
खरसाङ, 29 जुलाई
बन्दको मुखेञ्जी पुगेको खरसाङको ऐतिहासिक रेलवे प्रिन्टिङ प्रेसको ऐतिहासिक गरिमालाई ध्यानमा राख्दै खुल्ला राखिनुपर्ने मागमा जिटिए उपाध्यक्ष अनित थापाले केन्द्रिय रेल मन्त्रालयसमक्ष पत्राचार गरेको थापाले खबरम्यागजिनलाई विज्ञप्ती पठाएर जनाएका छन्।
प्रेसको गरिमा दार्जीलिङको इतिहाससित जोडिएको भन्दै रेलवे प्रिन्टिङ प्रेस बन्द गर्नुको साटो अझै व्यवस्थित अनि आधुनिकरण गरेर सञ्चालन गरिनुपर्ने उनले विज्ञप्तिमा लेखेका छन्। उनले दार्जीलिङको पर्यटनसित जोडिएको टोय ट्रेनसित सम्बन्धित हरेक थोकको संरक्षण गरिनुपर्ने समेत लेखेका छन्।
‘संरक्षण गर्नुपर्ने प्रेसलाई बन्द गर्नु साच्चै निन्दनीय अनि अशोभनीय कुरा हो,’ उनले भनेका छन्। उनले दार्जीलिङ पहाड़ अनि पहाड़वासीको हितमा केन्द्र सरकारको तर्फबाट अहिलेसम्म आश्वासनबाहेक केही हात नलागेको पनि बताएका छन्। प्रेस लगायत केन्द्रिय विश्वविद्यालय, जनजातिको मुद्दामा केन्द्र मौन बसेको उनको आरोप छ। यो मौनताबाट केन्द्रको पहाडलाई हेर्ने दृष्टिकोण थाहा पाइने भन्दै सांसद एसएस आहलुवालियाले पनि यस विषयमा केही गर्ने हुन् वा होइनन् आफू अन्योलमा रहेको जनाएका छन्।