गोलेको कारावास मुक्तिलाई एसकेएमले भन्यो जन उन्मुक्ति दिवस, हजारौंको संख्यामा जनता सडकमा ओर्लिनु नै एसकेएमको सबैभन्दा ठूलो तयारी होः जेकब खालिङ

गान्तोक, 9 अगस्त।


सिक्किमको सबैभन्दा बलियो विपक्षी दलको रूपमा स्थापित सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)  प्रमुख पीएस तामाङको कारावस भोलि 10 अगस्तको दिन पुरा हुँदैछ। आफ्नो नेताको स्वागतको निम्ति एसकेएम समर्थकहरूले व्यापक रूपमा तयारी गरेको छ। समर्थकहरूले आतुरीको साथमा अध्यक्ष गोलेको स्वागतको निम्ति रोङ्गेक स्थित राज्य सुधार गृह नजिकदेखि राजधानीमा पार्टीको झण्डा र अध्यक्षको स्वागतको कार्यक्रमको निम्तोको पोस्टर र होडिङ लगाएर रङ्गी चङ्गी पारेका छन्।

विगत एक सालदेखि रोङ्गे जेलमा वित्तीय अपराध (भ्रष्ट्चार) को मामिलामा दण्डित भएपछि कारावासमा रहेका अध्यक्ष गोलेको दण्ड भोलि समाप्त हुने छ। उनले जेल मुक्त भएको दिनलाई एसकेएमले जन उन्मुक्ति दिवसको नाम दिएको छ। जनताको उन्मुक्तिको निम्ति जेल गएको आशय अनुरूप 10 अगस्तलाई  जन उन्मुक्ति दिवसको रूपमा पालन गर्ने निर्यण गरेको प्रवक्ता जेकब खालिङ बताउँछन्। आफ्नो नेताको स्वागतको निम्ति जनता स्वयं हजारौंको संख्यामा सड़कमा उत्रिने र एसकेएम पार्टीले खर्चालु भव्यता भन्दा धेरै जन सहभागिताको भव्यतालाई ध्यान दिएको र हजारों को संख्यामा जनता आफ्नो नेताको स्वागतमा सड़कमा उत्रिने सबैभन्दा ठूलो तयारी रहेको बताएका छन्।

 

एसकेएम अध्यक्ष गोलेलाई 1994 देखि 1999 सालसम्म आफू सत्तारूढ दल एसडीएफको मन्त्री पदमा रहँदा सरकारी धनराशी दुरूयपयोग गरेको आरोपमा दण्डित गरिएको हो। उनले पशुपालन विभाग अन्तर्गत दुधालु गाई वितरण योजनामा लगभग 10 लाख रूपियाँ हिनामिना गरेको आरोप सिद्ध भएपछि सिक्किम उच्च न्यायालयले एक वर्षको कारावास समेत 10 हजार रूपियाँ नगत जरीमाना गरेको थियो।

सिक्किम सरकारको सतर्कता विभागले एसडीएफका संस्थापक कार्यकर्ता पीएस गोलेमाथि 2010 मा राज्य सरकारको गाई वितरण योजनाको 9.5 लाख रूपियाँ हिनामिना गरेको आरोपको हलफनामा न्यायालयमा बुझाएको थियो। गोले त्यसताका पशुपालन विभागका मन्त्री थिए । यद्यपी यो मामिलामा केशु अग्रवाल, सञ्जय अग्रवाल र सुवास तामाङलाई पर्याप्त साक्षीको कमीमा न्यायालयले मुक्त गरेको थियो भने गोलेलाई अपराधि सिद्ध गरेको थियो। यसैगरि तत्कालिन सिक्किम मिल्क युनियनका प्रबन्धन निर्देशक टीबी गुरुङलाई पनि अपराधि सिद्द गर्दै दण्डित गरेको थियो।

जिल्ला सत्र न्यायालयले शुरुमा 8 महिनाको कारावास र 5 हजार रूपियाँ जरीमाना तोकेको थियो। त्यसपछि उच्च न्यायालयमा अपिल गरेका थिए। जहाँ उनलाई एक वर्षको कारवास र 10 हजार रूपियाँ जरिमानाको दण्ड सुनाइएको थियो।

1994 देखि 2013 सम्म एसडीएफको टिकटमा उनी विधायक बनेका थिए। एसडीएफमा भाइ भतिजावाद हुने गरेको आरोप लगाउँदै पार्टी त्याग गरेका थिए।  उनले 2012 मै एसकेएम पार्टी गठन गरेको भए पनि 2013 को 5 अक्टोबरको दिनमात्र पार्टीको कमान सम्हालेका थिए।  2014 सालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीबाट गरेर अप्पर बुर्तुकबाट विजयी बनेका थिए भने नामथाङ रातेपानीबाट उनी एसडीएफका उम्मेद्वार तिलू गुरुङसित पराजित बनेका थिए। एसकेएमले 2014 को आम चुनाउमा 32 आसनमा 10 आसनमा एसकेएमले विजय प्राप्त गरेको थियो। तर चुनाउको एक वर्ष बित्दा नबित्दै 7 जना विधायक एसकेएम त्यागेर सत्तारूढ एसडीएफ पार्टीमा सामेल भए। उनलाई उच्च न्यायालयले पनि अपराधिसिद्ध गर्दै दण्डित गरेपछि उनको अप्पर बुर्तुकको विधायक पदबाट पनि हटाइएको थियो। जहाँ सम्पन्न उप चुनाउमा एसकेएम पराजित भयो भने एसडीएफका उम्मेद्वार डीआर थापा विजयी बने।

एक वर्षसम्मको कारावासपछि पुनः राजनैतिक कमान सम्हाल्ने र  पार्टीलाई नेतृत्व दिन अब तुरन्तै राजनैतिक मैदानमा उत्रिने पार्टी अध्यक्षको निर्णय रहेको प्रवक्ता खालिङले बताएका छन्। यसका साथै सारा सिक्किमबाट उनको स्वागतको निम्ति एसकेएम र गोलेका समर्थकहरूले स्वयं तयारी गरेर आफ्नै खर्चमा स्वंयसेवी रूपमा राजधानी आएर नेताको स्वागतको तयारी गरिरहेको पनि उनले बताए। भोलि कारावासबाट निस्किएपछि रोङ्गेकमै एउटा पार्टी कार्यालय उत्घाटन गरेर जनताको स्वागत गर्दै सिङताम बजारसम्म पुग्नेछन्। जहाँ आयोजित जनसम्बोधनको कार्यक्रममा सम्बोधन गरेर सोझै पैतृक घर सोरेङ पुगेर आफ्ना परिवार र मातापितासित बस्ने कार्यक्रम रहेको छ। त्यसपछि तुरन्तै लगातार रूपमा जनसम्पर्कमा सिक्किम भरिको गाउँ गाउँको यात्राको कार्यक्रम अगावै तयार पारिएको प्रवक्ता खालिङले बताएका छन्। अध्यक्षको आगमनपछि गाउँ गाउँमा पुगेर सिक्किम भ्रमण गर्ने कार्यक्रम पश्चिम जिल्लाबाट शुरु हुने पनि बताए। जनतामै पुगेर अध्यक्षले जनताको कुरा लिएर जनताको भनाइ र सोचाईलाई पनि सुन्ने बताए।

अर्कोतिर एसकेएमको अध्यक्षको स्वागतको कार्यक्रमलाई सत्तारूढ एसडीएफका वरिष्ठ अध्यक्ष तथा पूर्व जिल्ला प्रभारी डीबी थापाले साधरण कुरा बताएका छन्। उनल भने एसकेएमको स्वागत जुलुसले केही फरक पर्नेवाला छैन किन भने उनी अपराधिक मामिलामा दण्डित भएर जेलबाट मुक्त भएर आउँदैछन्। जेल पूर्व जिल्लामा भएको कारण कार्यक्रम पनि यहाँ हुँदैछ त्यस्तो कुनै ठूलो कुरा होइन हाम्रो लागी जेलबाट फर्किनु उनले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares