पिएस गोले चुनाउमा उठ्ने सम्भावना आधा –आधा

गान्तोक, 29 जुलाई।


सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङको कारावासपछि चुनाउमा उठ्न पाउने नपाउने मुद्दाले नयाँ मोड लिएको छ। वरिष्ठ अधिवक्ता नरबाहदुर खतिवडाले कानुनी प्रावधान केलाउँदै अहिलेको अवस्थामा अध्यक्ष तामाङले चुनाउमा उठ्न पाउने नपाउने आधा आधा सम्भावना रहेको बताएका छन्।

उनले एसकेएम र सत्तारूढ एसडीएफबीचको खिच्चातानीलाई अलग गर्दै रिटर्निङ अधिकारीसमक्ष मनोनयन पत्र बुझाउन सक्ने तर दलिलको क्रममा रिटर्निङ अधिकारी सन्तुष्ट भएको खण्डमा चुनाउ लड्न पाउने तर रिटर्निङ अधिकारीले दलिल अस्वीकार गरेको खण्डमा चुनाउ लड्न नपाउने भएकोले अहिलेको अवस्था आधा आधा रहेको दाबी गरे।

अहिले सिक्किमको राजनीतिमा महत्वपूर्ण बहसको माध्यम बनेको छ। सत्तारूढ एसडीएफ पार्टी प्रवक्ता केटी ग्याल्छेनले जन प्रतिनिधि ऐन 1951 को धारा 8 अन्तरर्गत अपराधिक मामिलामा एक वर्षसम्म कारावासको सजाय भोगिसकेका एसकेएम प्रमुख प्रेमसिंह तामाङले 2019 को चुनाउ लड्न नपाउने अर्थात कारावास मुक्त भएको दिनदेखि 6 वर्षसम्म कुनै चुनाउमा भाग लिन नपाउने अडान पेश गरेपछि वाद विवाद शुरु भएको हो।

यसपछि एसडीएफ पार्टीले निरन्तर प्रेम सिंह तामाङले चुनाउ लड्न नपाउने आधिकारिक प्रचार गरिरहेको छ। अर्कोतिर एकेएम प्रवक्ता जेकब खालिङले सबै कानुनी प्रक्रियालाई केलाइसकेको र सबै गृहकार्य पुरा गरेर आगामी 2019 को चुनाउमा मुख्यमन्त्रीको उम्मेद्वार प्रेम सिंह तामाङ नै हुने ठोकुवा गरेपछि विवादले चर्को रूप धारण गरेको हो।

उनले लेडेढिप्पि नै गरेर भने, ‘2019 मा जनताले नै एसकेएमको नेतालाई मुख्यमन्त्री बनाउँछ।’ अहिले आएर भने कानुन विशेषज्ञ तथा वरिष्ठ अधिवक्ता नरबहादुर खतिवडाले दुवै पक्षभन्दा भिन्न र बीचको अडान अघि सारेका छन्। उनले जनप्रतिनिधि ऐनले रोके पनि चुनाउमा मनोनयन पत्र भर्न कारावास काटेर आएका व्यक्तिलाई नरोक्ने तर मनोननय पत्र जाँचको समय रिटर्निङ अधिकारीले उक्त मनोनयन पत्र रद्द गर्नसक्ने दलिल फेला पारेको खण्डमा रद्द भएमा चुनाउमा उठ्नुको कुनै औचित्य नरहने बताए।

यसैगरि उनले भने, ‘अहिलेको अवस्थामा प्रेमसिंह तामाङले चुनाउमा खडा हुन पाउने नपाउने आधा आधा सम्भावना छ। यद्यपf चुनाउमा खडा हुन पाएको खण्डमा पनि 45 दिन भित्रमा न्यायालयमार्फत अर्को कार्वाहीको सामना पनि गर्नु पर्ने हुन्छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया