शहिद टाँसी भोटियाको वेदी उद्घाटन गर्न पाएन गोरामुमोले : ‘जय बङ्गाल भन्नेहरूलाई अनुमति दिइयो, जय गोर्खा र जय गोर्खाल्याण्ड भन्नेलाई दिइएन’

खरसाङ, 27 जुलाई


यसपाली गोरामुमो केन्द्रीय समितिद्वारा सोनादामा भव्य रूपमा शहिद दिवस मनाउने योजना भएपनि प्रशासनबाट अनुमति नपाएपछि सुनसान रूपमा बित्यो सोनादा क्षेत्र। गोरामुमो अध्यक्ष मन घिसिङसहित केन्द्रीय समितिको पदाधिकारीहरू उपस्थित भएर शहिद टाँसी भोटियाको शहिद वेदी उद्घाटन गरिने कार्यक्रम भएपनि पहाडमा शान्ति बहाली र सोनादामा अशान्ति नहोस् भनेर प्रशासनको तर्फबाट गोरामुमोले सोनादामा कार्यक्रम गर्न नपाएको गोरामुमो नेतृत्वले बताएका छन्।

यसरी पार्टीले कार्यक्रम गर्न नपाएको विषयमा बोल्दै गोरामुमो सोनादा क्षेत्रको नेता एवं गोरामुमो खरसाङ महकुमा समितिको प्रचार प्रसार सदस्य भुपेन गुरूङले गोजमुमोले खरसाङको जनसभामा जय बङ्गाल  भन्नेहरूलाई शहिद दिवस मनाउने अनुमति दिएको तर जय बङ्गाल नभन्ने तर जय गोर्खा र जय गोर्खाल्याण्ड भन्ने गोरामुमोलाई चाहिं शहिद दिवस मनाउने अनुमति नदिएको बताएका छन्।

‘मोर्चाले जय बङ्गाल भनेपनि हामी जय बङ्गाल भन्दैनौ। हामी एक भन्दैनौ, दुई भन्दैनौं, तीन भन्दैनौं,’ गुरुङले भने, ‘हामी मर्न तयार छौं, तर जय बङ्गाल पटक्कै भन्दैनौं, गोरामुमो अनुसाशित पार्टी हो, गोर्खाल्याण्डको लागि छाती थापेर शहिद हुनेहरूको लागि श्रद्धाञ्जली अर्पण गर्न पनि दिइएन।  शहिदहरूको स्मरण गर्नु र श्रद्धाञ्जली अर्पण गर्न नपाउनु विडम्बना भएको छ, हामी अवाक्  छौं।’

गोरामुमो नेता भूपेन गुरूङले गोर्खाहरू बङ्गालमा शोषित र अवहेलित रहेको अनुभव भएको बताए। ‘हाम्रो ठाउँमा हाम्रै शहिदहरूलाई श्रद्धाञ्जली कार्यक्रम गर्न नपाउनु दु:खको कुरो हो, यस्तो अवस्थामा हामीलाई सुवास घिसिङको कमी महसूस भयो,’ उनले भने, ‘सुवास घिसिङको  समयमा न एसपी, न डीएम, न एसडीओ कसैबाट पनि कार्यक्रम गर्न अनुमति लिनु पर्दैन थियो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया