फुवागढ़ी चियाबारीमा पर्यावरण सचेतनासँगै वृक्ष रोपन  कार्यक्रम

मिरिक,२३ जुलाई।


फुवागढ़ी चियाबारीको आराध्य वन  संरक्षण संस्थाले आज फुवागढ़ी चियाबारीमा पर्यावरण सचेतनासँगै वृक्ष रोपन  कार्यक्रमको सम्पन्न गऱ्यो। फुवागढ़ी चियाबारीका सञ्जु सुब्बाकी छोरी आराध्य सुब्बाको  जन्म जयन्तीको अवसर पारेर २०१३ देखि आराध्य सुब्बाको नाममा आराध्य वन संस्था स्थापित गरिएको थियो। त्यस यता हरेक वर्ष आजकै दिन पर्यावरणमाथि सचेतना कार्यक्रम आयोजना गरिन्छ। आजको कार्यक्रमको अध्यक्षता आराध्य वन संरक्षण संस्थाका प्रमुख सञ्जु सुब्बाले गरेका थिए।

फुवागढ़ी उच्चत्तर माध्यमिक विद्यालयका विज्ञान विषयका शिक्षक एवं जैवविविधता मिरिकका प्रमुख बीरबल तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा फुवागढ़ी उमाबिका शिक्षक प्रभारी सरोजा भारती, जैवविविधता सदस्य एवं सौरेनी रवीन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयकी शिक्षिका प्रियङका खपाङगी, फुवागढ़ी उमाबिका शिक्षक शिक्षिकागण, फुवागढ़ी चियाबारीका मूल प्रबन्धक रोहित सिहं राठोर, सहप्रबन्धक राजेश छेत्री, स्थानीय समाजसेवी सुरेन घतानी, आराध्य सुब्बाका बाजे एबी  सुब्बाको प्रमुख रूपमा उपस्थिति रहेको थियो।

कार्यक्रममा पर्यावरण प्रदूषण, ग्लोबल वार्मिङ जस्ता विषयमा जानकारी गराउदै वन जङ्गलको संरक्षण गर्न जरूरी रहेको बताइयो। फुवागढ़ी उमाबिका एघारौं र बाह्रौ श्रेणीका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा पर्यावरण सम्बन्धी आफ्नो विचार राख्दै पर्यावरणविद् बीरबल तामाङले आज सारा विश्वमा पर्यावरण असन्तुलन एउटा चिन्ताको विषय बनेको बताए। उनले वन जङ्गलको संरक्षण गर्न जरूरी रहेको बताउँदै जङ्गलको विनाशले पृथ्वीमा तापको मात्रा बढ्दै जाँदा तापक्रम वृद्धि भएको बताए। गोवल वार्मिङ र जलवायु परिवर्तनको असरले गर्दा कोही ठाउँमा भारी वृष्टिपात हुँदैछ भने कुनै ठाउँमा खडेरी परिरहेको बताए। कार्यक्रममा फुवागढ़ी चियाबारीका मूल प्रबन्धक रोहित सिंह राठोरले पनि पर्यावरण सम्बन्धी जनचेतना अभिवृद्धि गराएका थिए।   कार्यक्रममा किरण परिवार सामाजिक संस्थाका अध्यक्ष कमल घले र अमरदीप प्रधानको पनि उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares