विचारको खेती           

विचार

 

डिल्लीप्रसाद अधिकारी


स्वार्थ मात्र सोच्ने मान्छे बग्रेल्तै भएको समाजमा विचारको खेती गर्नु एउटा दुसाध्य प्रयास हो। तर पनि हामी सामुहिक हितमाथि विचार गरेको स्वाङ गर्न कत्ति पछि परेका छैनौ। अझ हाम्रो राज्यमा त पद, पैसा र प्रतिष्ठाका निम्ति मरिमेट्नेहरू आफ्ना मालिकको विचारलाई आफू क्यै विचारै नगरी होमा हो मिलाउने मात्र होइन गलत सल्लाह दिन पनि पछि पर्दैनन्।

राजनीति पनि विचारकै खेती हो। हाम्रो सिक्किममा तर सरकार प्रमुखले मात्र विचार गर्ने अनि अरू भने पदलिप्सामा, धनतृष्णामा, प्रतिष्ठाको अहंकारमा मात्र लागिपर्ने प्रवृत्तिका भएकाले हाम्रो सामाजिक धरातल अधोगतिमा गइरहेको छ। कुनै एउटा मानिसले मात्र गरेको विचार सामाजिक हितका निम्ति तबमात्र हुन्छ जब त्यसलाई समाजले अनुमोदन गर्दछ। तर प्रजातन्त्रले राम्रो फस्टाउने परिवेश नपाउँदै यो राज्यको सामाजिक भूमिमा आर्थिक भ्रष्टाचारको खेती हौसियो। यसलाई नियन्त्रण गर्न एक-दुइजनाले सक्ने कुरा होइन। सिङ्गै समाज यसको जरा मास्न अघि सर्नुपर्छ।

विचारको उचित तात्पर्य नजान्नेहरूले ‘गरीबीमुक्त’-को नारालाई ‘गरीबमुक्त’ सम्म भनेका र भन्ने गरेका छन् जो खासमा हास्यस्पदभन्दा धेरै गम्भीर हुनतिर चासोपर्दो हुन्छ किनभने यो अपव्याख्या गर्नेको मानसिकता समाजका निम्ति घातक छ। समाजलाई उँभो लगाउन, सभ्यताको चरमचुलीमा लैजान रभौतिक विकास गर्नका निम्ति सिक्किममा सम्माननीय मुख्य मन्त्रीको सोचले आज सिक्किम भारतका अन्य राज्यका तुलनामा कतै पनि पछि छैन।

उहाँको यो महान वैचारिकतालाई यदि हाम्रो समाजले सामाजिक विचारका रूपमा स्वीकारेर यसलाई अघि बडाएको भए आज सिक्किम संसारकै एउटा नमूना बन्न सक्ने थियो। तर विचारको खेती एकल प्रयास मात्र भएको मुग्धमार हामी भोगिरहेछौं। यसका पछि कारण एउटै छ कि हामी विचारले गरीब छौं। आफ्नो स्वार्थ र आफ्नो मात्र भौतिक विकासको विचार गर्नेको रगरगी समाजमा व्याप्त छ।

यस्तो परिस्थितिमा पनि कवि हृदयका मुख्य-मन्त्रीको एकल विचारले सिक्किम प्रगतिको पथमा अघि बड्दै जानु हाम्रो अहोभाग्य हो अनि यही कारणले नै लगातार पाँचपटक उहाँको नेतृत्वले विजय प्राप्त गरेको हो। घरिघरि उहाँले सिक्किममा ‘मेरो विकल्प छैन” भन्नुको तात्पर्य पनि यही हुनुपर्छ कि सिक्किममा उहाँको झैं महान विचार भएका मानिस छैनन्।

छन् त सबै पद, पैसा र प्रतिष्ठाका निम्ति मरिहत्ते गर्नेहरू मात्र छन्। राजनीतिको संदिग्धकालका एकमात्र कर्मयोगी श्री पवन चामलिङ रहेको कुरा ध्रुव सत्य छ। शिक्षाका क्षेत्रमा, ग्रामीण विकासका क्षेत्रमा,औद्योगिकरणमा, प्रतिभालाई प्रोत्साहन गर्नमा, कृषिको आधुनिकिकरणमा, नवीन विविध परियोजनाको स्थापना गर्नमा उहाँले गर्नुभएको सर्वोच्च कार्यहरू खासमा उहाँकै एकल विचार र महान सोचका परिणाम हुन्। यसमा अरूले नाक घोक्रयाउन कतै पनि सुहाउँदैन। उहाँकै महान विचारकै कारणले र योग्य नेतृत्वका कारणले पद पाएकाहरू आज उहाँका विचार विपरित काम गर्दै रातारात धनी हुनेहरूको विचार कति नीच छ त्यो समयमा उज्यालोमा छर्लङ्ग हुने छ।

भारतमा सिक्किम मात्र यस्तो राज्य हो जहाँ भूमिहीन राज्यबासीले सरकारद्वारा घडेरी पाएका छन्। यो श्री पवन चामलिङको योजना हो। सिक्किमका मेधावी विद्यार्थीले उच्च कोटीका विद्यालयमा पढ्ने अवसर पाउनु पनि उहाँकै योजना हो। साक्षरतामा पूर्णता पाउनु पनि उहाँकै एकल प्रयासको प्रतिफल हो। उहाँ समावेशी विकासका पक्षधर हुँदा-हुँदै पनि यसमा निस्वार्थ भावले काम गर्ने अरू कोही नभएको विशाल अभाव सिक्किममा खट्किरहेको छ। हो, यसैले सिक्किममा उहाँको विकल्प अझसम्म जन्मेको पाइँदैन।

यो विकल्प नभएको विषयलाई समेत अपव्याख्या गर्नेहरूले उहाँलाई धारेहात लगाउँछन् जुन सिक्किमको समाजका निम्ति घातक छ। श्री चामलिङको नाम नबेची जनाधार पाउने नेता सिक्किममा अत्यन्त दुर्लभ छन्। उहाँको पदमा आफू पुग्नलाई मुद्दाको अनिकाल परेकाले जातको नीच मुद्दा, व्यक्ति चरीत्र हननको घिनलाग्दो कुरा गरेर विरोधकै निम्ति मात्र विरोध गर्नेले समाजको एउटा वर्ग विषेशलाई सधैं हानी गराएको अवश्था पनि हाम्रो समाजमा छ।

विचारको खेती भनेको सामाजिक सरोकार हो। तर नेतृत्वको नाम बेचेर पद र प्रतिष्ठा पाउनेले विचारको बालीलाई मलजल गर्नुको साटो अन्यलाई, अरू विचारका धनीलाई त्यो महान नेतृत्वसम्म पुग्न नदिइ एक्लै मोज-मस्ती गर्ने संस्कृतिको विकासले सिक्किमको भौतिक विकासमा अर्घेल्याइँ गरेको छ। राम्रो विचार र राम्रो राजनीतिले राम-राज्य कायम हुन्छ अनि राम-राज्य कायम गर्नलाई समाज नै राम्रो हुनुपर्छ। एकल कोसिसले यो सम्भव हुँदैन। समाजको सर्वतोमुखी विकासमा सबैको सहभागिता आजको मुख्य आवश्यकता हो।

आर्थिक विकास मात्र सम्पूर्ण विकास होइन। सभ्यता, संस्कृति, शिक्षा, आदिको विकास पनि उछ्च विचारले नै मात्र सम्भव छ। आध्यात्मका विषयमा सबै धार्मिक विचारलाई बराबर महत्व दिनु भारतीय धर्मनिरपेक्षताको मूल प्रकृति हो।समाजलाई न्याय दिनु प्रजातन्त्रको मूल मर्म हो। सिक्किममा सबैलाई समान न्याय सुलभ नहुनमा विचारको खेतीमा भएका कतिपय कमी र कमजोरीहरू मुख्य कारण हुन् यसमाथि सबैले सरोकार राख्नु पर्दछ। विरोधले होइन विचारले हामी राजनीतिक विकल्प निर्माण गरौं। विचारको उत्तम खेती गरौं

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares