आमाले खिचेको भीडियो सोसियल मीडियामा भाइरल

गान्तोक, 21 जुलाई।


आफ्नी छोरीको नृत्य मोबाइलले खिचेर सोसियल मीडियामा अपलोड गरेको एक हप्तामै 35 लाखले हेरेर मन पराएपछि 17 वर्षीय एड्रिना प्रधान एकाएक सोसियल मीडिया सेलिब्रेटी बनेकी छन्। पारिवारिक भेटघाटको क्रममा चन्दा प्रधानले आफ्नी छोरीले गरेको नृत्यको भिडियो खिचेर गत 14 जुलाईको दिन फेसबुकमा साझा गरेकी थिइन्। एक हप्ता बित्दा नबित्दै उक्त भिडियो 35 लाख मानिसले हेरेको 29 हजारले उक्त भिडियो शेयर गरेको छ भने 67 हजारले लाइक गरेका छन्।

तादोङ उच्चतर माध्यमिक विद्यालयमा विज्ञान विषय लिएर 12औं श्रेणीमा अध्ययन गरिरहेकी एड्रिनालाई बधाई दिनेको अहिले लर्को लागेको छ। कहिले पनि औपचारिक रूपमा नृत्यको प्रशिक्षण नलिएकी एड्रिनाले अवसर पाएको खण्डमा रियालिटी शोमा भाग लिन चाहन्छिन्। उनको नृत्य हेरेपछि बलिवुडका चर्चित कोरियोग्राफर तथा अन्तराष्ट्रिय स्तरका नर्तक राघव जुएलले व्यक्तिगत रूपमा फोन गरेर उनको नृत्यको प्रशंसा गरेका छन्। आफ्नो शिक्षालाई नै अगाडि बढाउने, तर नाँच्न भने नछोड्ने प्रतिबद्धता लिएकी एड्रिनाले अहिले आफ्नो भिडियो सोसियल मीडियामा भाइरल भएपछि आफ्नो नृत्य मन पराइदिने सबै शुभचिन्तक र कलाप्रेमीलाई हार्दिक आभार प्रकट गरेकी छन्।

चन्दा प्रधान र रवि प्रधानकी ज्येष्ठ सुपुत्री एड्रिनाको नृत्यले जुन प्रशंसा पाएको छ त्यसलाई सोसियल मीडियाको चमत्कार मान्न सकिन्छ भन्ने अभिभावकको प्रोत्साहनले आफूलाई यहाँसम्म ल्याइपुऱ्याएकोमा एड्रिनाले खुशी व्यक्त गरेकी छन्। 12औं श्रेणीको परीक्षापछि बायो टेक्नोलोजी लिएर उच्च शिक्षा लिने लक्ष्य राखेकी एड्रिनाले कुनै पनि अवसरमा नृत्यलाई अघि बढाउने मौका पाएको खण्डमा उक्त अवसर नचुकाउने बताइन्। एड्रिनाकी आमा चन्दा प्रधानले पनि आफ्नो फेसबुकका मित्रहरूले आफ्नो पोस्टलाई हेरेर मन पराइदिएकोमा आभार प्रकट गरेकी छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares