42 औं सुनौं सुनाऔं कार्यक्रम, मलाई नारीवादी भन्ने पट्टकै मन पर्दैन – कमला राई

खरसाङ, 23 जुलाई।


खरसाङको गोर्खा जनपुस्तकालयको आयोजनामा मासिक रूपमा भइरहेको सुनौं सुनाऔं कार्यक्रम अन्तर्गत यसपालीको 42 औं प्रकरणमा विशेष स्रष्टाको रूपमा मिरिककी स्रष्टा कमला राई उपस्थित थिइन्। उनीसित संवाद गर्नलाई कवि विनोद रसाईली उपस्थित थिए। संवादको क्रममा कवि विनोद रसाईलीले सोधेका विभिन्न प्रश्नहरूका उत्तर दिँदै राईले मलाई नारीवादी भन्ने कुरा पट्टकै मन पर्दैन, यो नारीवादी शब्दबाट वितृष्णा जस्तो लाग्छ भन्दै नारीले लेखेका कविताहरू नारीवादी मात्रै हुँदैन तर कविता सबै विषयमा लेखिने र कविता आफै स्वतस्फूर्त आउनुपर्छ भनी बताइन्।

उनले आफ्नो समयको स्रष्टाहरूको सम्झना पनि गरिन्। कवि कमला राईले विभिन्न प्रश्नहरूका जवाब दिँदै भनिन् – “कविता त्यो कुरा हो जो आफ्नो सामाजिक परिवेश, व्यक्तिगत कुराहरूले प्रभाव पार्छ त्यत्तिबेला लेखिन्छ।” उनले कवितामा शिल्प कि विषयवस्तुमा विश्वास गर्नुहुन्छ भन्ने प्रश्नको जवाबमा कविता कला हो, कलामा सुन्दरता हुनुपर्छ अनि कला र शिल्प दुवै कवितामा आवश्यक हुन्छ भनी बताइन्। प्रेम कविता लेख्नु भएको छैन भन्ने प्रश्नको जवाबमा आफ्नो कविता कृतिबाट एउटा प्रेम कविता पठन गरिन्। संवादको शुरूमा नै उनले हालै स्रष्टा पुरस्कार पाएको “म आईमाई” कविता पठन गरिन्।

कार्यक्रमको शुरूमा स्रष्टा कमला राईलाई यसपाली स्रष्टा पुरस्कार पाएकोमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट पूर्व सभापति तिलक शर्मा र सचिव प्रकाश प्रधानको बाहुलीबाट फूलगुच्छा प्रदान गरी सम्मान गरियो। कवि रचना राई अनाकरद्वारा सञ्चालित समारोहमा स्रष्टा कमला राईको परिचय कवि हनोक थापाले राखे। सन् 1967 मा जनदूत पत्रिकामा पहिलो रचना प्रकाशित गराएकी राई सन् 1967 देखि 1972 सम्म साहित्यिक गतिविधिमा सक्रिय रहे पनि सन् 2000 सम्म निष्क्रिय रहेपछि 2000 देखि पुनः साहित्य लेखनमा सक्रिय रहिन्। उनको कविता सङ्ग्रह “समयका पाइलाहरू” प्रकाशित छन्।

42 औं सुनौं सुनाऔं कार्यक्रममा पर्यवेक्षकको रूपमा स्रष्टा प्रदीप शेर्पा उपस्थित थिए। कार्यक्रममा स्रष्टाहरू उषाकिरण सत्यदर्शी, नरेश कटुवाल, उत्तम थापा, हनोक थापा, द्वारिका छेत्री, देविका मङ्ग्राती, स्नेह थामी, कर्ण विरह, बिनोद रसाईली, उज्ज्वल सेवा, प्रिसिला मुखिया, निरङ्कर थापा, बालकृष्ण थामी, अजम प्रधान, सुमित्र रूम्दाली, संगीता थापा, कमला राई, दीप प्रधान, गणेश बराइली, नितेस राई, सुशिला सुब्बा, गोमा सुब्बा, शोभा राई, बिनोदकुमार प्रधानले कविता, कथा, गीत, गजल, पठन गरेका थिए । यसपालिको कार्यक्रममा कालेबुङ, दार्जीलिक, मिरिक,  सिलगढी,  सिटोङ,  सोनादा, बिजनबारी क्षेत्रका स्रष्टाहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया