‘अब गोर्खाल्याण्डको निम्ति हजारौं लीलाकुमार गुरुङहरू जन्मनेछन्’

विपल रसाइली, कालेबुङ, 27 जुलाई


जन आन्दोलन पार्टीले आज यहाँको त्रिकोण पार्क परिसरमा सहिद दिवस पालन गरेको छ। टाउनहल परिसरमा पार्टीले नै राखेको सहिद वेदीमा कार्यकर्ताहरूले श्रद्धाञ्जली दिएपछि त्रिकोण पार्कमा आएर पथ सभामा परिणत भएको थियो।

सहिद श्रद्धाञ्जली दिवस व्यानर रहेको कार्यक्रममा पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्री, व्युरो सदस्य अमर लामा, युवा एकाई सचिव विशाल राई, ट्रेड यूनियनका कार्यकर्ता मनोज गिरी आदिको विशेष उपस्थिति रहेको थियो।

“छुट्टै राज्यका लागि हाम्रा सैयौं दाजु भाईहरूले उत्सर्ग दिए, सहिद भए। तर ती सहिदहरूको सपना आजसम्म पनि पूरा हुन सकेको छैन,’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अमर लामाले भने, ‘सहिदको आत्माहरूलाई केवल श्रद्धाञ्जली दिने काममात्र भइरहेको छ।’ उनले आन्दोलनले ठगेका विमोचन नामक कविको ‘शहिदको सालिग नेर विधवा’ शीर्षकको कविता पनि सुनाए।

युवा नेता विशाल राईले राज्य सत्ता विरूद्ध आफ्नो आक्रोश जनता अघि राखे। दार्जीलिङ पहाड़मा गोर्खाल्याण्ड राज्यको पक्षमा रहेर कार्य गर्ने अनि फेसबुकतिर आफ्नो बिचार राख्ने मानिसहरूलाई राज्य प्रशासनले मुद्दाहरू कोच्ने कार्य गरिरहेको उनको आरोप थियो।

‘जिटिएले सेभोक रम्फू रेल परियोजनाका लागि दिएको अनुमतिले क्षेत्रमा बसोबासो गर्ने धरै परिवारहरू उच्छेद हुने भएको छ। जसको हकहित अनि अधिकारका लागि सङ्घर्ष गरिरहेका शिक्षक लीला कुमार गुरूङलाई हाल सरूवा गरिएको छ,’ राईले भने, ‘यहाँ राज्य सत्ता अनि जFटिए प्रशासनले षड़्यन्त्र गरिरहेको छ। विनय तामाङले सुनी राखौ, यस्तो लीला गुरूङ अब गोर्खाल्याण्डको पक्षमा पनि हजारौं जन्मने छन्।’।

उक्त जनसभामा जाप पार्टी ट्रेड युनियनका कार्यकर्ताले पनि सम्बोधन राखेका थिए। हाल दार्जीलिङ चिया बगान क्षेत्रमा न्युनतम ज्याला लागू गरिनु पर्ने मागलाई लिएर विभिन्न पार्टीको कूल 29 युनियनहरूलाई लिएर जोइन्ट एकसन कमिटी गठन गरिएको छ। जसमा जाप पार्टीको ट्रेड यूनियनले पनि भाग लिएको छ। यस आन्दोलनको लागि पनि आफूहरूले सङ्घर्ष गर्ने मनोज गिरीले बताएका छन्।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया