सोनादा डिग्री कलेजमा भानु जयन्ती 

सञ्जीव मोहोरा/सोनादा 18 जुलाई: आदिकवि भानुभक्त आचार्यको 204 औँ जन्म जयन्ती समारोह सोनादा डिग्री कलेजको प्रेक्षागृहमा प्राचार्य डा. एलपी  गुप्ताको अध्यक्षतामा सम्पन्न भयो। प्राचार्य लगायत बडाबाबु प्रताप छेत्री, विभागीय प्रमुखहरू डा.रागिनी थापा, प्रा. सुशीला बराइली, प्रा. प्रमोद छेत्री, प्रा. पेञ्चुला भोटिया, प्रा. विशाल थापा, प्रा. अबु सिद्दिकी आदिद्वारा भानुभक्तको तस्वीर अघि दीप प्रज्वलन , माल्यार्पण गरी शुआरम्भ भएको उक्त समारोहमा विद्यार्थी प्रिया पोखरेलले भानुभक्तको व्यक्तित्व- कृतित्वमाथि प्रकाश पारिन् भने प्रा. अनिल विश्वकर्मले भानुभक्तीय रामायणको नेपाली समाजमा प्रभाव शीर्षकमा वार्ता पेश गरेका थिए।

विद्यार्थीहरूद्वारा रामायण पाठ, भानुप्रति श्रध्दाञ्जली गीत लगायत लोक गीत, लोक नृत्य र स्वरचित कविताहरू खूवै उत्कृष्ट ढंगमा प्रस्तुत गरेका थिए। भानु जयन्ती कलेजको सह- पाठ्यक्रमभित्र पर्ने एक अनिवार्य कार्यक्रम भएकोले यसरी विद्यार्थीहरू स्वयं नै उत्साहित भई भानु जयन्ती सम्पन्न गरेको कुरो प्रा. मेघनाथ छेत्रीले बताए। उनले आगामी 20 अगस्त नेपाली भाषा मान्यता  दिवसलाई केन्द्र गरेर भाषा सम्बन्धी विविध प्रतियोगिताहरू विद्यार्थीमाझ सम्पन्न गरिने साथै यस वर्ष चलीरहेको शिवकुमार राई जन्म शताव्दी समारोहको उपलक्ष्यमा सोनादा डिग्री कलेजले पनि आगामी दिनमा पालन गरेर शिवकुमार राईका व्यक्तित्व र कृतित्वमाथि वार्ताहरू र उनका नाटकहरू मञ्चन गर्ने कार्यक्रम पनि रहेको कुरो प्रा मेघनाथ छेत्रीले जनाए।

विद्यार्थी दीपा थापाद्वारा रोचक ढङ्गमा सञ्चालित समारोहमा कलेजका सम्पूर्ण शिक्षण- अशिक्षण कर्मीहरू लगायत विद्यार्थीहरू उपस्थित थिए। भानुभक्त र उनको रामायणबारेमा किताबहरूमा पढेको तर भानु जयन्ती कार्यक्रममा भने यसरी प्रथमपल्ट सहभागी हुन पाएकोमा  कलेजका प्रा. हुमाँयु शेख, प्रा. पार्थ सारथी दास र प्रा. अबु सिद्दिकीले खुशी व्यक्त गरे। विद्यार्थीहरूले यसरी सफलतापूर्वक कार्यक्रम सम्पन्न गरेकोमा डा. रागिनी थापा र डा.एल. पी. गुप्ताले विद्यार्थीहरूलाई बधाई टक्राए। प्रा .पर्वत रसाईलीले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया