27 जुलाई, झीँगाहरूको कुरा र विनय तामाङ

    सम्बोधन

डा. हर्कबहादुर छेत्री


27 जुलाई अर्थात नोस्टाल्जिअ

थेगो बन्यो 27 जुलाई। तर धेरैलाई 27 जुलाईबारे थाहा पनि छैन।  32 वर्ष अघि म यही बाटोबाट जुलुसमा हिँडेको हुँ। इष्टमेन रोडबाट म्याक्सिमस कालिकोटेहरूसित जुलुस लगाउँदै आयौं। 1950 को भारत-नेपाल सन्धिको धारा 7 जलाउन। यसले हामीलाई रेसिपोकल बनायो। नारिकतामाथि प्रश्न चिन्ह उठायो। यसलाई जलाउने आदेश थियो।

टाउनहलदेखि नै पुलिसहरू लहरै बसेका। हाम्रो पुलिसलाई प्रोभोक नगरी अघि बढ्ने सल्लाह भयो। चन्द्रलोकका भाइहरू पनि आइपुगे। ठूलो झुण्ड भयो। 2 बजी मेलाग्राउण्डमा 1950 को भारत-नेपाल सन्धिको धारा 7 जलाउने कार्यक्रम थियो।

बजारमा पुलिस सीआरपी छ्यापछ्याप्ति बसेका छन्। विस्तारै सानोस्वरमा नारा लगाउँदै गयौं। मेन रोड काटेर बिजुली कार्यालय पुग्दा 7 माइलमा ‘साने शेर्पालाई गोली लाग्यो’ भन्ने सुन्यौं। ओपी शर्मा नर्सिङहोम आइपुग्दा मेनरोडमा गोली चल्दैछ भन्ने सुन्यौं। राजादोर्जी गेटमा आइपुग्दा छत्रे सुब्बाहरू रौसेबाट आइसकेका थिए। त्यहीँ मिटिङ भयो। खुकुरी बोक्नेबोक्ने अघि बढ्ने सल्लाह भयो।

मसित त खुकुरी थिएन। विज्ञानको विद्यार्थी थिएँ। राजनीतिशास्त्र पनि पढेको थिइनँ। व्यवहारिक राजनीतिमा सोझै पसियो। त्यहीँदेखि जुलुससित मिसिएर आयौं। जोश यस्तो थियो, लाग्छ गोर्खा र मुर्खमा साह्रै फरक थिएन। आउँदाआउँदै पटेका पढ्केजस्तो सुन्यौं। डम्बरचौकबाट उकालो लाग्दा सुनिरहेका छौं, पटेका पड्किरहेको छ। थाहा छैन के हुँदैछ। कोही लडेको पनि देखिएको छैन।

हिमालयन स्टोरको छेउसम्म आइपुगें म पनि। थाना चढ्ने सिँडीमा, खुट्टा अर्को सिँडीमा राखेर बन्दुक मिलाइमिलाइ पुलिसले हामीलाई ताकेको पनि देखें। मलाई डर त लागेन। तर म उति बहादुर पनि होइन।

डर त मलाई पुरा लाग्थ्यो। तर मनमा यस्तो आक्रोस थियो, कसैको केही वास्ता थिएन। जुलुस त धारा 7 जलाउन मात्र आएको थियो। गोर्खाल्याण्डको लागि पनि थिएन, खासै भन्नु हो भने।

हाम्रो परिचयमाथि यो धाराले प्रश्न उठायो त्यसकारण जलाउनुपर्छ भन्ने कुरा मात्र थियो। हामीले यसबारे बसेर मज्जले विवेचना पनि गरेनौं। दुइ देशले गरेको सन्धी जलाउन सक्छौं कि सक्दैनौं? बहस गरेनौं। दुइ देशबीचको कुरा हो, विशाल भारतको एउटा सानो जिल्लामा यसलाई जलाउँदा के हुन्छ? त्यो पनि सोचेनौं।

प्रतिवाद जाहेर गर्ने अरु तरिका छ कि छैन? त्यो पनि खोजेनौं।

हामी जोशमा थियौं। हिमालयन स्टोर आइपुग्दा एउटा पान दोकान छेउ एकजना भाइ लड्यो। गोली लागेको थियो। उ सलिम सुब्बा थियो। सिन्देबुङको महावर्ट सुब्बाको भाइ। हामी एउटै स्कूल पढेको। त्यसरी लडेको देख्दा चाँही डर लाग्यो।

म ओह्रालै फर्किएँ। कुदेर सोझै तृप्ति होटल पसें। पस्दापस्दै देखें चारपाँचजना गोली लागेका मानिसहरू त्यहाँ लडिरहेका थिए।

कालेबुङ गोरामुमो अध्यक्षले भाषणमा भनेकै थिए, ‘जुलुसमा जानुपर्छ, म अघिअघि हिँड्छु। गोली लाग्यो भने पहिलो गोली मलाई लाग्छ। तरै पनि मेरो लाशमाथि टेकेर जानु।’ हामी पनि जोसिएका थियौं। गयौं। तर नेतालाई गोली लागेन।

दार्जीलिङमा त त्यस्तो केही भएनछ। प्रशासनले अलिक बलियै सुरक्षा व्यवस्था गरेको थाहा पाएपछि सुबास घिसिङले भन्नुभएछ, ‘सबैले 9 बजी घरघरमा जलाउनु।’ त्यसकारण दार्जीलिङमा त्यस्तो केही भएन। त्यो खबर कालेबुङसम्म आइपुगेन। कम्युनिकेशन ग्याप हो कि इन्टेसनल्ली हो, यहाँ जुलुस निकालियो।

कालेबुङमा धेरै जना मानिस मरेपछि आन्दोलन धेरैमाथि बढेर गयो। कतै मानिस मरेपछि आन्दोलन हाइलाइटमा आउँछ भनेर यस्तो गरिएको थियो कि? शङ्का गर्न कर लाग्छ।

जनता मर्न तयार थिए, नेता चौकी छोड्नसमेत तयार थिएनन्

जे होस्, जो जुलुसमा आएका थिए, जसलाई गोली लाग्यो, उनीहरू त सयप्रतिशत छुट्टै राज्यको लागि नै आएका थिए। एकजना शहिद छन्, पदमबहादुर थापा। चन्द्रलोकमा पमबहादुर थापा रोड बनियो पछि, उसको नाममा। गाई पाल्थ्यो, दुध बेच्थ्यो। सुबास घिसिङको भाषण सुनेपछि के बुझ्यो, 26 जुलाईको दिन नै आफ्नो श्रीमतिलाई दूधको हिसाबकिताब सबै बताएका थिए। कसकोबाट कति पाउनुछ, लिनु छ। दिनु छ। हिसाब बुझाएर श्रीमतिलाई भनेका रहेछ, ‘म नफर्किन पनि सक्छु। म गोर्खाल्याण्डको निम्ति निस्केको हुँ।’

यही थानाभित्र नै गोली लाग्यो उसलाई। उसलाई कलकत्ता लगियो। तर बाँचेन। पदमबहादुर थापा पथ भएर उसको छोरी स्कूल जान्थी। तर उसलाई यो पथ आफ्नो बाबाको नामको हो भनेर समेत थाहा थिएन। छोरीलाई ‘मिठाई ल्याइदिन्छु’ भनेर निस्किएको, उसको बाबा फर्किएन।

पछि सुनियो, थानामा उ खुकुरी बोकेर छिरेको थियो रे। कलकत्ता अस्पतालमा सिकिस्त हुँदा धताउँथ्यो रे, ‘खै मेरो खुकुरी कहाँ छ?’ भन्दै।

यसरी जनता सतप्रतिशत गोर्खाल्याण्डको पक्षमा थिए। समयकालमा थाहा पाउँदै गयौं, जनताजस्तो सतप्रतिसत नेताहरू गोर्खाल्याण्डको पक्षमा थिएनन्।  जनता मर्न तयार थिए, नेता चौकी छोड्नसमेत तयार थिएनन्। अब हामीलाई सबै थाहा भइसक्यो। अब हामीलाई जनताजस्तो नेता चाहिएको छ।

अब गाउँगाउँ पसेर जनतालाई गोर्खाल्याण्डबारे बताइरहन अनिवार्य नै छैन

नेताहरूले सानासाना सुविधा छोड्न नसकेकोले नै आज हाम्रो स्थिति यस्तो बन्यो।

मलाई त लाग्छ, हामीले दिएको श्रद्धाञ्जली पनि पाउँछन् के त ती शहिदहरूले? किन भने अहिलेसम्म पनि नेताहरू भन्छन्, ‘गोर्खाल्याण्डको निम्ति उनीहरू शहिद भएका हुन्।’ तर त्यो गोर्खाल्याण्ड अहिलेसम्म छँदैछैन। छ त दोगोपाप, कि त जिटिए। जुन कुरा हासिल नै गर्नु थिएन भने के ती सारा शहिदको प्राण फुर्मासमा गएन त?

जबसम्म अगल राज्य गठन गर्न सक्दैनौं, शहिदलाई सही श्रद्धाञ्जली हुनेछैन। बङ्गाल सरकारलाई पनि भन्छौं- ‘हाम्रो झगडा तपाईँहरूसित होइन। न त दिनुसक्नुहुन्छ, न त लिन चाहनेलाई रोक्न सक्नुहुन्छ, दुइटै गर्न नसक्ने राज्य सरकारसित किन झगडा गर्नु त?’

अचेल जापलाई सबैले सोध्छन्, ‘जाप किन चुप छ?’

किन भने हामी जतासुकै बोल्दैनौं। समय बनेको छैन। चुपचाप नबसेर फेरि जुलुस निकाल्नु त? धर्ना गर्नु त? यहाँ बङ्गालसित भिडेर समय किन बर्वाद गर्नु? जहाँ बोल्नुपर्ने हो, त्यहाँ बोल्नुपर्छ। फेरि पहिलेका नेताहरूलेजस्तो भूल हामीले पनि गर्नु त? हामीले काम गर्नुपर्ने ठाउँ दिल्ली हो, त्यहीँ काम गर्दैछौं। गोर्खाल्याण्डबारे सबैलाई थाहा छ। अब गाउँगाउँ पसेर जनतालाई गोर्खाल्याण्डबारे बताइरहन अनिवार्य नै छैन। यता न त भाषण दिइरहनु अनिवार्य छ, न त जुलुस र धर्नाको आवश्यकता छ।

झीँगा नेताहरूको कुरा

‘सर गोर्खाल्याण्ड हुन्छ?,’ मलाई यसरी सोध्नेहरू पनि छन्। म जिस्किएर ‘त्यसको जोखाना हेर्न कान्छा बाजेकोमा जाउ’ भन्दिन्छु। कोही गम्भीर मानिस एको भने म सोध्ने गर्छु, ‘गोर्खाल्याण्ड किन हुँदैन?’

गोर्खाल्याण्ड त हुन्छ नै। तर क्षमतासहितका मान्छेले माग्नु पऱ्यो। सानोसानो सुविधाको निम्ति चिप्लिने मानिसले माग्न सक्दैन गोर्खाल्याण्ड। लोभी झीँगाहरूले माग्न सक्तैन। लोभी झीँगा खान्छ खान्छ डम्म अघाएपछि उड्न सक्तैन। गोर्खाल्याण्ड यस्तै लोभी झीँगाहरूले माग्यो। र पाएन। यी झीँगाहरूको माग्ने औकात हुँदैन। उ सानासाना सिनोहरूमाथि भुन्भुनाई बस्ने काम मात्र गरिबस्छ। अहिलेसम्म यस्तै नै गर्दै आइरहेका छन्।

तल्लोबाटो पुलिस देख्दा माथ्लोबाटो कुद्नेले माग्न सक्दैन गोर्खाल्याण्ड। डर त अज्ञानताको कारण हुने कुरा हो। जसलाई गोर्खाल्याण्ड कसरी बनाउने भन्नेबारे नै ज्ञान छैन,  उ नडराएर के गर्छ त?

जाप झीँगाहरूको पार्टी होइन। हामी त 86 को आन्दोलनमा पनि थियौं, 2008 को आन्दोलनमा पनि थियौं। त्यस्ता झीँगाहरूको आन्दोलन हामीलाई गर्नु छैन।

… हामी पनि शहिद हुने थियौँ

27 जुलाईमा गोली चलेर मान्छे मरेपछि कर्फ्युँ लाग्यो। गोर्खा बिग्रेट बसाइयो। गोर्खा सिपाही पछिपछि खुकुरी भिरेर हिँडे, उनीहरूको हतियारसमेत खोसियो। अघिअघि पुलिस र सिपाहीको मार्च भएको हिजोअस्तीजस्तो लाग्छ। भोलिपल्ट साहित्यकार सम्पूर्ण राईको घरमा बोङबस्ती सीके प्रधान आए, लुक्दैलुक्दै। प्रधानले सुबास घिसिङले दिनुभनेर एउटा चिट्ठी लेखेका थिए। पुलिसले भेट्यो भने गोली हान्छ भनेर मैले चिट्ठी मोजामा हालेको थिएँ। मणिकुमार छेत्री, सिताराम काफ्ले, गणेस छेत्री, चारभाइ जोरथाङ झरेर सिङ्ला चढेर राती 10 बजी ठेगानामा पुगेका थियौँ।

घिसिङसित भेट भएन। बाटो माकपाकाहरूले धेरे। झण्डामा भाला हालेका। विद्यार्थीहरू हौं भनेर बँचेका थियौँ। चिट्ठी उनीहरूले वा पुलिसले भेटेको भए, हामी पनि शहिद हुने थियौँ।

उतिखेर सबै एक थिए, अहिलेको जस्तो थिएन। सबै गोरामुमोमा थियौँ। जापमा हिँड्ने, लिगमा हिँड्ने, क्रामाकपामा हिँड्ने, मोर्चामा हिँड्नेहरू पनि सबै गोरामुमोमा थिए। एउटा दलले मात्र आन्दोलन गरेको र त्यो आन्दोलनमा मर्नेहरू केवल हाम्रा शहिद हुन् भन्नु बेकारको कुरा हो।

अपरिपक्वता, आन्दोलन र गणतन्त्रको प्रश्न

त्यतिखेर बिक्रम खालिङले एउटा किताब लेखे। गोर्खाल्याण्डमाथि। आन्दोलन असफलताबारे चिरफार गरेर। त्यो लेख्यो भनेर सिके प्रधान पनि रिसाए। एसपी हण्डाले बजारबाट त्यो किताब सबै उठाएका थिए। त्यो किताबमा भनिएको छ, ‘हाम्रा नेताहरूको अपरिपक्वताको कारण आन्दोलन बिथोलिएको हो।’

यथार्थ त्यही नै थियो। त्यही अपरिपक्वता 86 मा थियो, 2008 मा पनि त्यही दोहोरियो। त्यो अपरिपक्वता बारम्बार दोहोरिएकोले नै हामी चुप लागेर बसेका हौं। हामी शहिदलाई साँचो श्रद्धाञ्जली दिन चाहान्छौं यसकारण हामी दिल्लीमुखी भयौं।

हिजोमात्रै हो पश्चिम बङ्गालको एसेम्बलीमा पश्चिम बङ्गाललाई ‘बाङ्गला’ नामाकरण प्रस्ताव पारित गरिएको छ। हामी त्यसलाई स्वागत गर्छौं किन भने जसरी उनीहरूलाई बङ्गला भाषा संस्कृति प्यारो छ, उसैगरी हामीलाई पनि नेपाली भाषा, संस्कृति, साहित्य कला प्यारो छ।

हामी बङ्गाली होइनौं। ‘बाङ्गला’-ले हामीलाई सम्बोधन गर्दैन। यसको अर्थ ‘नेपाली’-लाई सम्बोधन गर्ने कुरामा राज्य सरकारले सोच्नुपर्छ। यसकारण नै त हामीले गोर्खाल्याण्डको कुरा गरिरहेका हौं।

देश विभाजन पनि धर्मको नाममा भयो भनिन्छ। हिन्दुहरूको हिन्दुस्तान, मुसलमानहरूको पाकिस्तान। यसरी विभाजित भएको पश्चिम पाकिस्तानको सरदारहरूले पूर्व पाकिस्तानका बङ्गालीहरूलाई हेप्यो भनेर आन्दोलन भयो र बङ्गलादेश बन्यो। भाषा, जाति, संस्कृतिको निम्ति आन्दोलन त हुँदै आइरहेकै छ।

बङ्गाल सरकारले पनि हाम्रो गणतान्त्रिक आन्दोलनलाई सहयोग गर्नुपर्छ। यति चिन्तक, बौद्धिक रहेको राज्यमा गणतान्त्रिक आन्दोलन गर्न पाइएन भने, गणतान्त्रिक आन्दोलन गर्दा सरकारको विरुद्धमा काम गऱ्यो भन्ने आरोप लाग्यो भने वास्तवमा बङ्गाल बौद्धिकहरूको ठाउँ, चिन्तकहरूको ठाउँ कसरी भन्नु?

हामीलाई केन्द्रसित लड्ने स्पेस राज्य सरकारले दिनुपर्छ।

आन्दोलनको अर्थ

‘तपाईँकोहरूको कार्यक्रम के छ?,’ भनेर सोध्नेहरू पनि छन्। जनतालाई सास्ती दिइयो भने त्यसलाई आन्दोलन मान्ने, असुविधा गर्ने कुरा गऱ्यो भने त्यसलाई कार्यक्रम मान्ने चरित्र हाम्रो समाजमा छ। ‘हामीसित धेर प्रोग्राम छैन, घरिघरि बन्द, अनशन गर्ने चरित्र हाम्रो होइन’ भन्यो भने गोर्खाल्याण्डको लागि केहीनगरी बसेको आरोप पो लाग्छ।

हामीले 2 वर्षदेखि दिल्लीमा काम गरिरहेका छौं। पहाडमा जस्तै ठूलो जनसभा होस्, जत्रै ठूलो भाषण गरोस्, त्यो गोर्खाल्याण्डको लागि होइन। जनता यहीँ सचेत हुनुपर्छ। पहाडमा आन्दोलनको नाममा जेजे पनि हुन्छ, त्यो यहीँ भोट लड्नको निम्ति गरिएका कामहरू हुन्। यहाँको गरेको कुरा दिल्लीले थाहा पनि पाउँदैन। दिल्लीमा नै गरेको त दिल्लीले हत्तपत्त सुन्दैन, यहाँ गरेको कसरी सुन्छ?

दिल्लीमा बोल्ने मान्छे

पी. चिदम्बरमलाई भेट्यौं। हाम्रो कुरा सुनेर उनले भने, ‘म्यान्डेट लिएर आउनुस।’ जनताको समर्थन लिएर आउनु भने। हामी जतिखेर पनि हाऱ्यौं, लड्न नसकेर होइन तर्क गर्न नसकेर, बोल्न नसकेर हारेका हौं। अहिलेसम्म ‘बोल्न सक्ने’ हामीले पठाएनौं। कुनै पार्टीको पार्लियामेन्ट्री कमिटीले हाम्रोबारेमा कुनै निर्णय गरेको छैन भने हामीले जति नै सांसदहरूसित लबी लगाए पनि काम लाग्दैन।

दिल्लीको पार्टीको पोलिटिकल कमिटीलाई कन्भिन्स गर्न सकियो भने काम बन्छ। दिल्लीमा धर्ना बस्दैमा केही नहोला। त्यही दिल्लीमा विधायक र सांसदको हैसियत गइयो भन्ने मात्र कुरा सुन्छ। र कुरा राख्न सकिन्छ। जुन पार्टीले दुइपल्ट बिजेपीलाई सांसद दियो र पठायो, त्यो बिजेपीले विमल गुरुङलाई पर्दासमेत केही गरेन।

विमल गुरुङका आफ्नै दोषहरू होलान्। यद्धपि विमलले गल्ती नै गर्दैछ भने पनि सिकाउने र सुधार्ने काम बिजेपीको नै हो। गठबन्धित पार्टीले यति त गर्नुपर्ने हो तर धोका बिजेपीले नै दियो।

बिजेपीले बङ्गालको अरू सिट ताक्दैछ। दार्जीलिङको एउटा सिटको लागि टाउको दुखाउँदैन। मलाई शङ्का छ, 2019 को लोकसभा चुनाउमा 11 वटा जातलाई जनजातिको कुरा निकाल्न सक्छ बिजेपीले। यससपालि पनि हाम्रो मानिसलाई पछार्ने काम हुन्छ। म्यान्डेट माग्छ, तर बोल्दैन। यो भुलभुलैयामा पर्नु हुँदैन।

मेरो त राज्य सरकारमाथि विश्वास अविश्वास दुवै छैन। यद्यपि, बङ्गालले राजनैतिक कार्यक्रम गर्ने गणतान्त्रिक माहौल पहाडमा दिनुपर्छ। शहिद दिवस मनाउने अनुमति त दियो यो गणतन्त्र कायम हुनुपर्छ। एउटा दललाई मात्र चलखेल गर्न दिनु हुँदैन।

विनय तामाङलाई सुझाव

बङ्गाल सरकारलाई आभार व्यक्त गर्छौं। बङ्गालले चाहेर नै कालेबुङ जिल्ला बनियो। कलेजहरू बनिए। अरु पनि बन्ला। विकास त सरकारको जिम्मेवारी हो। विकास गर्नै सरकारमा आएको हो भने उसले ‘मैले विकास दिएँ’ भनिरहनुको अर्थ छैन।

विनय तामाङ बाई डिफल्ट चौकीमा छन्। चौकीमा बसेपछि पुरानो बानी छोडेर नयाँ बानी तयार पार्नु पऱ्यो। विकासको मौका छ, त्यो निर्वाह गर्नु राम्रो हो। कामको स्तर बढाउनुपर्छ। अब पनि विनय तामाङको प्लाईको विज्ञापन हेर्न नपरोस्। राम्रो काम गऱ्यो भने हामी पनि सहयोग गर्छौं।

स्टेट युनिभर्सिटी, फ्याक्ट्रीहरू बसाउने हो भने हामी सहयोग गऱ्छौं। एप्रिसिएट गर्ने मौका दिनु पऱ्यो। उत्पटाङ बोल्नु हुँदैन। पानी, बाटो वा आधारभूत विकासको काम नै भएको छैन। विनय तामाङले विकास गऱ्यो भने हर्कबहादुर छेत्रीहरू आफै हराउँछन्। तर काम गर्नु पऱ्यो। बोलेर केही हुँदैन। गोर्खाको स्वाभिमान राख्नुपर्छ। बलभद्र नालापानीमा मर्नै सक्थे तर बाँचेर लड्छु भनेर सोचेका हुन्। इतिहासलाई कलङ्कित गर्ने काम गर्नु हुँदैन।


(27 जुलाई 2018 को दिन कालेबुङ थाना डाँडामा जनआन्दोलन पार्टीको ‘शहिद दिवस’-मा जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले दिएको भाषणको सम्पादित अंश)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया