चाप्लुसिकारिता, अनोस थापाहरूको ‘कमेन्ट-कमेन्ट गेम’ र गोर्खाको सपना

विपक्षदृष्टि

पुरण छेत्री


सामाजिक सञ्जाललाई फ्रस्टेशन पोख्ने भाँडोको रूपमा हेर्ने गोजमुमो नेता अनोस थापालाई फेसबुकले निकै दुःखेको प्रस्ट भयो। फेसबुकको डाँडाबाट जातीय एकताको पैरवी गरिरहेका साथीहरू निकै खुशी छन्।

वास्तवमा मुखले ‘फेसबुकले हाम्रो समाजमा क्रान्ति ल्याउन सक्तैन’ भन्ने गरे पनि फेसबुक वा सामाजिक सञ्जालहरूको प्रभाव सुकुनाको तथाकथित महाजनसभादेखि लिएर हिजोको शहिद दिवससम्मै देख्न पाइयो।

यदि फेसबुकले क्रान्ति ल्याउँदैन भने, गोजमुमो (विनय तामाङ) को सभामा प्रत्येकको आधा भाषण फेसबुकलाई गाली गरेर सकिने थिएन।

मैले 2011 मा विमल गुरुङ गुरुङले जिटिए थाप्दा पनि बिरोध गरेका थिएँ। विनय तामाङले सोही गल्ती दोहोर्‍याए, मेरो आपत्ती यहीँ हो। 2011 मा टिकटको निम्ति कम्मर मर्काइमर्काइ विमल गुरुङलाई नाचेर देखाउनेहरूले आज कुन नैतिकताको आधारमा ‘2011 मा विमल गुरुङले किन जिटिए थाप्यो’ भनेर प्रश्न गरेका हुन्?

जिटिए भनेको हिज विमल गुरुङले थाप्दा पनि गल्ती थियो, आज विनय तामाङले थाप्दा पनि गल्ती नै हो। विमल गुरुङले बरू जनसमर्थन पाएर जिटिए चलाए। विनय तामाङले त भिखमा पाएका हुन् ममता व्यानर्जीबाट।

मेरो लेख, समाचार छाप्न धेरै जसो अनलाइन पोर्टलहरू डराउँछन्। किन भने जिटिएको भत्तामा अहिले बग्रेल्तै पोर्टलहरू निस्कँदैछन्। फेसबुक पेजहरू चलिरहेका छन्। कतिलाई भने नछाप्न प्रशासनिक दबाव होला। धेरैजसो मिडियाकर्मीहरूको हात वाई-वाईको साङ्लीले बाँधिएको छ। जुकरवर्कको घर पनि डुमारामतिर भएको भए मलाई अस्ति नै जेल हाल्थे। कि त वाई-वाई कोचारिन्थे।

धन्न जुकरवर्कलाई किन्ने हिम्मत विनय  तामाङहरूसित छैन। र हामी गणतन्त्रलाई विश्वास गर्नेहरू, अभिव्यक्तिको अधिकार बुझ्नेहरू, कानुनले दिएकै अधिकारलाई अङ्गिकार गर्दै निर्धक्क लेख्न सक्छौं।

मलाई थाहा छ, भोली गोर्खाल्याण्ड हुँदा पनि ‘हाम्रो आन्दोलनमा फेसबुकको भूमिका’ शीर्षकमाथि बठ्याई छाँट्ने त अनोस थापाहरू नै हुन्। किन भने अनोश थापामार्का भक्तहरू हरेक मौकामा चौका हान्न नै जन्मिएका हुन्। त्यतिखेर हामीजस्ता त तल बसेर ताली  हान्नेमात्रै हुन्छौं।

मैले हेरें, अन्तर्वार्ता लिने भाइले धरि अनोस थापाले जे जे सोध्नु भने त्यही  त्यहीमात्र सोधेको स्पष्ट छ। सामाजिक सञ्जालमा अरू गहन प्रश्नहरू पनि छन्, अनोस र बिबेकमाथि। अनोस थापाले जुन प्रश्नको उत्तर सामाजिक सञ्जालमा दिन सकेका छैनन त्यसलाई यहाँ सोधिएको छैन अथवा सोध्न दिइएको छैन।

सबैभन्दा अचम्मलाग्दो र शरम लाग्दो कुरा नै त्यही हो।

म मात्र होइन, धेरैले अनोस थापालाई राम्ररी चिन्छन्। सबैलाई थाहा भएको कुरा के हो भने अनोस थापा भनेकै कुर्सी र पैसा भनेपछि जुनै हदसम्म पनि तल झर्ने मान्छे हुन्। हिजो विमल गुरुङले सभासद्को टिकट दिँदा विमल गुरुङ नै अनोस थापाको लागि महान् थिए। आज विनय तामाङको पैसाले छुने बित्तिकै विनय तामाङ नै महान भइगए।

भोली जिटिए निरज जिम्बाले चलाए, उतिखेर  पनि जिम्बा अनोसको लागि उस्तै महान भइहाल्ने हो। यो मेरूदण्ड नभएको मान्छेको स्वाभाव हो। यस्ता स्वाभावकाले हाँकेको सिद्धान्तको गफ विनय तामाङको पैसा पचाउन मात्र काम लाग्ने त हो, यति कुरा मैले बताइरहन पर्दैन नै।

अनोस थापा, पाँचवर्ष चप्काउन पाउँदाताका विमल गुरुङलाई ‘विश्वभरि छरिएर बसेका गोर्खाहरूको एक मात्र नेता’ देख्थे। त्यो आँखाले गाउने चाप्लुसीको गीत विमल गुरुङले जिटिए छोड्नसाथ अनोस थापाको लागि भद्दा बनिगयो।

खासमा विमल गुरुङले जिटिए छोड्नसाथ अनोस थापाजस्ता धेरैको हिसाबकिताब गड्बडियो। ऐस, सुविधा, पैसा र रमाइलोको चाबी भनेकै जिटिएको सन्दुकमा छ। त्यही छोड्ने विमल गुरुङ कुन हिसाबले महान हुन्थ्यो त?

अनोस थापा मात्र सिद्धान्त र स्वाभिमानहिन स्वामिभक्त चाप्लुसिकारिताद्वारा जीवन चलाउने पहाडका प्रतिनिधि पात्र होइनन्। अहिले यस्ता पात्रहरू विनय तामाङको पछिल्तिर छ्यापछ्याप्ति कुदिरहेका भेटिन्छन्।

विनय तामाङसित जिटिए छ। त्यसकारण अनोस थापाहरू विनय तामाङको पछिपछि लुखुरलुखुर  कुदिरहेका छन्। विमल गुरुङसित जिटिए छैन त्यसकारण दोषी विमल गुरुङ। सङ्घर्षमा सबै साथ थिए। बङ्गालको षडयन्त्र बढ्दै गएपछि विमलको साथ छोड्दै गए। जुन सङ्घर्ष केवल विमल गुरुङको परिकल्पना थिएन। परिकल्पनाकारहरू त अहिले पनि जिटिएमा नै छन्।

जुन राज्य सरकारले सङ्घर्षलाई दबाउन षडयन्त्र गऱ्यो, सङ्घर्षका परिकल्पनाकारहरू अहिले त्यही सरकारको मित्र छन्। स्पष्ट त के छ भने विनय तामाङहरूमा सत्तालोलुपता (अनोस थापामार्का चरित्रवाला नेता) यहाँसम्म कि दुश्मनलाई मित्र बनाउन अपठ्यारो परेन, आफ्नालाई दुश्मन देख्न नसक्ने कुरै भएन।

सारा दोष विमल गुरूङलाई थोपेर आफु मात्र साँचिलो बन्ने साधु बिरालो (अनोस थापा) हरूको पोल तर यसपल्ट सामाजिक सञ्जालले मज्जैले खोलिदियो। आलोचकहरूले फेसबुकमा लेख्यो भनेर साह्रो परिरहेको कुरा अनोस थापाको कमेन्टबाटै स्पष्ट बुझिन्छ।

आलोचकहरूले त लु फेसबुकमा लेख्यो रे, उनी आफै चाहीँ केमा लेख्दैछन् त? फेसबुकैमा होइन त?

आफू दिशा-पिसाब जाँदा पनि पुलिससँग जाने र आलोचना गर्नेलाई मैदानमा आइज भन्ने दोहोरो चरित्र भएका अनोस थापाहरू नै हुन् फेसबुक र सामाजिक सञ्जालहरूसँग डराउनुपर्ने मानिस।

आजको पहाड, आजका विद्यार्थी, युवाहरू अनोसको जमानाका छैनन्। आफ्नो प्रयासमा देश-विदेशको विभिन्न मेट्रो शहरहरूमा प्रतिस्पर्धामा उत्रने ती भाइ बहिनीहरू आज 80 का दशकका जस्ता पनि होइनन्। अनोस थापाको दुःख के हो भने उनलाई सामाजिक सञ्जालले दिनोदिन टोकिरहेको छ। स्पष्ट छ, सामाजिक सञ्जालले त्यसलाई टोक्छ, जो आफैलाई ढाँटेर हिप्पोक्रेसीको खेतीमा लाग्छन्।

सामाजिक सञ्जाल अनोस थापाहरूभन्दा अज्ञानी भइदिएनन्, र सामाजिक सञ्जालका आलोचकहरूलाई बारम्बार ‘फेक आइडी’-भन्दै आफैलाई सान्तवना दिइरहेका छन्। जो पुलिसको संरक्षणमा बसेर बोलिरहेका छन्, उ कति बहादुर हो भन्ने त जगजाहेर छँदैछ नि।

कि त अनोस थापाहरू पुलिसलाई फर्काएर, कुर्सीबाट निस्किएर बोल्नु पऱ्यो, कि त आलोचकहरूको भाटा आङमा थाप्दै बस्नु पऱ्यो। बाँधेको कुकुरले जति नै भुके पनि घरको सुरक्षा गर्न सक्दैन भन्ने उखान बुझ्नेहरू पहाडभरि छन्।

जातिको अस्मिता त दाउमा हाल्ने जुवाडेहरूले फेसबुकमा ‘कमेन्ट गेम’ खेल्दा कसैले अचम्म मान्नेवाला छैनन्। बरू सबै माटोप्रेमीहरू तीब्रतासँग ‘जातीय एकिकरणका सन्देशहरू’ दिइरहने छन्।

जति अनोस थापाहरूको गेमको सिकार हुनु थियो, भइसके। अब उनीहरूको गेमको पत्ता खोलिसक्यो।  जाति बेचेर खेलेको गेम दर्शकहरूले हेरिसके।  कलकत्ताको अम्पायरले ‘रेड कार्ड’ देखाएको दिन कुन झण्डा बोकेर कसको जयकार गर्दै हिँड्नु पर्ने हो, अनोस थापाहरूले गर्ने चिन्ता त यो हो।

किन भने कलकत्ताका अम्पायर कुनै खेलाडीका पनि आफन्त होइनन्। न त पैसाले अप्म्पायर किन्न सकिन्छ। खेल राम्रो खेलेन सिटी बजाइदिन्छ। रफ खेल्यो रेड कार्ड देखाइदिन्छ।

‘राज्यले राज्य दिँदैन’ यहाँसम्म त ठिक छ, तर राज्यको आन्दोलनलाई नदिनेले किन दबाइरहेछ त? राज्य नदिनेले राज्य माग्ने विमल गुरुङहरूलाई अनेकौं मुद्दा किन थोप्छ त? किन गोर्खा एकता फुटाइरहेको छ? किन छताछुल्ल पारेर थला बसाउनलाई नै घरि विभिन्न बोर्ड, घरि जिल्ला, घरि मन्त्री दिइरहेछन्?

किन भने बङ्गाल हामीलाई च्यातेर गोर्खाल्याण्ड माग्नै नसक्ने बनाउन चाहान्छ। आलोचकहरू, माटो प्रेमीहरू, जाति प्रेमीहरूले त त्यही नीतिको विरोध गरेका हुन्। बङ्गाललाई गोर्खाल्याण्ड मागेका होइनन्। हाम्रो पोल खोलेर नै बङ्गाल उनीहरूको लक्ष्यमा पुग्न सक्षम छन्, यो कुरा अनोस थापाहरूले बुझे पो।

हामी हाम्रै अनेकताले आफ्नो लक्ष्यदेखि टाडा हुँदैछौं। गोर्खा जाति सङ्कटमा छ। यति त सबैले स्विकार्नु पर्छ कि जबसम्म हामी रित्तो कटौरा लिएर बङ्गालको मुख ताक्छौं, तबसम्म हामी बङ्गालको गुलामीबाट मुक्त हुने छैनौं। हाम्रो निम्ति ‘जय बङ्गाल’ भन्नु आत्मघाती हो। तर अनोसहरूको लागि हामीलाई आत्मघाती  हुने कुरा चाप्लुसी हो। फरक यति नै हो।

चाप्लुसीकारिताबाट जीवन धान्ने यी प्रतिभावान नेताहरूलाई मेरो कुरा गलत लाग्छ भने केही पुलिस अधिकारीहरूलाई वरिपरि राखेर ‘वि वान्ट गोर्खाल्याण्ड’ को नारा मुट्ठी उठाउँदै जोडजोडले लगाउन् त।

कसो होला त?

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया