ब्रेनड्रेन र  भविष्यको सुर्ता

इभेन्ट रिभ्यु 

मनोज बोगटी, कालेबुङ, 28 जुलाई


संवाद कालेबुङका निर्देशक छुदेन काविमोलाई लागेकै त्यही हो, यतिखेर विद्यार्थीहरूलाई निबन्ध लेख्न लगायो भने उनीहरूको पहाडबारेको सुर्ता कसरी अभिव्यक्त हुँदो हो। कवि हेमचन्द्र सुब्बाले आफ्नो दिवङ्गत स्वास्नीको नाममा पुरस्कार जुराए। संवाद कालेबुङले 9 विद्यालयका विद्यार्थीहरूलाई त्यही पुरस्कारमा भिडाउँदै निबन्ध प्रतियोगिताको विषय दियो, -‘पहाडको भविष्य’।

अचम्म लाग्दो कुरा के देखियो भने विद्यार्थीहरूले पहाडबारे मात्र लेखे, भविष्यबारे लेख्नै सकेनन्। प्रतियोगिताले के सावित गऱ्यो भने आजका विद्यार्थीहरू पहाडले गुमाइरहेको मुल्यबारे त येनकेनप्रकारेन लेख्न सक्छन्, तर भविष्यबारे कल्पनासमेत गर्न सक्दैनन्।

के उनीहरूलाई पहाडको भविष्यको सुर्ता छैन र?

चुनिएका निबन्धहरूलाई पुरस्कार दिँदै च्यानल संवाद कालेबुङले आज स्थापनाको चौथो वर्षगाँठ मनायो। पुरस्कार दिनअघि समिक्षक धनबहादुर मगरले भने, ‘विद्यार्थीहरूले आफ्नो सुर्ता र निराशा त निबन्धमा लेखेका छन् तर त्यसमा कलात्मकताको केही कमी भेटियो। अब शिक्षकहरूले विषयलाई ‘कसरी’ लेख्नेबारे पनि सिकाइदिनु पऱ्यो। यति गरियो भने रामलाल अधिकारपछि बनेको खाली ठाउँ नयाँ निबन्धकारहरूले ओगट्न सक्नेछन्।’

समिक्षक मगर थिए निर्णायकमध्ये एक। उनले 9 जना विद्यार्थीहरूको निबन्ध पढे। सबै निबन्धका चुरो पनि निकाले, ‘स्कुले निबन्धकारहरूले ‘पहाड’ बारे त लेखे तर राजनीतिले पहाडलाई कसरी अधोगतितिर धकेलिरहेको छ, त्यो मात्र लेखे। अर्थात अनेकौं सङ्कटबीच बाँचिरहेको पहाडबारे मात्र लेखे।  कुनै पनि निबन्धकारले पहाडलाई सकरात्मकरूपले लेखेको देखिएन। यस्तो लाथ्यो, विद्यार्थीहरू पहाडको वर्तमानस्वरुपदेखि नितान्तै निराश छन्। उनीहरूले चाहेकोजस्तो पहाड कहिल्यै बनेन। किन भने कुनै पनि निबन्धकारले पहाडको भविष्य-बारे अलिकति पनि लेखेको पाइएन।’

मगरले निबन्धमा विद्यार्थीहरूलाई निराश भेटे। उनीहरूको निबन्धमा पहाड, विकासको पहिलो खुड्किलोसमेत चढेको छैन। राजनीतिले समाजलाई विकासका नयाँ कुनै पनि सम्भावना दिएन।

राजनीतिले राजनैतिक, सामाजिक, शैक्षिक मूल्यहरू नष्ट गरेको समाजमा बसेर लेखिएका निबन्धहरूमा वर्तमान पहाडकै छाया देखिन स्वाभाविक पनि हो। जस्तो विद्यार्थीहरूले लेखे, समिक्षक मरले उस्तै समिक्षा गरे।

धनबहादुर मगरको निबन्ध अध्ययनको चुरो कुरा यति थियो, -विद्यार्थीहरू पहाडदेखि निराश छन्। पहाडको पहाडमा नै केही भविष्य नै छैन, यसकारण विद्यार्थीहरूले पहाडको भविष्यबारे केही लेख्नै पनि नसकेका हुन्।

वास्तवमा केवल विद्यार्थीहरूलाई मात्र त्यस्तो लागेको होइन रहेछ। अधिवक्ता र प्राचार्यहरूसमेतलाई यस्तो लागेको रहेछ।

मञ्च अघिल्तिर थिए, सञ्चवीर सुब्बा। पहाडको विकास इकाई जिटिएका कालेबुङे सदस्य। उनी मञ्चमा चढेका अधिवक्ता र प्राचार्यको हरेक कुरा टाउको हल्लाईहल्लाई सुनिरहेका थिए।

दार्जीलिङका अधिवक्ता अमर लामा मञ्च उक्लिए। उनको सुर्ता पनि त्यही थियो, पहाडले शिक्षाको गरिमा राख्नै सकेन। शिक्षा नीतिमा विकास छैन। राम्रा तर निर्धन विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शिक्षा प्रणालीले किनारीकृत गरिसक्यो।

‘पहाडको विकास गर्ने चौकीमा बसेका सरोकारवालाहरूले अब काम गर्ने शैलीलाई रचनात्मक बनाउनुपऱ्यो,’ अधिवक्ता लामाले मुख फोरे, ‘कमसेकम जिटिएले किनारीकृत उम्दा विद्यार्थीहरूलाई उच्च शिक्षा दिलाउन छात्रवृत्ति त शुरु गर्नै सक्छ नी।’

उनको कुरा सोझो थियो, समाजको बुनोटमा राजनीतिको सोझो प्रभाव पर्छ। समाजको मूल्य नष्ट गर्ने राजनीतिले नै समाजको मूल्य स्थापन पनि गर्न सक्छ। तर जो क्षमतामा छ, उसले पहाड विकासको नयाँ शैली निर्माण गर्नु पऱ्यो। जो अहिलेसम्म हुनै सकेको छैन।

‘जिटिएले पनि केन्द्र र राज्यको परियोजना मात्र कार्यान्वयन गरिबस्नु त ठूलो कुरै भएन,’ लामाले सञ्चबीर सुब्बातिरै फर्किएर भने, ‘जिटिए आफैको पनि नयाँ नीति र योजना त हुनुपऱ्यो नी। पहाडी मानिसको क्षमता विकासमा पहिले टेवा दिनु पऱ्यो र पो भोलिका कर्णधारहरूले केही गर्न सक्ने हो।’

अमर लामालाई पनि लागेको रहेछ, पहाडमा विकासको कुरा त भइरहेकै छ, तर अब त्यो विकास हो कि केन्द्र र राज्यको योजना कार्यान्वयन? विकास भनेको योजना कार्यान्वयन त होइन। विकास त समाजका हरेकक्षेत्रको अन्तरविरोध, विश्रृङ्खलता र विचलनहरूको अध्ययनपछि बनाइने नीति हो, जसको जगबाट उन्नत समाजले ढाँचा पाउँछ। लामालाई लागेको रहेछ, अब ती समस्या खुट्याउने ज्ञानीहरू क्षमतामा बस्नु पऱ्यो।

नत्र जबसम्म जिटिएले विकासका आफ्नै संरचना, योजना र कार्यशैली तय गर्दैन तबसम्म अहिले ‘विकास गर्दैछौं’ भन्नेहरू भविष्यमा जोकर साबित हुने महान प्रतिभाहरू मात्र हुने भए।

कालेबुङ महाविद्यालयका प्राचार्य राजेन्द्र ढकालले मञ्चमा चढेर जुन सुर्ता राखे, त्यो सुनेर उस्तै सचेत र नेताहरूको होस् उड्नु पर्ने

‘पहाडका राम्रो पढ्ने, अलिकति पैसा भएका र खर्च धान्न सक्ने अभिभावकहरू अचेल छोराछोरी सिलगढीमा कलेज पढ्दैछन् भन्नमा गर्व गर्ने भइसके,’ ढकालले कुरा खोले, ‘पहाडका कलेजहरूमा कतै पनि मौका नपाएका विद्यार्थीहरू मात्र पढ्ने स्थिति बनिसक्यो। दार्जीलिङ पहाड शिक्षाको हब थियो, त्यो अब सिलगडीतिर सर्दैछ, के यो चिन्ताको विषय होइन त? पहिले पहिले विभागहरू सिलगढी सर्थ्यो अब त पहाडका हब (हरू) पनि सर्न थाल्यो।’

ढकाल के भन्न खोजिरहेका थिए भने पहाड बनाउने मानव संसाधन निर्माणतिर कसैको चासो छैन। ब्रेनड्रेन अहिलेको सबैभन्दा खरतनाक समस्या हो, यसलाई रोक्ने क्षेत्रीय प्रशासनले कुनै नीति निर्माणमा चासो देखाएकै छैन।

‘धनिमानी विद्यार्थीहरू बाहिरै पढ्छन् र उनीहरू सँधैलाई बाहिर कै बन्छन्। जो पहाडलाई कहिल्यै काम लाग्दैनन्। ठूला मानिस भएर उनीहरू फर्कनलाई पहाडी प्रशासनले उनीहरूको लागि क्षेत्र निर्माणको नीति पनि बनाउन सक्दैन,’ ढकालले थप्दै लगे, ‘जो जो पहाडकै कलेजतिर पढ्छन्, यतै जीवन बिताउँछन्, उनीहरूबाट नै भोलिको नेता आउने हो, पहाडको लागि चाहिने मानव संसाधन उनीहरू नै हुन्। उनीहरूको लागिसमेत नीतिहरू तय नहुनुले पहाडको भविष्य कति खतरामा छ भन्ने कुरा बुझाउँछ।’

उनी स्पष्ट केमा थिए भने ब्रेनड्रेनको समस्या निम्त्याउने कारणहरूको खोज अहिलेसम्म पनि भएको छैन। उनको सुर्ता त्यही थियो, कि अब पनि विकास इकाईहरूले यस्ता समस्याको फेद खोतलेर समस्याको इतिहास र कारणबारे अध्ययन गरेन र  सामाधान निकालेन भने भोलिको पहाडले गर्व गर्न लायक कुनै टेको पाउने छैन।

प्राथमिक पाठशालामा विद्यार्थीभन्दा धेर शिक्षक छन्, कारण त्यही हो शिक्षा नीति बलियो छैन। प्राइवेट लगानीमा चलिरहेका पहाडी अङ्ग्रेजी विद्यालयहरूमा विद्यार्थीहरूको ह्रास छ, कारण त्यही हो पहाडमा स्थिर राजनीतिक गतिविधि छैन। असुरक्षा छ। पढाईको स्तर प्रतिस्पर्धात्मक छैन।

पहाडका युवाहरूको पलायन निरन्तर छ, रोकथामको कुनै नीति कुनै निकायसित छैन। बेरोजारको समस्या चुरोमा छ, उनीहरूको क्षमतालाई सम्बोधन गर्ने र नियुक्ति दिने प्रणाली छैन। न त विकासको योजना छ, न त समाजका अन्तरविरोध केलाउने हेक्का, न त सामाजिक मूल्यबारे सुर्ता गर्ने क्षमताका नेता छन्, न त संसाधन विकासमा प्रभावकारी लगानी गर्ने सोच। ढकालको सुर्ता यी नै विषयमाथि थियो।

‘यसो गरौं न, आन्दोलनहरूले यी जम्मै सम्भावनालाई बाधा गरेको हो कि होइन त्यो पहिले खुट्याउँ,’ उनले उपाय पनि झिके, ‘भारत स्वाधिनतादेखि अस्सीको दशकसम्मको विकासहरूको इन्डेक्स बनाऔं। शिक्षामा, अर्थनीतिमा, चियाबारीमा, समाजमा, विकासको क्षेत्रमा ह्रास थियो कि विकास। अस्सीदेखि सामाजिक मूल्यमा भ्रष्टिकरण शुरु भएको हो कि त्यो शुरुबाट नै थियो। त्यसको अध्ययन नगरी पहाडको कुनै पनि विकासको ब्लुप्रिन्ट बनिन सक्दैन।’

उनको हिसाब सोझो थियो, विकास भनेर विकास हुँदैन। राजनीतिक भ्रष्टिकरणमा लिप्त रहने,  हिंसाका नयाँनयाँ आयाम निर्माण गर्दै सत्ता हत्याउने संस्कार शुरु गर्ने अनि सत्तालोलुपतालाई नै उन्नति मान्ने परम्पराबाट बाहिर निस्किएर सरोकारवाला जो पनि अघि आउन सक्छन्, उसले मात्र पहाडको भविष्य बनाउन सक्छन्। नत्र ब्रेनड्रेनले पहाडको भविष्यबारे अहिले नै केही सङ्केत त गरिरहेकै छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया