धरना समापनः जाप भाजपासित क्षुब्ध

कालेबुङ, 9 अगस्त


छुट्टै राज्य गठनको दावी गर्दै जाप युवा एकाईले दिल्लीको संसद मार्गमा गरेको चार दिवसीय धरना प्रदर्शन आज समापन गरियो। पहिलेभन्दा यसपल्टको धरना धेरै हदसम्म सफल भेको जाप युवा एकाई महासचिव भुपेन राईले दावी गरे।
18 जुलाईदेखि 10 अगस्तसम्म संसदमा मनसुन सत्र चलिरहेको छ। यसैलाई केन्द्र गरेर जन आन्दोलन पार्टी युवा एकाईले 6 देखि 9 अगस्तसम्म चार दिन लगातार धरना प्रदर्शन गऱ्यो।

राईले भनेअनुसार धरना सफल हुनुको मापदण्ड के थियो भने यसपल्टको धरना प्रदर्शनद्वारा देशको थुप्रै राजनैतिक दल, संघ-संस्था, प्रतिपक्षी एवं आम नागरिकहरूलाई गोर्खाको लङ पेन्डिङ डिमान्डबारे बुझाउन सकियो। भारतीय जनता पार्टीको मुख्य कार्यालयअघि धरना प्रदर्शन गरेर धेरै घन्टासम्म राष्ट्रिय राजमार्ग अचल बनाएर भाजपामाथि दबाब सिर्जना गर्न सकियो।

सबभन्दा ठुलो कुरा त गोर्खाको मागप्रति सहानुभूति छ भनेर आफ्नो मेनिफेस्टोमा समाहित गर्ने भाजपालाई यो सोच्न बाध्य बनाइयो कि गोर्खाको मागप्रति कुनै सहानुभूति नदेखाएकाले गोर्खाहरू भाजपाप्रति क्षुब्ध बनेको छ। यो चिज नै यसपल्टको धरनाको सबभन्दा ठुलो उपलब्धी रहेको उनले दावी गरे। धरना अवधि विभिन्न राजनैतिक दल, सामाजिक संस्थाका प्रतिनिधिहरू आएर गोर्खाको मागप्रति समर्थन जनाइदिएको उनले बताए।

‘भारत जस्तो लोकातान्त्रिक देशमा गोर्खाहरूको न्याय भएको छैन,’ जाप युवा एकाई प्रवक्ता नरेश राईले भने, ‘गोर्खाहरूको लङ पेन्डिङ डिमान्ड केन्द्र सरकारले नै पुरा गर्नुपर्छ। गोर्खा राष्ट्रिय चिन्हारी अनि राष्ट्रिय सुरक्षाका निम्ति बङ्गालदेखि छुट्याएर अलग राज्य क्रिएट गर्नुपर्छ। जापलाई गोर्खाको मागको आवाज देशभरि फैलाउनु थियो। देशको संसद भवनसम्म पुऱ्याउनु थियो। यसैकारण जापलाई दिल्लीको संसद मार्गमा धरना प्रदर्शन गर्न उपयुक्त लाग्यो।’ यो अभियान चार दिनको धरनामा प्राय सफल भएको उनले दावी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares