ती आयोजना गरेर सबै नेपालीभाषीलाई एक स्थानमा भेला गराएको घटनालाई साधारण रुपमा नलिएर सारा भारतका नेपालीभाषीका लागि एक उदाहरणका रुपमा लिइनुपर्ने बताए अनि यस कार्यका लागि सुनखरीका चेलीबेटीहरूलाई बधाई टक्र्याए।

उनले मुम्बईजस्तो गैर-नेपाली इलाकामा आजका पुस्ताले नेपाली भाषामा शिक्षा पाउन नसके तापनि आफ्नो परिवारमा भने नेपाली भाषालाई प्राथमिकता दिनुपर्ने अनि कम-से-कम यसलाई बोलीचालीकै रुपमा भए पनि युवाहरूले प्रयोग गर्नुपर्ने बताए। नेपाली भाषा बोल्न अनि सिक्न रुचाउने स्थानीय युवाहरूलाई उनले बसिबियाँलो-को पक्षबाट आगामी दिनमा मौलिक नेपाली बोलीचाली, साइनो-सम्बन्ध, साहित्य, लेखन आदिमाथि कार्यशाला सम्पन्न गर्ने पनि सूचना दिए।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै सुनखरी महिला समाजकी मूल सचिव रजनी थापाले पोहोरको साल दार्जीलिङमा चलिरहेको आन्दोलनका शहीदहरूप्रति सम्मान जनाउँदै आफ्नो समाजले भानुजयन्ती पालनलाई स्थगित गरेको तापनि आन्दोलनको उत्केन्द्र दार्जीलिङ र अन्य स्थानमा भने शोक पालन नगरेर भानु जयन्ती मनाइएकोमा दुःख व्यक्त गरिन्।

बर्खायामको मौसममा बिहानैदेखि परेर आइरहेको घनघोर वर्षाको कुनै पर्वाह नगरी यस दिनको कार्यक्रममा मुम्बई महानगरीका विभिन्न इलाकाहरू गोरेगाउँ, दोम्बिवली, बोरिवली, वसाई, वासी, चकाला, भाइन्दर, माहिम, विद्याबिहार, कोर्टयार्ड, बेलापुर, नवी मुम्बई, अन्धेरी, ठाणे, चेम्बुर आदि स्थानबाट नेपालीभाषीहरू उपस्थित भएका थिए जसमा अधिकतर महिलाहरू रहेका थिए।

यस औसरमा नेपाली सिने संसारकी कलाकार तारा शर्मा, कास्टिङ डाइरेक्टर सागर शर्मा, टाटा इंस्टिट्युट अफ फन्डामेन्टल रिसर्चका पूर्व वैज्ञानिक डा. एल. बी. सुब्बा, सामाजिक कार्यकर्ता ध्रुव कुमार गुरुङ, भारतीय गोर्खा एकता समाजका सल्लाहकार सी.बी. छेत्री आदि विशेष रुपले उपस्थित थिए। यसैबिच आगामी बसिबियाँलो-को चौथो प्रकरण अगस्त महिनामा घाटकोपरनिवासी श्रीमती निलु दूतराजको घरपटीत्वमा सम्पन्न हुने जानकारी पनि दिइयो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया