शहिदस्मृतिमा दुई कविता

दोबाटोमा शहिद

निर्मल तामाङ

कत्ति हुनु शहिद पनि

र उभिइरहनु

यो दोबाटोमा।

 

मेरो खुट्टाबाटै छुट्टिएर गएको

यो बाटो पनि

आफू मात्रै हिँडिरहन्छ सधैँ

घर सम्मको यात्रा ।

 

उभ्याएर निर्निमेष मलाई यो ठाउँमा

इतिहास कतै लागेपछि नै

अल्मलिएको हूँ म यसरी

यो भूगोल भित्र

र नभेट्टाएको हूँ आजसम्म

आफ्नै घर जाने बाटो।

 

दोबाटोमा एक्लै उभिएको देखेपछि नै

आफ्नैहरूले पनि तर्साउन थालेको हो मलाई

अरूहरूसित मिलेर

र मन्साउन थालेको मेरै सामु

उनीहरूको जम्मै ग्रह-दशा।

 

कत्ति धुनु आँसुले

त्यो घाउ पनि

र उभिइरहनु एक्लै

यो दोबाटोमा।


बाटैमा पो पर्छ त शहिद वेदी

कर्ण विरह

पोरसाल खेत जोत्दा जोत्दै मरेको

हलगोरूको जरिमाना तिर्न बाकी नै छ अझै

घरको छप्परमा हावाको भरमा बाँचिरहेको

च्यात्तिसकेको झण्डा बेवारिस छ

खालीखाली छ सानुमतिको पुछिएको सिउँदो

अथवा मायै मायाले भरिएको तिनको मनभित्रको बाकस

र खाली छ मेरो कटुवा बोक्ने पुरानो कोटको गोजी

अथवा अझै खालीखाली नै छ छोरछोरीको भोली।

 

छिमेकीको कुखुराले खोस्रिनु छोड़ेको छैन अझै हाम्रो कोठेबारी

हान्न छोडेका छैनन् केटाकेटीहरू ढुङ्गा फर्केर हामीतिर अझै

यसपाली पनि हुरीले घरको धुरी उड़ाउँला कि भन्ने डर छ

झरीले घरै बगाउँला कि भन्ने कस्तो झुकझुकी छ।

 

‘हिलै हिलो लागेको मेरो जुत्ता पुछपाछ गरिराख्दिनू

माटैमाटो मेरा लुगाहरू पनि धोइराख्दिनू

साच्चि, औ मान्छे!

अस्ति हाम्रो बिहेको त्यो एउटा खदा पनि झिकिदेऊ त

खेताला जादा भरे

बाटैमा पो पर्छ त शहिद वेदी।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया