सोनादाको पचेङमा माउसेसद्वारा  गुरूपूजा महोत्सव पालन

सञ्जीव मोहोरा, सोनादा, 24 जुलाई।


समयको तत्वदर्शी सद्गुरूको सान्निध्यबाट आत्मज्ञान प्राप्त गरेर ध्यान साधना तथा ईश्वरको नाम सुमिरणको माध्यमद्वारा आफ्नो हृदयमास्थित आत्मतत्वको अनुभव गरेर ज्योतिस्वरूप परमात्माको दर्शन गर्न सकिन्छ। यसैले आत्मा र परमात्माको मिलन गराउने माध्यम सद्गुरू हुन्। उपरोक्त मन्तव्य मानव  उत्थान सेवा समिति दार्जीलिङ तहसीलको तत्वावधानमा सोनादाको  पचेङ शाखाद्वारा आयोजित  श्री राज राजेश्वरी देवी मन्दिरमा सम्पन्न गुरू पूजा महोत्सवलाई सम्बोधन गर्दै माउसेस दार्जीलिङ तहसीलकी प्रभारी महात्मा निलम्बरी बाईजीले व्यक्त गरेकी हुन्। जसरी भौतिक शिक्षाहरू आर्जन गर्न आ-आफ्ना विषयका गुरु गुरुमाहरू समक्ष स्कूल, कलेज तथा विश्वविद्यालयको माध्यमद्वारा पुग्नुपर्छ। उसरी नै आध्यात्मिक गुरुको समक्ष पुग्ने सजिलो माध्यम सत्संग रहेको कुरो बाइजीले बताइन्।

गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर , गुरु साक्षात  परम ब्रह्म तस्मै श्री गुरुदेव नमः भनेर उनै तत्वदर्शी सद्गुरुको बारेमा बन्दना गरिएको हो तर गुरु धारण नगरी,  गुरुबाट ज्ञान नै नलिई केवल गुरु महीमामा आधारित मन्त्र, बन्दना, आरतीहरु मात्र  गर्नाले कुनै आत्मिक लाभ नहुने कुरो महात्मा सुगमानन्दजीले सम्झाए। गुरु वेद व्यासजीको जन्मदिनलाई गुरु पूजा तथा व्यास पूजाको रूपमा पालन गरिने परम्परालाई केवल पालन मात्र नगरेर समयका तत्वदर्शी सदगुरुदेव महाराजजीको कृपाद्वारा आत्मानुभवी साधु-सन्तहरूबाट आत्मज्ञान लिएर क्रियात्मक ध्यान अभ्यासद्वारा आत्माको बोध गरी गुरुको वास्तविक शक्तिलाई जान्ने आह्वान महात्मा अचला बाइजीले आह्वान गरिन्।

भौतिक शिक्षासँगै आध्यात्मिक शिक्षाको सन्तुलनले व्यक्तिका मनका विकारहरू निर्मूल गर्न सकिन्छ यसैले विद्यार्थी तथा युवाहरूले भौतिक गुरू र भौतिक शिक्षासँगै आध्यात्मिक गुरुको  शरणमा पनि  जाने आह्वान गर्दै माउसेस उत्तर- पूर्वाञ्चल क्षेत्रका उपाध्यक्ष तथा राङभाङ उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक प्रकाश हाङखिमले पनि आफ्ना सारगर्भित विचारहरू व्यक्त  गरेका थिए। पचेङमा माउसेसले प्रत्येक वर्ष यसरी गुरूपूजा महोत्सव भक्ति भावसाथ पालन गरेर सोनादा- पचेङ क्षेत्रका मानिसहरूलाई गुरुभक्तिप्रति प्रेरित गरेकोमा समारोहमा उपस्थित स्थानीय  गण्यमान्य व्यक्तिहरूले समितिको प्रशंसा गरेका थिए।

समिति उत्तर पूर्वाञ्चल क्षेत्रका सहसचिव चन्दन लकान्द्रीद्वारा सञ्चालित उक्त समारोहमा  समितिका मूल सचिव नृग लामा, मानव सेवा दलका राष्ट्रीय महासचिव आरबी भण्डारी, प्रान्तपाल दीपक राई, तहसील सचिव भक्त लामा लगायत समितिको दार्जीलिङ तहसील अन्तर्गतका सबै शाखाहरू र सोनादा, पचेङ र यहाँका निकटवर्ती गाँउहरूबाट धेरै भक्त समुदाय भेला भएका थिए। समारोहमा लोक भजन गायिका सुश्री इन्दिरा छेत्री, रजनी गुरूङ, शरण गुरूङ, मञ्जुला छेत्री, सागरमणि प्रधान, रूवेन सुब्बा, आदित्य राई आदिले सुमधुर भजनहरू प्रस्तुत गरेका थिए।

सत्संग समारोह शुभारम्भ हुनअघि स्थानीय पण्डित गुरुहरूद्वारा गुरु महाराजजीप्रति पूजा अर्चना गर्दै हवन यज्ञहरू पनि गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया