अहिले दार्जीलिङमा शून्य–शून्य छ – शान्ति ठटाल

सुश्री शान्ति ठटाल नेपाली सुगम गीत–सङ्गीत विधाकी अग्रज साधक हुन् । दार्जीलिङमा जन्मे–हुर्केकी ठटाल नेपाल–भारत मात्रै होइन, संसारभरकै नेपालीभाषीका लागि प्रियवर सङ्गीतकार/गायिकाका रूपमा चिनिएकी छन्।

छिन्नलता गीत पुरस्कार गुठीले यो वर्ष दिएको छिन्नलता विशेष सम्मान थाप्न उनी काठमाडौं आएकी  थिइन्। ८० वर्षीया सङ्गीतकर्मी ठटालले एक साता लामो काठमाडौं बसाइमा विभिन्न स्टुडियो धाउँदै गीत रेकर्ड गराउने र इच्छुक–शुभेच्छुकलाई गीत सिकाउने काम गरेकी थिइन् ।

बुढेसकालले छोइसकेको उमेरमा बिहान अबेरसम्म सुत्नु, लौरोको सहारामा मुस्किलले हिँड्नु र खोलेजस्तो खान्की ब्रेकफास्टमा खानु उनको दैनिकी झैं बनेको छ ।

उनीसित कान्तिपुर दैनिकले लिएको अन्तरवार्ता यहाँ साभार छ


दिदी, बुढ्यौली लागेको भान भएको छैन?
हिँड्ने, बस्ने, खाने कुरामा उमेरअनुसार थाकेको पक्कै हो । तर, सृजनकर्ममा (त्यो क्या) गानाबजानामा बूढी भएको मान्दिनँ । अहिले पनि नयाँ कम्पोज गरिरहेकै छु, चेलाचेलीलाई सिकाइरहेकै छु ।

तपाईं हरेक वर्षजसो मानसम्मान थाप्न नेपाल आइरहनुभएकै छ दशगजा नाघेर हरेक पटक यता आउँदा कस्तो महसुस हुन्छ
हो, नेपाल राष्ट्र अर्कै राष्ट्र हो— हाम्रोनिम्ति । हामी त भारतमा छौं, भारतीय हौं । हामीलाई जसले मन पराउँदैन, हामीलाई बाहिरको भन्छन् । हामी सही बस्छौं । उता हामीलाई मान्नेहरू पनि थुप्रै छन् । यसरी निम्तो पाएर नेपाल आएपिच्छे आनन्द लाग्छ, औधी खुसी हुन्छु । नेपालले हामीलाई बिर्सिंदैन, पटक्कै भुल्दैन भन्ने लाग्छ । हामीले कुनै दिन अलिकति योगदान दिएका थियौं होला, तैपनि नेपालले मूल्याङ्कन गरेर बोलाइरहन्छ । यो सम्झेर म नेपालप्रति आभार व्यक्त गर्छु, सधैं आभारी छु ।

थोरै भूगोलको कुरा गरौं तपाईं भारतमा हुनुहुन्छ, भारतीय हुनुहुन्छ तर, तपाईंलाई सक्दो नामकाम र सम्मान नेपालनेपालीले दिएको छ उता रहेर हिन्दी वा बङ्गाली गीतसङ्गीत क्षेत्रमै लागेको भए अझ बढी उचाइमा पुगिने थियोजस्तो लाग्दैन?
पहिले–पहिले यस्तो सोच्थें (क्या) । अहिले भने यस्तो सोच्न छाडें । मैले कलकत्ताका रवीन्द्र भारतीबाट ३ वर्षे शास्त्रीय सङ्गीतको तालिम गरेपछि भने यस्तो कुरा बढी सोच्ने गर्थें । त्यो तालिम सकेर म दार्जीलिङ नै फिरें, १९६१ तिर ।

फर्केर त्यहाँको लोकमनोरञ्जन शाखामा जागिरे बनें । म ठूलो खोलाबाट सानो खहरेमा फर्किएजस्तै बनेकी थिएँ । बरु कलकत्तै बसेर गीतसङ्गीत अभ्यास र अरू तालिम गरेको भए हुने थियो भन्ने लाग्थ्यो । तर, जे भयो अच्छै भयो भन्ने लाग्छ अहिले क्या ।

यो राजनीतिको कुरा त होइन तर, दार्जीलिङ क्षेत्र त तपाईंले थाहा पाएदेखि अस्थिर र अशान्त छ नि, राजनीतिकै कारण? तपाईं कलाकर्मी, सङ्गीतकर्मीहरूलाई यस्तो कुराले छुँदैन?
हत्तेरि, छुन्छ नि । भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, सभ्यता र सबैभन्दा ठूलो कुरा हाम्रो अस्तित्वको कुरा हामी बसेको भूगोलमै जोडिएको हुन्छ । राजनीतिले सबै जातजातिको भलो गरोस्, थिचोमिचो नहोस् भन्ने न हो । पछि गएर अम्बर गुरुङ, अगमसिंह गिरीहरूले गीत–शब्दमार्फत ‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको’ भनेपछि पो हामी धेरै झस्केका थियौं त ।

झसङ्ग हुने गरी त्यहाँ हाम्रो अस्तित्वको प्रश्न जोडिएर आएको थियो, पहिलो पटक । आज दार्जीलिङ रित्तो हुँदै छ । युवाहरू पलायन हुँदै छन् । कलासंस्कृतिको कुरो पहिलेजस्तो बेजोडको छैन । विशेषगरी राजनीतिक स्थिरता भइदिए राम्रो हुन्थ्यो कि भन्ने हो ।

अहिले साङ्गीतिक सङ्गत, माहोल र गतिविधि के कस्तो छ दार्जीलिङमा?
अहिले उता शून्य–शून्य छ । हाम्रो अघिल्लो पुस्ता निष्क्रिय भइसक्यो, नयाँ पुस्ताको आफ्नै तरिका छ । तर, पुरानो समयको माहोल र अपनत्वले भरिएको ‘क्रिएसन’ भने छैन ।

अहिले व्यापार बढी छ, टालटुल गरेर र थुप्रै ‘टेक’ लिएर पनि गीत रेकर्ड गर्न सकिने अवस्था छ । मेरा पालामा एक सासमा एउटा गीत गाउनुपर्थ्यो । भए हुन्छ, नभए हुन्न । बरु अहिले र पहिलेको तुलनै नगरौं क्या ।

एउटा आमप्रश्न छ तपाईंबारे, तपाईंले किन बिहा गर्नुभएन? बिहा नगरेको अथवा नभएको हो?
यो एकदमै सामान्य प्रश्न हो, मेरा लागि । हरेक पटक यसमा उत्तर अलग–अलग हुन्छ क्या । ‘मगनी’ गर्नेहरू पनि आएकै हुन् । परिस्थिति होला, कतिपय कारण खोजी हेर्दा ।

बिहा म आफैंले पनि नसोचेको र नचाहेको कुरा थियो । जीवनयात्रामा त्यस्ता कतिपय भेटघाट भए पनि । तर आए, गए । म्युजिकमै नित्य लागिरहेकाले अरू सोचाइ आएन क्या । बिहा गरिनँ, नगरेकोमा आज मलाई सन्तुष्टि छ, भनी नसाध्ये सन्तुष्टि ।

आज म जहाँ छु, बिहा नगरेकै कारण आइपुगेकी हुँ भन्ने लाग्छ । बिहा गरेको भए अनेक झमेलामाझ म कहींकतै हराएकी हुन्थें होला । मान्छेहरूले भन्थे होलान्, ‘एउटी शान्ति ठटाल भन्ने गायिका थिई, उहिलेउहिले गीत गाइटोपल्थी… । म एकादेशमा हुन्थें होला ।’

आफूलाई गायिका भनेर चिनाउनुहुन्छ कि सङ्गीतकार
‘सम्हालेर राख, सँगालेर राख’ (शब्द/सङ्गीत अम्बर गुरुङ) बोलको गीत आधारमा मलाई गायिका भनेर चिन्नेहरू जति छन्, ‘उडीजाऊँ भने म पक्षी होइन’ (परालको आगो) गीतका आधारमा सङ्गीतकार भनेर सम्झने पनि छँदै छन् ।

खासमा म कलकत्ता पढेर आएपछि मेरो स्वरमा अलिक गिरावट आएको थियो । त्यही भएर म कम्पोजिसनमा अलिक बढी लागें । त्यसो भनेर गाउन छाडेकै भने होइन । धेरै पछिसम्म काठमाडौंमा ‘पलेंटी’ मा गाउन आइरहें । तर, मलाई सङ्गीतकर्मी भनिदिए पुग्छ ।

कलकत्ताबाट फिर्नेबित्तिकै संयोगले तपाईंको अम्बर गुरुङसँग सुरु भएको साङ्गीतिकसङ्गत निकै उपलब्धिपूर्णरह्यो तपाईंसँग झन्डै ५० जति रेकर्डेडअथवा रेकर्ड नभएका गीतहरू त गुरुङकै होलान् तपाईं आफूलाई भने सबैभन्दा मन पर्ने, मन छुने गीत कुन होला?
मलाई मात्रै होइन, अगमसिंह गिरी दाजुले पनि दोहोर्‍याउँदै फर्माइस गरिरहने एउटै गीत थियो । मलाई लाग्ने, हृदय नजिकै अनुभूत हुने गीत एउटै छ, अम्बर गुरुङज्यूको
शब्द–सङ्गीतमा :
जहिले तिमी आऊ
बिरानीले सोध्छ
बिरानीमा फुल्ने फूल
तिमीलाई नै खोज्छ…

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares