‘अबको आन्दोलन सिस्टम्याटिक र ब्लू प्रिन्टसहितको हुनेछ’

खरसाङ, 27 जुलाई


गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले खरसाङमा पनि शहिद दिवस पालन गरेको छ। बिहान 10.30 बजेदेखि खरसाङको दूर्बिन डाँडास्थित शहिद वेदीमा शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। शहिद वेदीमा श्रद्धाञ्जली चढाउनेहरूमा जीटीए उपाध्यक्ष एवं गोजमुमोको महासचिव अनित थापा, खरसाङको विधायक डा रोहित शर्मा, गोजमुमोको खरसाङ महकुमा समितिको सभापति किशोर थापा, महासचिव अनोश थापा, केन्द्रीय उपाध्यक्ष प्रणय थापा,  पूर्व सभासदहरू योगेन्द्र राई, प्रभा छेत्री, रतन थापा,  जीटीए बिओए सदस्या अनु प्रधान लगायत अन्यहरू उपस्थित थिए।

दिउँसो 12.30 बजेदेखि यहाँको नयाँ बजारस्थित सार्वजनिक भवनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमलाई गोजमुमोको खरसाङ महकुमा समितिको सभापति किशोर थापाले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा खरसाङको विधायक डा. रोहित शर्मा उपस्थित थिए।

कार्यक्रममा गोर्खाल्याण्डको आन्दोलनमा शहिद भएका शहिदको परिवारहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा स्वागत सम्भाषण राख्दै गोजमुमोको खरसाङ महकुमा समितिको महासचिव अनोश थापाले अबको आन्दोलन सिस्टम्याटिक र ब्लू प्रिन्टसहितको हुने बताए। उनले शहिदहरूले जातिको अस्तित्व र अस्मिता बचाउन ज्यान दिएको पनि बताए।

कार्यक्रममा गोजमुमोको केन्द्रीय सदस्य तथा पूर्व सभासद योगेन्द्र राईले 1986 को आन्दोलनमा 1200 शहिद भएको बताए। उनले 2003 मा तीनवटा राज्यहरू,  2013 मा तेलङ्गना राज्य बन्दा शहिद हुन नपरेको पनि जनाए।

कार्यक्रममा सर्व धर्म प्रार्थना, भजन, श्रद्धाञ्जली गीतहरू पनि प्रस्तुत गरिएको थियो ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया