खसको खुल्दुली

   सरोकार

डिल्लीप्रसाद अधिकारी


अहिले हाम्रो समाजमा विशेषगरी सिक्किमे समाजको राजनीतिक क्षेत्रमा खसको खुल्दुली अत्यन्त गम्भीरताकासाथ भइरहेको कुरालाई केही विश्लेषण गर्नु चासोपर्दो भएको छ। भारतमा खस जाति विशेषलाई पनि आदिवासीको दर्जा दिइने कुराले यो चर्चाको विषय भएको हो।

तर हामी खस हौं के त वा कसरी खस हौं भन्ने कुरालाई भने सठीक विवेचना नभएको एउटा बिडम्बना पनि रहिआएको छ।

सिक्किम वा भारतकै समस्त बाहुन छेत्री, कामी दमाई आदि खस अन्तर्गत कसरी परेका छन् भन्ने कुरा विवेचनाको विषयमा आउँदछ। सिक्किमका सबै नेपाली जाति माटोसँगै भारतीय गणराज्यमा १९७५ मा अन्तर्भुक्त भएका हुन्।

सिक्किमका भोटे, लाप्चे र नेपाली तीन समुदाय आज आएर आ-आफ्नै जातमा सीमित हुनका पछि यहाँको राजनीतिक परिपाटि जिम्मेवार छ। जात आधारित राजनीति नै सिक्किमको सामाजिक अधोगतिको मुख्य कारण हो भनेर स्वीकार गर्नै पर्दछ।

अब जातकै कुरा नै सिक्किममा सर्वोपरी भएको स्थितिमा एउटा नयाँ जात समुदाय सिक्किममा आयो जसलाई खस भन्ने गरिन्छ। हुन त खस भन्ने नेपाली बाहुन, छेत्री, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की, गन्दर्भ, वादी जाति नेपाली समुदायमा अघि पनि रहेको कुरा इतिहासले बताउँछ।

तर सिक्किमे समाजमा आज  चर्चामा आएको खस भनिने जातिलाई सरकारी मान्यता छ कि छैन अनि राज्य स्तरमा OBC व्याख्यामा परेका दमित र शोषित बाहुन – छेत्री खसमा दरिएर भारत सरकारले आदिवासीमा दर्ता गर्छ भन्ने भ्रमित कुरा कहाँसम्म टुङ्गो लाग्ला भन्ने कुरा विचारणीय छ।

सिक्किम सरकारले जातको औधि चासोमा गठन गरेको बर्मन कमिसनको रिपोर्टलाई र त्यसमा व्याख्या गरिएको बाहुन सम्बन्धको कुरालाई गहिरिएर नियाल्दा सिक्किमका नेपाली जातिको बाहुन जात “काली पूजा  र शिवरात्री मान्ने समस्त भारतीय ब्राह्मण समुदायभन्दा कतै भिन्न होइनन्” भन्ने निष्कर्षमा पुगेको देख्दा सिक्किमका बाहुनहरू पछाडिएका जाति होइनन् भन्ने स्वतः सिद्ध हुन्छ र पछौटे जातिलाई मात्र आदिवासी मान्ने भारतको सम्वैधानिक परम्परामा बाहुन आदिवासी हुनेछन् भन्ने कुरा मनको लड्डु मात्र हो भन्न सकिन्छ।

दशैंमा मार हान्ने नेपाली बाहुनलाई बर्मन कमिसनले यो नेपाली बाहुनले गर्दैनन् जस्तो सङ्केत गरी अन्नप्रासान, ब्रतबन्ध, चुडाकर्म जस्ता हिन्दु संस्कारलाई अक्षरसः पालना गर्छन् भनी निर्क्यौल गरेकाले नेपाली बाहुनको मौलिकता सम्बन्धि यसमा कुनै कुरा नगरिनु एउटा राजनीतिक चालबाजी रहेको स्पष्ट हुन आँउछ।

नेपाली बाहुन अन्य हिन्दु बाहुन भन्दा अलग्गै भएको कुरा बर्मन कमिसनको रिपोर्टले स्पष्ट गरेको छैन। यसो भएकाले सिक्किमका समग्र नेपाली एउटै आर्थिक र सामाजिक स्तरबाट नभएर बाहुन चाहिँ ठूलो जात र अरू क्रमशः सानो जात भएको कुरा गरी बाहुनलाई समानुपातिक हिसाबमा अघि बढ्न नदिने षडयन्त्र भएको पाइन्छ।

यसैले खस के हो र नेपाली बाहुन कसरी खस हुन् भन्ने कुरा विवेचना नगरी नहुने विषय भएको बोध हुन्छ।

नेपाली बाहुन र छेत्रीहरू र अरुपनि अन्य हिन्दु ब्राह्मण आदिभन्दा भिन्न हुन् भनेर सावित गर्ने मूल कुरा नै खसको परिभाषामा, यसको इतिहासमा र यसको भिन्न संस्कृतिको पहिचानमा आधारित हुन्छ। सभ्यताको हिन्दु सांस्कृतिक मान्यतामा ऋगवेदीय आर्यको एउटा शाखा नेपालको सिंजामा प्रवेश गरे जहाँ पहिल्यैदेखि ‘नाग’ जाति बसोबासो गर्दथे।

आर्यहरूको एउटा हाँच “कश्यप” गोत्रीय यहाँ आएपछि तिनकै वंशलाई खस भनिएको हो। चित्राल र काबुल बिचको एउटा नदीको नाम काश छ, त्यस वरपरको जमीनलाई कास्कर भनिन्छ।

यतैबाट आएको सभ्यताको एउटा हुद्दालाई ‘खस’ नाम दिइएको हो। ‘कश’ शब्दले कष्ट दिने बुझाउने हुनाले कश वा कश्यप हिंसक वर्गका मानिस थिए जसले कर्णाली, कास्की, जुम्ला, आछाम जस्ता सुदुर पश्चिम नेपालकाका जनतामाथि आफ्नो प्रभुत्व जमाए।

यो ककेशियन नश्ल Caucasian race नै खस हो भन्ने कुराको ऐतिहासिक दसी पाइन्छ। मध्य एसियाबाट बसाइँ सर्दै आएको सभ्यताको एउटा हुद्दा जुन काश्मिरपटिबाट नेपाल पस्यो त्यही वंश नै खस हो भन्न सकिन्छ।

अनि अन्य हिन्दुहरूको संस्कृति, परम्परा, संस्कार र जीवन शैलिभन्दा खसको संस्कृति भिन्न भएको कुरा पनि यहाँ स्पष्ट हुन आउँछ। खसहरू हिन्दु भएर पनि हिन्दु संस्कृतिका धेरै कुरा नमान्ने र आफ्नो मौलिक जीवन शैली र संस्कारलाई अप्नाउनेमा छन् भन्नलाई खसको मौलिक चलन-

१.गोठ-धुप

२. कुलायन

३. दशैं

४. देउसी भैलो खेल्ने

५. बालन खेल्ने

६. संगिनी खेल्ने

७. तीज मान्ने

८. धामी झाक्री मान्ने

९. देवीथान मान्ने

१०. बुडेनी, शिकारी, लामा-लमेनी मान्ने

११. बुडीबजु, चाराने आठाने, सिद्ध

शिकारी मान्ने

१२. सेसेन्तर मान्ने

इत्यादि परम्पराले नेपाली बाहुन-छेत्री,ठकुरी, कामी, दमाई, सार्की आदिहरू अन्य आर्य ब्राह्मणभन्दा भिन्न हुन् भन्ने कुरा हामीले जान्नु पर्दछ। हाम्रो रीतिरिवाजमा छोरीका गोडामा आमा, बाबु, जीबा-जिआमैले ढोग्नु पर्ने चलन अरू हिन्दु ब्राह्मणमा छैन तर हाम्रोमा छ। यो नै हाम्रो मौलिकता हो। हामी नेपाली बाहुन छेत्रीको संस्कारगत मान्यता अरू ब्राह्मणको भन्दा छुट्टै भएको कुरा यहाँबाट स्पष्ट हुन्छ।

हाम्रा चाड-पर्वमा असार पन्ध्र, साउने संक्रान्ति, माघे संक्रान्ति अलग्ग छन् जसले हाम्रो मौलिक चिनारी प्रस्तुत गर्दछ। हाम्रो खस नेपाली हिन्दुको दशैं दशमीका दिन शुरू हुन्छ भने अरू हिन्दुको  दशैं दशमीका दिन समाप्त हुन्छ।

हामी दुर्गा पूजाभन्दा मान्यजनका हातबाट टिका लगाउने कुरालाई धेरै महत्व दिन्छौं। यो टिका लगाउने परम्परामा बिगत केही दशक अघिसम्म तिहारको औंसीसम्म मान्य थियो। टाडाका ज्वाँइ चेला तिहारको औंसीसम्ममा पनि माइत –ससुराली पुगेमा टिका लगाइदिने चलन नेपाली खसकै संस्कृति र परम्परा थियो। अक्षताको टिका लगाउने चलन खस र खसेतर समाजको आफ्नै चलन हो जुन अन्य हिन्दु जातिमा पाइँदैन। खसहरूले मनाउने चाढमा होली पर्दैन।

यो पछि भारतीयहरूबाट आयात गरिएको हो। हाम्रो रक्षाबन्धन कुनै चाढ होइन। यो डोरो बाँध्ने चलन मात्र हो। भैया-दूज छैन हाम्रो तर भाइटिको छ। हामी खस हिन्दुहरू छोरी, नातिनी, बहिनीका गोडामा ढोग्छौं। अरू हिन्दुले ढोगाउँछ। माघे सङ्क्रान्तिमा तरुल खाने अनि तरुलको टिको लगाउने हामी खसको चलन हो। यसरी संस्कार र संस्कृतिमा हाम्रो आफ्नो छुट्टै पहिचान छ। तर सिक्किमको राजनीति अघोरै जातमा टिकेकाले हामी खसलाई अन्य भारतीय ब्राह्मण

जस्तै बुझाउने बर्मन कमिसनको रिपोर्ट हाम्रालागि अभिशाप छ।

खस र खसेतर नेपालीहरू आपस्तमा आफ्नो जीवन शैलीका सजिला कुराहरू आदानप्रदान गर्दै आएका छन्। सजिलो जीवन शैली मन पराउने खसहरू दुसाध्य भक्ति र मुक्तिका भगवानभन्दा प्रकृतिको पूजामा विस्वास गर्दछन् र नेपाली जातिको अर्को ठूलो हिस्सा मंगोल मूलका मानिसँग पनि नङ-मासु झैं मिलेर बसेका छन्। यो सँगसँगै, चाढ-पर्व मनाउने हाम्रो जुन मौलिक मान्यता छ त्यो भारतका अन्य ब्राह्मण समाजको भन्दा भिन्न छ। हाम्रो गुरू-पूजा, देवाली,

देवीथानमा मनाइने देवी पूजा, देउराली, बुढिबजू मान्ने इत्यादी हाम्रा मौलिक परम्परा हुन् जुन अन्य हिन्दू ब्राह्मणमा कतै पाइन्न।

खसहरू पनि आर्य नै हुन् तर वैदिक आर्य होइनन्। कर्णाली प्रदेशबाट आफ्नो छुट्टै पहिचान बनाएका खसहरू लडाकु जाति हुनका साथै कुनै धर्म विशेषमा कट्टरता नराख्ने हुन्छन्।  खसहरूले नै नेपाली सभ्यताको विकास र सद्भावपूर्ण समाजको निर्माण र विकासमा महत्तवपूर्ण भूमिका निर्वहन् गरेका छन्।

राज्यको सत्तामा पुगेका ठकुरी खसहरूले पनि अन्य मंगोल मूलका मानिसहरूलाई बराबर हक अधिकार दिएको कुरालाई भारतमा भइरहेको राजनीतिक परिवेशले स्पष्ट गरेकै छ। तर तागाधारी र मतवालीको विभेद गरेर सत्तामा पुग्न सद्भावपूर्ण समाजलाई बिथोल्ने काम कसले र कुन समुदायले गरेको छ र गर्दै आएको छ त्यो सबैलाई स्पष्ट छ। आज जात विशेषको तुष्टीकरणका कुरा

राजनीतिको मञ्चबाट हुनु भनेको जात आधारित राजनीति बिफल हुने भयको कारण मात्र हो। समाजका सबै क्षेत्रमा जातको मान्यता नरहेको आजको परिस्थितिमा राजनीतिको अभिष्ट प्राप्तिका लागिमात्र जातको व्याख्या हुन्छ भने खस भन्ने जाति राजनीतिक लक्ष्यप्राप्तिका निम्ति मात्र भएको कुरा हामीले बुझ्नु पर्छ।

भारतमा बस्ने र यहीँको माटोमा जन्मेका नेपाली मूलका मानिसलाई जातमा विभाजन गर्ने सरोकार राजनीतिक दललाई मात्र छ। नभए समाजले त अन्तर्जातीय विवाहलाई धेरै अघि नै स्वीकार गरिसकेको छ। राई, गुरूङ, मगर आदि जस्तै खसहरू पनि त्यस्तै सामाजिक र आर्थिक परिवेशबाट विकसित हुँदै आएको कुरालाई नजरअन्दाज गर्दै सिक्किमका बाहुन-छेत्रीलाई शोषक ठान्ने, भोटियालाई सामन्ति भन्ने राजनीतिक व्यवस्थाले खसका निम्ति कल्याणकारी योजना गर्छ भनेर पर्खनु स्यालको सिङ उम्रन्छ भनेर पर्खनु मात्र हो।

सिक्किममा प्रजातान्त्रिक मूल्य मान्यताभन्दा जात तुष्टीकरणको आज बोलबाला रहेको छ। यसरी हाम्रा भावी पिँढीको भविष्य धेरै असुरक्षित रहेको छ। हाम्रो समाज आदिम युगतिर फर्केर जाँदै गरेको यो परिस्थिति नै आजको मुख्य सामाजिक र राजनीतिक समश्या हो। यस्तोमा नेपाली जातिका ११ वटा जात जनजातिमा दरिने छन् भन्नु कतिसम्म युक्तिसंगत छ त्यो हामीले सोच्नुपर्ने छ भन्ने मलाई लाग्छ। आपस्तमा मिलेर बसेको समाजलाई राजनीतिले जब विच्छिन्न बनाउँछ त्यसबेला हामी जातकै पछि लाग्ने कि सामाजिक सद्भावना र समरसतामा मिलेर यो प्रथाको बिरोध गर्ने ?

इतिहासका पन्ना पल्टाएर खस हुनतिर लाग्नुभन्दा वर्तमानको राजनीतिक अपव्याख्याको विरोध गर्नुमा समझदारी छ भन्ने मलाई लाग्छ। साम्प्रदायिक वैभिन्नतामा समाजको अधोगति छ भन्ने कुरा बुझेर यस्तो कुरीतिको पृष्ठपोषण

गर्ने राजनीतिक दल र चुनाउ प्रक्रियालाई नै बिरोध गर्ने साहस नगरेमा हामीलाई हाम्रो भावी सन्तानले धिक्कार्छ र चिहानमा पिसाब गर्छ भन्ने कुरा हामीले सोच्नु पर्छ। दूरदर्शिता भनेको भौतिक सम्पन्नता मात्र होइन तर सामाजिक मूल्य-मान्यताको सुदृडिकरण पनि हो भनेर आज खसले मात्र होइन तर सिक्किम जस्तो पुण्यभूमिका हरेकले महसुस गर्ने कुरा हो। सरकारी सहुलियतमा आत्मसम्मान, स्वाभिमान र आफ्ना सन्तानको भविष्य साट्ने प्रवृत्तिबाट

मुक्त हुनु आजको आवश्यकता हो।

खससहित ११ जातहरू जनजातिमा दर्ता हुन् नहुन् त्यो सामाजिक सरोकार होइन तर सामाजिक एकता र सद्भावना आजको आवश्यकता हो भन्ने विचारलाई खस भनिने र खसेतर सिक्किमको समाजले खास सकोकार राख्नुपर्दछ भनने मेरो विचार हो। हाम्रो परिचय खस होस् वा नेपाली होस् वा बाहुन र छेत्री होस् त्यो महत्तवपूर्ण होइन तर हामीले हाम्रा सन्तानका निम्ति कस्तो राजनीतिक र सामाजिक परिवेशको निर्माण गरेका छौं भन्ने कुरा नै धेरै महत्तवको कुरा

हुनेछ भन्ने कुरा मैले खसको खुल्दुली गर्दा थाहा पाएको कुरा यहाँहरू समक्ष राखें। यसमा विचार गरियोस्। इत्यलम्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया