सिक्किम विश्वविद्यालय भर्ना विवाद : शिक्षा मन्त्री खनिए- ‘सिक्किम विश्वविद्यालयले हाम्रो कुरा नसुनेकैले राज्य विश्वविद्यालय बनाउनु पर्दैछ’

गान्तोक, 29 जुलाई


मानव संसाधन विकास विभागका मन्त्री आरबी सुब्बाले सिक्किम केन्द्रिय विश्व विद्यालयमा सिक्किमका विद्यार्थीहरूले भर्ना नपाएकै कारण सरकारले सिक्किम राज्य विश्वविद्यलय बनाउन थालेको बताएका छन्।

‘सिक्किम केन्द्रिय विश्वविद्यालय सिक्किमका विद्यार्थीहरूको सुविधाका लागि शुरु भएको हो,’ उनले भने,  ‘सिक्किमका योग्य विद्यार्थीहरूले एडमिशन पाउनुपर्ने हो, तर पाएका छैनन्।’  सिक्किम केन्द्रिय विश्व विद्यालयले भर्ना सम्बन्धमा देखाएको रवैयाले धेरै योग्य सिक्किमे विद्यार्थी पढ्न बञ्चित बनेको सुब्बाको तर्क छ।

‘राज्य सरकार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन कृतसङ्कल्पित छ। सिक्किम राज्य विश्वविद्यालयका लागि उपकुलपतिको नियुक्तिसमेत भइसकेको छ,’ उनले भने, ‘सिक्किमसहित पूर्वोत्तर राज्यका लागि बनेको सिक्किम केन्द्रिय विश्वविद्यालयले हाम्रो भनाइको सुनवाइ गरेको छैन।’

सिक्किम केन्द्रिय विश्वविद्यालयमा स्थानीय विद्यार्थीहरूले प्राथमिकता नपाउनु अनुचित रहेको उनले बताए। उनले सिक्किमका भूतपूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको स्मृतिमा सिक्किमको प्रथम महाविद्यालय तादोङ सरकारी महाविद्यालयको नामकरण गरेर राज्य सरकारले उनलाई सम्मान जनाउने कार्य गरेको बताए।

‘नरबहादुर भण्डारी मेरा शिक्षक हुन्। उनको प्रेरणा, मार्गदर्शनले गर्दा आज मैले सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्दैछु। उनीपछि सोरेङ-च्याखुङ समष्टिबाट लामो समयसम्म प्रतिनिधित्व गर्ने अवसर मैले पाएको छु र सही दिशामा प्रतिनिधित्व गर्दैछु भन्ने मलाई लागेको छ,’ आफ्ना गुरुको स्मरण गर्दै मन्त्री सुब्बाले भने।

पूर्व मुख्यमन्त्री भण्डारीले सिक्किममा पहिलो महाविद्यालय निर्माण गरेवापत मुख्यमन्त्री पवन चामलिङको मार्गदर्शनमा राज्य सरकारले भण्डारीको योगदानको मान-सम्मान गर्दै तादोङ महाविद्यालयलाई नरबहादुर भण्डारी डिग्री कलेजको नामकरण गरेको उनले बताए। यस पत्रकारसित भएको विशेष अन्तरङ्ग कुराकानीमा मन्त्री सुब्बाले सिक्किम सरकारले राज्यका विद्यार्थीहरूले युगसापेक्ष शिक्षा उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे।

‘सिक्किम सरकारले शिक्षाको विकास तथा सुधारमा कति लगानी गर्दैछ भन्ने कुरा सबैलाई थाहा भइसकेको छ। मुख्यमन्त्री पवन चामलिङको कुशल मार्गदर्शनमा सिक्किमको शिक्षाको स्तर कहाँदेखि कहाँसम्म पुग्यो भन्ने कुरा पनि सबैलाई थाहा भइसकेको हो,’ मन्त्रीले भने, ‘हामी सिक्किमका विद्यार्थीहरूलाई अहिलेको युगमा आवश्यक सबै पूर्वाधारले युक्त शिक्षा उपलब्ध गराउन कटिबद्ध छौं र सोहीअनुरूप शिक्षा दिने काम पनि भइरहेको छ।’

यसै सिलसिलामा एसडीएफ सरकारले राज्यका विद्यार्थीहरूलाई स्नातकसम्म नि:शुल्क शिक्षा उपलब्ध गराएको जनाउँदै आज सिक्किमका सबै घरमा स्नातकोत्तरसम्म पढ्ने र इञ्जिनियरहरू तयार भएकोमा उनले सन्तुष्टि जाहेर गरे। यद्यपि उनले शिक्षित हुनुको अर्थ सरकारी नोकरी-चाकरी पाउने प्रमाण-पत्र नरहेको पनि स्वीकार गरे।

‘सिक्किमका सबै पढ़ेलेखेका युवाहरूलाई सरकारी नोकरी-चाकरी दिन सकिँदैन। यो वैश्विक समस्या हो। यसैले राज्य सरकारले राज्यका सबै युवाहरूलाई स्वनिर्भर बनाउने अनेकौं योजनाहरू शुरु गरेको छ। अहिले सरकारले स्टार्ट अप योजना शुरु गरेको छ, जसलाई युवाहरूले आत्मनिर्भर बन्ने माध्यम बनाउन सक्छन्,’ उनले भने, ‘क्षमता विकास गरेर हाम्रा युवाहरू उद्यमी बन्ने दिशामा लाग्नुपर्छ। सरकारले आफ्नो पक्षबाट सम्पूर्ण सहयोग पुर्याइरहेको छ।’

युवाहरूलाई सल्लाह दिँदै उनले भने। राज्यको शिक्षा नीति पनि वर्तमान शिक्षाको अवस्था र युवाहरूको हितलाई ध्यानमा राखेर तयार गरिएको उनले बताए। ‘आज सिक्किममा हरेक घरमा ग्रेजुएट र पोस्ट ग्रेजुएट छन्; इञ्जिनियर छन्। यसले सिक्किममा भएको तरक्कीलाई पुष्टि गर्दछ। अर्कोतिर युवाहरूलाई स्वनिर्भर बनाउने दिशामा विभिन्न काम पनि भइरहेका छन्। तर सिक्किममा बेरोजगारीको नारा लगाउँदै युवाहरूलाई भ्रमित तुल्याउने काम पनि हुँदैछ,’ उनले भने, ‘यो कुरा सिक्किमको शिक्षित जमातले बुझिसकेका छन्। राज्य र राज्यवासीको भलाईमा सरकारले गरेको अनवरत मेहनतलाई नदेख्नु नकारात्मक मानसिकताको उपज हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया