गोर्खा कलाकारहरू हाई फिभर-को फाइनलमा : जिताउनका लागि अधिक भोटको आवश्यकता

विकास दूतराज, मुम्बई, 21 जुलाई।


कलाकारिताको दुनियाँमा आफूहरू पनि कम नरहेको प्रमाण नेपालीभाषी गोर्खा कलाकारहरूले पनि भारतका विभिन्न लोकप्रिय मनोरञ्जनात्मक टिभी च्यानलहरूका रियलिटी शोहरूमार्फत् दिइरहेका छन्। इन्टरटेन्टमेन्ट च्यानल एन्ड टिभीको रियलिटी शो हाई फिभर-को फाइनल चक्रमा निशा रसाइली अनि तारा ढकालको जोड़ी एकातिरबाट पुगेको छ भने अर्कोतिरबाट देहरादुनका युवा अंशुल प्रधान पुगेका छन्। अंशुललाई जोड़ीका रूपमा मराठी नृत्यकार तेजस वर्माले सहयोग पुऱ्याइरहेका छन्। यी कलाकारहरूले प्रदर्शन गरिरहेको नाँचकलाको चमत्कारबाट दर्शकहरू मात्रै होइन तर देशका प्रख्यात अभिनेता र नृत्य निर्देशकहरू पनि अवाक बनिरहेका छन्।

सानो पर्दाको लोकप्रिय च्यानल एन्ड टिभीमा प्रत्येक शनिबार अनि आइतबार राती 9 बजी प्रसारण हुने नाँच प्रतियोगिता हाई फिभरमा उधुम मच्याइरहेको यी कलाकारहरूले सबैलाई उछिनेर अब फाइनल चक्रमा प्रवेश पाएका छन्। तर फाइनल चक्रमा विजेता बन्नका लागि दर्शक र आफ्ना शुभचिन्तकहरूको माया,  ममता मात्रै होइन भोटको आवश्यकता परिरहेको छ।

गान्तोकको आरिथाङनिवासी निशा रसाइलीलाई दिल्लीका तारा ढकालले जोड़ी बनेर सहयोग पुऱ्याइरहेका छन्। दिल्लीमा सानोतिनो ब्यापार गरेर जीवन धानिरहेका मातापिताको पुत्र तारा ढकाल अनि निशा रसाइलीको जोड़ीले जति ख्याति पाइरहेको छ त्यति नै लोकप्रियता प्राप्त गरिरहेका छन् देहरादुनका युवा कलाकार अंशुल प्रधानले। राजमिस्त्रीको काम गरेर आफ्नो परिवारका एकमात्र छोरो अंशुललाई नाँचको दुनियाँमा लिएर आएका उनका पिता महेश प्रधान अनि माता रेखा प्रधानले भारतभरिका नेपालीभाषी गोर्खाहरूलाई भोटको माध्यमद्वारा सहयोग पुऱ्याइदिने अपील गरेका छन्।

माता रेखा प्रधानले बताएअनुसार, अंशुलले यसपालि दशौँ श्रेणीको परीक्षामा भाग लिनुपर्ने भए तापनि नृत्यप्रतिको उसको मोहको कारण पढ़ाइलाई बिचैमा त्यागेर मुम्बई आइपुगेको हो। देशभरिबाट भाग लिइरहेका हजारौँ नर्तकहरूलाई उछिनेर यसरी फाइनल राउन्डमा पुग्न सफल बनेका अंशुलले तर उचित प्रचार-प्रसारको अभावमा आवश्यक भोट पाउन नसक्ने आशङ्का रहेको उनी बताउँछिन्। आइतबार राति 9 बजीसम्म मिस्ड कल गरेर निःशुल्क भोटिङ गर्नसकिने हुनाले उनले आफ्नो छोराको लागि मात्रै होइन तर सम्पूर्ण नेपालीभाषी गोर्खाहरूको प्रतिभाका लागि भोट गरिदिने सबैमा अपिल गरेकी छन्।

गत वर्षको मार्च महीनामा पहिलो अडिसन चक्र सम्पन्न हुँदा हजारौँको सङ्ख्यामा प्रतियोगीहरूले भाग लिएका थिए देशभरिबाट। त्यसमध्ये 40-50 जनाको जोड़ी मात्रै छानिएका थिए जसमध्ये 19 -जनाको जोड़ी मेगा अडिसनमा पुगेका थिए। मेगा अडिसनबाट पनि छानिएर यी कलाकारहरूको जोड़ी टप एघारमा पुग्न सक्षम बनेको थियो भने हालमा सफलतापूर्वक आफ्नो नाचकलाको नमुना प्रस्तुत गर्दै यी दुइ जोड़ी फाइनल चक्रमा पुगेको छ।

यद्यपि यी कलाकारलाई फाइनल जिताउनका लागि नाँचप्रेमी दर्शकहरूले भरपुर भोट गर्नुपर्ने अवस्था देखा परेको छ। यसका लागि आइतबार राती  9 बजीसम्म भोट गर्न सकिनेछ। दर्शकहरूले एउटा सिम कार्डबाट 100 पल्टसम्म मिस्डकल गरेर भोटिङ गर्न सक्नुहुनेछ। यसको लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन। तारा-निशालाई  07240466682 –मा मिस्ड कल गर्नुपर्नेछ भने अंशुलको जोड़ीलाई 07240466686 मा मिस्ड कल गर्नुपर्नेछ। अर्कोतिर एसएमएस-को माध्यमद्वारा पनि भोटिङ गर्नसकिनेछ। तारा-निशालाई एसएमएस गर्नलाई अङ्ग्रेजीको ठूलो अक्षरमा टी.एन.एन. लेखेर 57575 मा पठाउनुपर्नेछ भने अंशुलको जोड़ीलाई एसएमएस गर्नलाई अङ्ग्रेजीको ठुलो अक्षरमा टी.एन.ए. लेखेर 57575-मा पठाउनुपर्नेछ। एउटा सिम कार्डबाट 100 वटासम्म एसएमएस गर्नसकिनेछ।

यसरी नै अनलाइन प्रक्रियामार्फत् भोटिङ गर्न चाहनेहरूका लागि तीनवटा डब्ल्यू.जेड ई ई5.कम स्लाइस हाई फिभर-मा पनि सुबिधा उपलब्ध रहेको कलाकारहरूले बताएका छन्। यसरी नै माई जिओको एप डाउनलोड गरेर पनि मोबाइलबाट भोट गर्न सकिने नयाँ पद्धति पनि शुरू भएको बताउँदै आजसम्म सहयोग पुऱ्याएर आइरहेका सम्पूर्ण कलाप्रेमी नेपाली तथा अन्य जातिका व्यक्तिहरूलाई यसपालि पनि त्यसरी नै सहयोग पुऱ्याई भारतमा यो जातिको गौरव कायम राखिदिने अनुरोध कलाकारहरूले गरेका छन्।

यी कलाकारहरूको फाइनल चक्रको नतिजा आगामी साता एन्ड टिभी-मा उद्घोषणा गरिने जानकारी पाइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares