डीटीडीपीएलयुद्वारा खरसाङको चियाबारीहरूमा गेट मिटिङ: न्यूनतम रोजगार अधिनियम लागु गराउने माग सर्वप्रथम हामीले गरेको हो -डीटीडीपीएलयू

खरसाङ, 20 जुलाई: न्यूनतम रोजगार अधिनियम चिया श्रमिकहरूको हितमा लागु गराउने लगायत विभिन्न मागहरू लिएर गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) द्वारा खरसाङ महकुमाको विभिन्न चियाबारीहरूमा बिहान गेट मिटिङ सम्पन्न भयो। खरसाङको जम्मा 28 वटा चियाबारीहरूमा बिहान 7 देखि 8 बजेसम्म गेट मिटिङ भएको छ। खरसाङको चियाबारीहरू सिङ्गेल, मन्टिभियट,  कफिबारी,  स्प्रिंग साइड, दिलाराम, मार्गरेट्स होप, अम्बटे लगायत तीनधारे महानदी समष्टीको 14 वटा चियाबारीहरूमा नै गेट मिटिङ गरिएको जानकारी प्रचार प्रसार सचिव सन्तोष तामाङले बताएका छन्।

त्यसरी नै डीटीडीपीएलयु केन्द्रीय सभापति करुणा गुरूङ खरसाङको स्प्रिंग साइड चियाबारीको गेट मिटिङमा पुगेर आफ्नो वक्तव्य राखिन्। उनले आफ्नो वक्तव्यमा चियाबारीहरूमा बिहान गेट मिटिङ आयोजना गरिएको उद्देश्य विषयमा बोल्दै चियाबारीहरूमा न्यूनतम रोजगार अधिनियम लागु गराउने माग लगायत चियाबारी श्रमिकहरूको हित र अधिकारको लागि यो आजको गेट मिटिङ गरिएको बताइन्।

त्यसरी नै डीटीडीपीएलयु केन्द्रीय सह सचिव एवं खरसाङ महकुमाको संयोजक राजेस थापाले पहाडको चियाबारीहरूमा न्यूनतम रोजगार अधिनियम लागु गराउने मांग गोजमुमोले अनि यसको श्रमिक सङ्गठन डीटीडीपीएलयुद्वारा गरिएको बताए । उनले हाम्रो मांग अनुसार नै चियाबारीहरूमा न्यूनतम रोजगार अधिनियम लागु हुन लागेको बताउँदै विगतका राजनितिक पार्टीहरूले गर्न नसकेको कुराहरू गोजमुमोको श्रमिक सङ्गठन डीटीडीपीएलयुले गरेको ठोकुवा पनि गरे।

केन्द्रीय सह-सचिव एवं खरसाङको संयोजक राजेश थापाले अघि भने-“हामीले विगतको सङ्गठनले भन्दा धेरै कामहरू सफलतासाथ श्रमिकहरूको हितमा गरेका छौं। श्रमिकहरूको दैनिक हाजिरा र बोनस पनि सम्मानजनक रूपमा बढाउन हामीले श्रमिकहरूको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छौं।” उनले खरसाङको चियाबारीहरूमा बिहान गेट मिटिङ आयोजना गरेकोमा सबै शाखा समितिहरूलाई एवं श्रमिकहरूलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि श्रमिकहरूको हितमा यसरी नै एक हुने आह्वान गरे।

त्यसरी नै डीटीडीपीएलयुद्वारा तीनधारे महानदी समष्टीको 14 वटा चियाबारीहरूमा बिहान गेट मिटिङ गरिएको छ । समष्टीको महल्दीराम, नर्वदा, जंगपाना,मालुटार, सिमरिङ, नरबुङ, सिपाहीधुरा, तीनधारे, जोगमाया, सिलिमहिल, सिविटार,  गिताङे, घुम्ती,  नयाँ कमान आदि चियाबारीहरूमा बिहान गेट मिटिङ गरिएको जानकारी प्राप्त भएको छ। यस्ता गेट मिटिङ तीनधारे महानदी समष्टीको मालुटार चियाबारीमा पनि गोजमुमोको मालुटार खण्ड समितिको सभापति नरेश राईको अध्यक्षतामा सम्पन्न भयो जसलाई प्रह्लाद छेत्रीले गरेका थिए। यस गेट मिटिङमा वक्ताहरूले न्यूनतम रोजगार अधिनियम लागु गराउने मांग लगायत चियाबारी श्रमिकहरूको हित र अधिकारको विषयमा वक्तव्य राखेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया