खेलाडी छान्दै

गान्तोक, 28 जुलाई


पश्चिम जिल्ला फुटबल एकाडेमीको निम्ति पुरुष खेलाड़ीहरूका चयन प्रक्रिया राजधानीको पाल्जर स्टेडियममा आरम्भ भएको छ। हिजो पश्चिम सिक्किमका आठवटै निर्वाचन क्षेत्रबाट अण्डर-14 र अण्डर-19 का निम्ति पुरुष खेलाड़ीहरू पाल्जर स्टेडियममा भेला भए।

एसडीएफको पश्चिम जिल्ला कार्यकारिणी समितिले यो चयन प्रक्रियाको सञ्चालन गरिरहेको छ। हालै पश्चिम जिल्लामा सम्पन्न समष्टिस्तरीय फुटबल टुर्नामेन्टबाट चयनित भएका खेलाड़ीहरूलाई लिएर फुटबल एकाडेमीका लागि अन्तिम चयन प्रक्रिया थालिएको हो।

शनिबार पनि चयन प्रक्रिया जारी रहनेछ। यस प्रक्रियामा दुईवटै श्रेणी मिलाएर 300 भन्दा अधिक खेलाड़ीहरूले भाग लिएका छन्, जसमध्ये अण्डर-14 का निम्ति 25 जना अनि अण्डर-19 का निम्ति 25 जना खेलाड़ी चयन हुनेछन्।

खेल तथा युवा मामिला विभागद्वारा मान्यताप्राप्त प्रशिक्षकहरूले चयन प्रक्रिया सञ्चालन गरिरहेका छन्। चनय प्रक्रियामा आज विशेष रूपले एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष (पश्चिम जिल्ला प्रभारी) तथा मन्त्री एनके सुब्बा, एसडीएफ उपाध्यक्ष तथा पूर्व मन्त्री दाउछो लेप्चा, एसडीएफ युवा प्रकोष्ठ महासचिव तथा युवा विकास बोर्डका अध्यक्ष खेमप्रसाद दाहाल, एसडीएफ उपाध्यक्ष डा. एडी सुब्बा, खेल तथा युवा मामिला विभागका संयुक्त निदेशक कमल छेत्री आदिको उपस्थिति  थियो।

आइतबार बिहान खेलाड़ीहरूको अन्तिम चयन प्रक्रिया सम्पन्न हुनेछ। यस चयन प्रक्रियाबारे एसडीएफका वरिष्ठ उपाध्यक्ष एनके सुब्बाले दिएको जानकारीअनुसार, चयन हुने खेलाड़ीहरूलाई आगामी शीतकालीन सत्रमा विशेष प्रशिक्षण दिइनेछ।

अण्डर-14 लाई राज्यमै प्रशिक्षण दिइनेछ भने अण्डर-19 लाई कोलकातामा फुटबल प्रशिक्षण दिइनेछ। यी दुवै श्रेणीमा यसअघि नै 50 जना महिला खेलाड़ीहरू चयनित भइसकेका छन्। यी दुवै टोली मिलाएर कुल 100 खेलाड़ीहरूको क्षमता कायम राख्दै आगामी वर्षदेखि गेजिङमा पश्चिम जिल्ला फुटबल एकाडेमी शुरु गरिनेछ।

उल्लेखनीय छ, हालै गेजिङमा आयोजित जिल्ला स्तरीय फुटबल टुर्नामेन्टको समापन कार्यक्रममा मुख्यमन्त्री पवन चामलिङले आगामी वर्षदेखि गेजिङमा फुटबल एकाडेमी शुरु गरिने घोषणा गरेका थिए। गाउँबाट पहिलोचोटि शहरको सुविधासम्पन्न फुटबल मैदानमा आइपुगेका नवयुवाहरूलाई शुक्रवार साँझ फ्लड लाइटमा फुटबल पनि खेलाइएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया