‘यो विद्रोही पनि क्या खतरा कवि थियो !’

कृष्णकान्त।

(अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा)


विद्रोही अझै पनि जिउँदै छ। सबै ठुल्ठुला मान्छेहरू मरेपछि, सबै तानाशाह र उनीहरूको अत्याचार मरेपछि अनि बल्ल विद्रोही मर्नेछ आरामले वसन्त ऋतुमा।
अक्टोबर २०१५ मा विश्वविद्यालय अनुदान आयोग (यूजीसी)-ले नन नेट फेलोसिप अन्त्य गर्ने निर्णय लिएपछि जवाहारलाल नेहरू विश्वविद्यालय (जेएनयू)-का विद्यार्थीहरू आन्दोलनको घोषणा गर्दै यूजीसीका अगाडि धरनामा बसे। जुन आन्दोलन निकै लामो समयसम्म चल्यो। ‘अक्युपाई यूजीसी’ नाममा चलिरहेको आन्दोलन विद्यार्थीहरूलाई दिइने छात्रवृत्ति अन्त्य गर्ने, शिक्षाको निजीकरण गर्ने र वर्तमान सरकारका नीतिहरूको विरोधमा थियो।

त्यही आन्दोलनमा एउटा कवि पनि सामेल थिए, जसको संसार भनेको जेएनयू र जेएनयूका छात्र थिए। कविता र वास्तविक जीवन दुवैमा समान रूपले ‘विद्रोही’ यो एउटा कवि, आफ्नो कविताहरूका साथ विद्यार्थीहरूसँगै उभिएको थियो। तर, ‘ठुल्ठुला मान्छेहरू पहिले मरुन्- त्यसपछि म मरुँ– आरामले त्यता गएर वसन्त ऋतुमा’ जस्तो पङ्क्ति लेख्ने यो कवि वसन्त आउनु अगावै प्रदर्शनस्थलमै ८ दिसम्बर २०१५ मा अचानक हामी माझबाट बिदा लिएर गए।

म पनि मर्नेछु
र भारतका भाग्य विधाता पनि मर्नेछ
तर म चाहन्छु
कि पहिले जनगणमन अधिनायक मरोस्
त्यसपछि भाग्य विधाता मरोस्
त्यसपछि साधुका काका मरुँन्
अर्थात सबै ठुल्ठुला मान्छेहरू पहिले मरुन्
त्यसपछि म मरुँ आरामले
उता गएर वसन्त ऋतुमा
जब दानाहरूमा दूध र आँपहरूमा गुलियो भरिन्छ
अथवा त्यसपछि जब महुवा चुन थाल्छ
अथवा त्यसपछि जब वनमा फूलहरू फुल्न थाल्छन्
खोला किनारमा मेरो चिता धपधपी बलेर बसाओस्
र मित्रहरू सबैले सम्झिउन् मलाई
कि यो विद्रोही पनि क्या खतरा कवि थियो  
कि सबै ठुल्ठुला मान्छेहरूलाई मारेर बल्ल मऱ्यो

यी कवि थिए रामाशङ्कर यादव ‘विद्रोही’। विद्रोही एउटा कवि मात्र थिएनन्, जेएनयूका छात्रहरूका लागि विद्रोही व्यवस्थाका विरुद्ध उठ्दै गरेको जनपक्षधर स्वरका प्रतीक थिए। विद्रोही आफ्ना कविताहरूमा जस्तो विद्रोह रचना गर्थे, उनले त्यसैगरी विद्रोह गर्दा गर्दै आफ्नो अन्तिम सास लिए।

विद्रोही विद्यार्थीहरूसँगै सरकार विरोधी ऱ्यालीमा सहभागी थिए। तत्क्षणै उनलाई लाग्यो कि स्वास्थ्य अलिक बिग्रँदै गइरहेको छ। उनी प्रदर्शनस्थलमै सुते। दिउँसो २ बजेतिर उनको शरीर एक्कासी काम्न थाल्यो। अरू साथीहरूले केही बुझ्न भ्याउँथे त्यतिबेलासम्म उनको श्वास अन्त्य भइसकेको थियो। चिकित्सकहरूले उनको मष्तिष्क मृत्युका कारण उनको मृत्यु भएको बताए।

विद्रोहीको नाम त्यतिकै विद्रोही थिएन। उनी वास्तवमै विद्रोह गरेर विद्रोही बनेका थिए। खासमा के भएको थियो भने, उनी एउटा सामान्य परिवारबाट कानुनको अध्ययन छोडेर जेएनयू हिन्दी साहित्य पढ्न आएका थिए। सन् १९८३ मा जेएनयूमा एउटा ठूलो विद्यार्थी आन्दोलन भयो, जसमा विद्रोही सहभागी भए। विद्यार्थी आन्दोलनमा भएकै कारण उनीमाथि तत्कालीन सरकारले मुद्दा चलायो र आन्दोलन गरेको अपराधमा विश्वविद्यालयबाट निकालियो। त्यसपछि विद्रोही जेएनयूको विद्यार्थी त रहन सकेनन् तर उनले जेएनयू कहिलै छोडेनन्। सम्भवतः विद्रोही युवा कवि विद्रोहीले आफूले कहिल्यै विश्वविद्यालय नछोड्ने घोषणा गरिदिए ।

नाकमा नासुर छ र नाकको फुन्कार छ,
नाक विद्रोहीको पनि खड्ग हो, खुँडा हो
भावनाहरू यस्ता पनि केही छन् कि सात समुद्र पारिसम्म
यो टाउको होइन गजुर हो कुनै, पिसाको मिनार हो
र यो खस्यो भने मानवताको घमण्ड ढल्नेछ
यो खस्यो भने चरम सफलताको गजुर ढल्नेछ
यो खस्यो भने प्रेमको गुण खस्नेछ
माया र सुन्दरता दुवैको दृष्टि ढल्नेछ
त्यसैले छु जिउँदो
नभए उहिलै मरिसकेको छु…

जेएनयूमा बस्ने कुनै थाकथलो नहुँदा पनि युवा कवि जेएनयूको जङ्गलमा, हाँगाहरूमा, गल्लीहरूमा घुमिरहे, सुतिरहे, कविता लेखिरहे, विद्यार्थीहरूलाई समाई समाई व्यवस्थाको षडयन्त्र कस्ता–कस्ता हुन्छन् भनिरहे।

जेएनयूका विद्यार्थीहरू विद्रोहीको विद्रोही कविताहरूमा डुबिसकेका थिए। केहीले उनलाई यायावर कविका रूपमा बुझे, केहीले उनको नाम मात्र सुने, केहीले उनका कविताहरू इन्टरनेटबाट पढे, केहीले उनलाई युट्युबमा देखे र कविता सुने।

विद्रोही झण्डै दुई दशकसम्म जेएनयू परिसरमा रही रहे। सायद जेएनयूको विद्रोही हावा, परिवर्तनकामी आकाङ्क्षा र उनको हिन्दी साहित्य पढ्ने इच्छाले उनलाई रोकेर राखेको होला। तर जहिलेसम्म उनी जिउँदा रहे, ‘आकाशमा धान रोप्दै गरे’ र अन्त्यमा विद्यार्थीहरूसँगै सङ्घर्ष गर्दागर्दै बिदा भए।

म किसान हुँ
आकाशमा धान रोप्दै छु
केही मान्छे भनी रहेछन्
कि पागल ! आकाशमा धान रोपिँदैन
म भन्छु पागल !
यदि धर्तीमा भगवान रोप्न सकिन्छ भने
आकाशमा धान पनि रोप्न सकिन्छ
र अब त दुवैमध्ये कुनै एउटा मात्र रहन्छ
कि धर्तीबाट भगवान उखेलिन्छ
कि आकाशमा धान रोपिन्छ । 

विद्रोही यस्ता कवि थिए, जसले आजीवन कविता मात्र भनिरहे र सुनाइरहे। विद्रोहीलाई कविताका लागि कहिल्यै पनि कापी कलम चाहिएन। उनले कविता आफ्नो मनमा लेख्थे र विद्यार्थीहरूलाई सुनाउँथे। उनका साथीहरूका अनुसार उनले अन्य कविहरूले जसरी कहिल्यै आफ्नो नाम आफैले राखेनन्। रामाशङ्कर यादवले जब विद्रोहका कविता लेख्न थाले त उनलाई मन पराउनेहरूले नै उनलाई ‘विद्रोही’ भन्न थाले। विद्रोहीलाई उनका साथीहरूले प्रदान गरेको नाम मन पऱ्यो।

विद्रोही आफैले आफूलाई भने जनताको कवि भन्थे। अङ्ग्रेजीलाई अप्नाइसकेको जेएनयूमा ठेट हिन्दी भाषामा कविताकारिता गर्थे। उनका नजिक रहेका साथीहरूका अनुसार उनले आफूलाई कवीरको मौखिक परम्परासँग जोड्ने गर्थे। उनी कस्ता कवि थिए भने उनले आफ्ना कविताहरू छाप्न कुनै प्रयास गरेनन्। तर उनको मष्तिस्क मात्र कविताका लागि बनेको थियो। उनी आफ्ना कविताहरू मष्तिस्कमा सङ्ग्रहित गर्थे, ठ्याक्कै त्यसै गरी जसरी कालिदास, कवीर, सुरदास, तुलसीदास आदिले आफ्नो सम्पूर्ण कविताहरू मष्तिस्कमा सङ्ग्रहित गर्थे।

दिल्ली र जेएनयूमा हुने अधिकांश प्रदर्शनहरूमा विद्रोही पुग्थे र आफ्ना कविता सुनाउँथे। कयौँ चोटि उनका कविताहरूबाट नै कार्यक्रमको र प्रदर्शनहरूको समापन हुने गर्दथ्यो। उनी राम्रो गरी सत्ताको चरित्र बुझ्दथे।

हरेक ठाउँमा यस्तै बेइज्जती
हरेक ठाउँमा यस्तै अपमान
हरेक ठाउँमा छ प्रहरी
र हरेक ठाउँमा छ अदालत
हरेक ठाउँमा छ पुरोहित
हरेक ठाउँमा छ नरमेध
हरेक ठाउँमा कमजोर मारिएको छ, खेद छ।

विद्रोही उत्तरप्रदेशको सुल्तानपुर ऐरी फिरोजपुरमा ३ दिसम्बर १९५७ का दिन जन्मिएका थिए। विद्रोहीलाई नजिकदेखि चिन्नेहरूका अनुसार शान्तिदेवी नामकी एउटा सानी बच्चीसँग उनको बालविवाह भएको थियो। शान्तिदेवी पढ्न विद्यालय जाने गर्थिन र विद्रोही भैँसी चराउन खेततिर। गाउँका मान्छेहरू रामाशंकर अनपढ भएकाले श्रीमतीले उसलाई छोड्दिने भन्दै कुरा काट्थे।

श्रीमतीले साँच्चै छोडिदिने हुन् कि भन्ने डरले रामाशङ्करले पढ्न शुरु गरे। बीए पास गरे। एलएलबी पढ्दै थिए तर पैसाको अभावले गर्दा त्यसलाई पूरा गर्न सकेनन्। उनले एउटा जागिर पनि गरे तर त्यहाँ उनलाई पटक्कै मन लागेन। उनी जागिर छाडेर सन् १९८० मा जेएनयू गए। जेएनयूले उनलाई आन्दोलनमा सहभागी भएको भन्दै विद्यार्थी हुनै दिएन। त्यसपछि उनी एउटा यस्तो विद्रोही, यायावर, फक्कड र हालत खराब कविमा रूपान्तरित भए जसको जीवनमा मात्र केही राम्रा कविताहरू शेष रहे।

र यो मान्छेको छरिएको हाडखोर
रोमनको गुलामको पनि हुन सक्छ र
बङ्गालको जुलाहाहरूको पनि अथवा
भियतनामी, प्यालेस्टिनी केटाकेटीहरूको पनि
साम्राज्य आखिर साम्राज्य नै हुन्छ
भलै त्यो रोमन साम्राज्य हो, ब्रिटिस साम्राज्य हो
अथवा अत्याधुनिक अमेरिकी साम्राज्य
जसको काम यत्ति हो कि
डाँडाकाँडामा, पठारमा, नदी किनारमा
सागरको तिरमा मानिसहरूको हड्डी छर्ने । 

विद्रोहीको कविता वञ्चितहरूको कविता हो, जो दुर्भागले जेएनयूको पर्खाल बाहिर जान सकेन। जन सांस्कृतिक मञ्चसँग जोडिएका उनका साथीहरूले उनका कविताहरूलाई सङ्कलन गरेर ‘नई खेती’ प्रकाशित गराए। विद्रोही जेएनयूमा हिन्दी साहित्यमा एमए गर्न आएका थिए, जुन कहिल्यै पूरा हुन सकेन। तर विद्रोहीले के देखाइदिए भने, बिना डिग्री पनि हिन्दी साहित्यका अनुठो शिल्प बन्न सकिन्छ। उनी एउटा विद्रोही जनकविका रूपमा चिनिए, विद्रोही जीवन बाँचे र विद्रोह गर्दागर्दै संसारबाट बिदा भए।
थाहा छैन कहिलेदेखि चलिरहेको छ
सधैँको यो महाभारत
वास्तवमै हरेक महाभारत
एउटा नयाँ महाभारतको गुन्जाइसमा रोकिन्छ
जहाँ अन्धकारहरूको ठाउँमा अवैधहरूको
जय भनिन्छ
च्यातेर फालिन्छ उनीहरूको निवेदन
जसले विधाताको आली भत्काउने गर्छ…

शताब्दी सकिन्छ,
सिंहासन भाँचिन्छ,
तर बाँकी रहन्छ रगतका टाटाहरूको पहिचान,
गवाहीहरू झुठो ठहरिन्छन्
र मेरो गाउँ शताब्दीयौँसम्म जोत्न नपाइने गरी
वञ्चित हुन्छ
किनभने कागजहरूले भन्छन् कि
विवादित भूमि रामजानकीको थियो । 

विद्रोहीका लागि ‘कविता खेती हो’। कविता नै उनको ‘छोरा–छोरी’ हो। उनका लागि कविता ‘बुबाको ब्याज हो, आमाको रोटी हो।’ उनका लागि कविता न्याय, मानवता, समानताको हतियार हो। उनलाई आफू कविताको कर्ता भएकोमा विश्वास छ, जहाँ उनी भन्छन्–
म कवि हुँ, कर्ता हुँ…
म एक दिन प्रहरी र पुरोहित दुवैलाई
एकैचोटि महिलाहरूको अदालतमा उपस्थित गराउँछु
र माझका सबै अदालतहरू अन्त्य गरिदिन्छु
म उनीहरूको दाबीलाई पनि अन्त्य गरिदिन्छु
जुन श्रीमानहरूले महिला र केटाकेटीका खिलाफमा पेश गरेका छन्
म ती तमसुकहरू पनि खारेज गरिदिन्छु
जुन दुर्बलहरूले बाहुबलीका नाम गरे होलान ।

विद्रोहीभित्रको यो कविले के कुरा बुझी सकेको थियो भने प्रकृति र मान्छेहरूका बीच तालमेल गर्न यिनै क्रुर व्यवस्थाहरू बाधक छन्। र उनी यी व्यवस्थाप्रति क्रोधले भरिएका थिए। उनी के चाहन्थे भने ‘साइमन न्यायको कटघरामा उभियोस’ र त्यति बेला ‘प्रकृति र मनुष्यले त्यसको गवाही देउन्’। उनी ‘मोहनजोदडोको अन्तिम खुड्किलो’मा उभिएर भन्छन्– जहाँ ‘एकजना महिलाको जलेको लास छ र तालमा मानिसका हाडखोरहरू छरिएको छ।’

विद्रोहीलाई बेबीलोनियादेखि लिएर मेसोपोटामियासम्म प्राचीन सभ्यताहरूको उद्भवस्थलमा एउटी महिलाको जलेको लास र मानिसका छरिएका हाड भेटिन्छन्, जसको निरन्तरता अन्ततः सिरियाका ढुङ्गादेखि लिएर बङ्गालको मैदानसम्म छ। उनी यसका विरुद्ध उभिएर भन्छन्–

इतिहासमा ती प्रथम महिलाको थिइन्, जसलाई सबैभन्दा पहिले जलाइयो?
मलाई थाहा छैन
तर जो भए पनि ती मेरी आमा थिइन् होली
मेरो चिन्ता के हो भने भविष्यमा ती अन्तिम महिला को हुन्छिन्
जसलाई सबैभन्दा अन्तिममा जलाइनेछ?
मलाई थाहा छैन
तर जो भए पनि ती मेरी छोरी हुनेछिन्
र म यो हुन दिन्नँ।
विद्रोहीले यो संसार छोडेको दुई वर्ष भयो तर विद्रोहीको कविता पढ्दा लाग्छ उनी अझै पनि जिउँदै छन् ।
सबै ठूल्ठूला मान्छेहरू पहिले मरून्
त्यसपछि म मरूँ आरामले
उता गएर वसन्त ऋतुमा
जब दानाहरूमा दूध र आँपहरूमा गुलियो भरिन्छ
खोला किनारमा मेरो चिता धप्धपी बलेर बसाओस्
र मित्रहरू सबैले सम्झिउन् मलाई
कि यो विद्रोही पनि क्या खतरा कवि थियो  
कि सबै ठल्ठूला मान्छेहरूलाई मारेर बल्ल मऱ्यो

 

अनुवाद- नरेश ज्ञवाली/साभार – रातोपाटी

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares