प:आ- द मेकिङ

स्मृतिनामा

प्रवीण राई जुमेली


१९९५ को अन्ततिर ।

जोडिएको अटमनल याद त्यै समयसितको हो । त्यो समयले बेरेको स्थानमा… सायद अ कपल अव हिमालयन बारबेट र केही सिकेडाहरु गाइरहेका थिए । घर माथि र तल देखिने चिलाउने, सिमल, फलेदो, लप्सी….. कुनै पनि रुखमा हुनसक्थे ती स्लिपिङ सङ्गसका उत्पादकहरु । यु मिन sleeping songs ? स्लिपिङ पिल्स त सुनेको तर यो स्लिपिङ सङ्ग्स चैं काँबाट आयो ?

सुन्नुहुने यसको ब्लफिङ !

 

स्लिपिङ सङ्ग्सको लघुआख्यान

टकु माइला भन्थे— जसरी स्लिपिङ पिल्सले निद्रा लगाउँछ त्यसरी नै हिउँद लाग्ने बेलातिर यस्ता हिमालयन बारबेट र सिकेडाका गीतगुञ्जनले झपक झपक पार्छ । निद्रालु पार्छ । स्लिपिङ पिल्स किन्नपर्छ तर यी गीतहरु फ्रि अव कस्टमा पाइन्छन् । अघिल्लोको प्रभाव ज्यानले भोग्नपर्छ तर पछिल्लोले साइकिलाई मात्र प्रभाव पार्छ । माने यसको सारीरिक साइड इफेक्ट्स छैन ।
गुड । गुड गुड । म डक्टर भए यसैलाई प्रेसक्राइब गर्छु— कसले भन्यो कुन्नि तर सुनिएको चैं यस्तै थियो ।

स्लिपिङ सङ्गसको आक्रमणले त म निद्रालु निद्रालु भइरहेको थिएँ । तथापि टकु माइलाभित्र त भावी कल्पनाको इन्थुजियाज्म थिएछ ।
भन्नलागे —प्रवीण !
सिग्रेट पिइरहेका टकु माइलाको काउन्टिनेन्स केही गम्भिर देखियो । आइ मिन सम सिरियसनेस वाज पेन्टेड देयरअन ।

प्रवीण ! यो नोमेनक्लेचरसित जोडिएको ज्यान र सास, टकु माइलासित सधैं भेटिरहने एक मनुवा थियो । आर्ट, सोसाइटि, एडुकेसन, पलिटिक्स र यस्तै के के के….. गफिने हरेक दिनका सब्जेक्टहरु यी । सब्जेक्ट नभनौं, बरु stuff भनिदिऔं क्या ! सुहाउँछ यसलाई । किनकि यै stuff–हरुले त भरजन्म टाउको दुःखाइरहन्छ ।

—एउटा ड्रामा गरौं हैन फेरि ?— अघिल्लो सम्बोधनलाई जोड्ने पछिल्लो वाक्य यस्तो भने उनले । फेरि— माने उनले ‘फेरि’ भने । अङ्ग्रेजीमा अगेन भन्छ क्यारे ! हो त्यै ‘अगेन’–ले बुझाउँछ कि उनीहरुले त्यसअघि पनि नाटकहरु एक्जिक्युट गरिसकेका छन् ।

नाटक गरिएका उनका अघिल्ला दिनहरुमा देवकुमार राई साथ-साथ रहेका थिए । उनले रचेका नाटकीय गीतहरु अझै पनि ती बारबेट र सिकेडाले झैं जुमेली मनुवाहरुद्वारा गाइन्छन् । “घाम, खोला र फूलहरु झैं….”—देवकुमार जोरथाङ भासिएपछि, जुममा नाटक गरिएको सम्झनामा उनले कथा लेखेका थिए यो शीर्षकमा । वीरभद्र कार्कीढोलीद्वारा सम्पादित ‘प्रक्रिया’-मा छापिएको थियो त्यो कथा । पढेका थियौं।

ओके । सल्लाह भयो नाटक गर्ने नै । नाटकीय स्क्रिप्ट बनाउने जिम्मा टकु माइलाले लिए । नयाँ लेख्ने होइन तर गुरुप्रसाद लिखित क्लासिक ‘प:आ’- लाई नै पुनर्लेखन गर्ने । ‘प:आ’ माने ‘परालको आगो’ । अर्थात, हस्बेन्ड एन्ड वाइफबीच हुने ठाकठाक ठुकठुक अस्थायी हो । पेरेन्नियल होइन भन्ने पेडागोजिक सन्देश बताउने क्या !

मान्छ त म्यारिड कपल्स–ले ? अब मानोस् कि नमानोस्– नाटक सो गर्नु हाम्रो ध्येय रह्यो । सो माने show । यसले नै हाम्रो गाउँको कल्चरल स्टान्स बताउने छ भविष्यलाई । हन त्यो पनि बताउँछ के त ? यो एकालापलाई डिकन्सट्रक्ट गर्दै केही वर्ष अघि नै…. इबराले ‘कठपुतलीको मन’ लेखिसकेका थिए । तरै पनि टकु माइला चैं त्यै एकालापको समर्थक बन्न गइरहेका थिए ।

मनोरञ्जन भन्दा बेसी त्यसको मनशाय नहोला । देखाउने दिन तोकियो- २६ जनवरी १९९६ । दुइ महिनापछि । ड्रामाको डाइरेक्सन मलाई जिम्मा लाग्यो । रुरल इन्थुजियाज्ममा रुपान्तरित भइसकेको थियो— ‘प:आ’ । ड्रामा गरिने अरे नि जुममा, हल्लाहरु फुँइकीहरुले ओसार्दै थिए । ल त ठीक छ ।

रिहर्सलको लागि भेला हुन थालियो, पुरानो स्कुलको एउटा बिजार रुममा । माने bizarre room–मा । जहाँ सानामा स्कुल पढ्दा उही टकु माइलाकोबाट धेरैपल्ट पिटाइ खाइएको थियो । ऐले छाडिदिऔं त्यो किरा । कुरा ड्रामाको हो, ड्रामाकै मात्र कुरा गर्नुपर्छ ।

पात्र-पात्राको रोल्स बाँडफाँड गरियो ।
गुरुबाबु शुभधन- चामे ।
स्टुडेन्ट बिन्दिया- गौंथली ।
जुठे दमाई- पुरण ।
जुठेनी- निलम ।
जुठे-जुठेनीको छोरो- पूर्णबहादुर ।
कोकोले- नरबहादुर ।
कोकोलेनी- कमलमाया ।
चामेको ससुरा- प्रेमसिङ ।
र चामेको ससुरी (ए होइन सासु)को रोलमा- कुसुम ।

अन्य पात्र-पात्रा पनि थिए तर यसबेला उनीहरुको नाउँ याद भइरहेको छैन । पछि याद आए, लेखौंला । एबवमेन्सन्ड पात्र-पात्रा मञ्चमा देखापर्नेवाला थिए । भन्नुको तात्पर्य, देखा नपर्ने र पार्श्वमा रही काम गर्नेहरुको लेखाजेखा गर्नै बाँकी छ । पछि गर्दै गरौंला ।

स्क्रिप्ट-लेखक पनि ‘स्पेक्टर अव द ओल्ड रुम’ जस्तै रिहर्सल सेस्सनमा आउनथाले तर त्यसको हार्डकपि हाता लागेको थिएन । सुरु गरेकै थिएनन् उनले क्या ! सिग्रेट पिइरहेका टकु माइलाले डायलग-लेखन कार्य लगभग एक हप्तापछि मात्र सुरु गर्दै थिए । हरेक ५वटा डाइलग लेखिसकेपछि एउटा पानामा चुरोट । माने PANAMA । सुदूरस्थित देश चैं होइन । भनौं, निक्कै खिप्तिपछि फर्स्ट सिनको कागजी प्रति हात लाग्यो । त्यसको अभ्यास गर्दैगर्दा सेकेन्ड सिनको कागजी प्रति आइपुग्यो । सोही रुपले अरु सिनका म्यानुस्क्रिप्टहरु पनि आउन थाले ।

बेलुकीको भोजन ग्रहण गरिसक्नसाथ पुरानो स्कुलको हरिफिक रुममा भेला भइहाल्नपर्ने । त्यसपछि, दिनभरिको कामधन्दाले थाकेका अनुहारहरु आफआफ्ना सम्वादहरु बोल्नलाग्थे । हरेक दिन त्यै हरिफिक रुम, त्यै सम्वाद, त्यै अनुहारहरु ! बोरडमको एउटा अविश्रान्त यात्रा जस्तो थियो नाटकीय कथालाई एक्जिक्युट गर्नु ।

त्यसबेला हामीलाई बर्तोल्त ब्रेख्त अथवा सिके श्रेष्ठहरु याद आएन । मञ्चमा देखापर्ने पात्र-पात्रा बाहेक देखा नपर्नेहरुको सास्तीलाई लिएर पनि नाटकै लेखे अरे सिके श्रेष्ठले । भन्थे, तेस्तो सुनिएको मात्र क्या । अनि ब्रेख्तका नाटकहरु झैं प्रायोगिक केही नयाँ पनि थिएन हामीसित ग्रामीण स्पेक्टेटरहरुलाई देखाउने पनि । छाला चिल्ने विन्टरिस नाइटहरुलाई एउटा रुरल-आर्टमा परिणत गर्ने धोको लिएर अघि बढिरहेका चैं थियौं । पक्कै । हो त्यैबेला हो, प्रवीणको दाहिने भुँडी दुःख्नथाल्यो । ऐले बढ्दैगएको त्यो दुःखाइ क्रोनिक ग्यास्टरो-इन्टराइटिसमा तब्दिल भइसकेको छ । ठीकै छ— ज्यान फाल्ने एउटा बहाना त हुनैपऱ्यो नि, हैन ?

बिहाइन्ड द सिन्स १
पःआ-को नेरेटिव्समा नाटकीय प्रदर्शन गर्न नसकिने धेरै इन्सटान्सेस छन्, जस्तै—
भैंसी दुहेको,
भैंसीले चामेलाई लात हानेको,
लात खाँदा हातबाट दुनेरी छुटेर दूध पोखिएको,
चामेको भैंसी उम्किएर कोकलेको मकैबारी ध्वंस पारेको,
चामेलाई ससुरालीमा पिंढीमा बास दिएको र घरभित्र खाना खाएको–
[एकैसाथ २वटा दृश्य आदि आदि] ।

जुन दृश्यहरु स्टेजको फाँटमा प्रदर्शित गर्न नसकिने प्रकारको थियो, तीहरुलाई अडियो क्यासेटमा रेकर्ड गरी नेपथ्यबाट प्रसारित गरिनुपर्ने । हिमालयन बारबेट र सिकेडाहरु घन्किएको स्वर रेकर्ड गर्न पातले खोल्सामा गई सिमलको बोटमुनि पर्खिबस्नुपर्ने क्या ! टकु माइलाले यस्ता दिनहरु धेरै गाले । भैंसी दुहेको रेकर्ड गर्न बाँसको पिचकारी बनाई रित्तो भाँडामा हान्नुपर्ने । भैंसी कुदेको रेकर्ड गर्न चैं एउटाले अम्लिसोको बोट भाटाले सोथार्दै कुद्नुपर्ने र टेपरिकर्डरधारी चैं सो मसिनि डिवाइस बोकेर पछिपछि कुद्नुपर्ने । हाम्रो यो चर्तिकला देखेर क्याजुअल दर्शकहरु मरीमरी हाँस्नलाग्थे, छेउछाउबाट । बा रे बा !

अर्को एक इन्सटान्स
चामे र गौंथलीको झगडापछि गौंथली माइत चम्पटराम भइसकेकी छे । घरको धन्दा निपटाउन गाह्रो भएपछि चामे ससुराली पुगेको छ स्वास्नी ल्याउन । इबरा-ले कठमुपतलीमा चामेले गौंथली लिन गएको कारण घरधन्दाको गाँठो मात्रै होइन भन्ने देखाएका छन् । उनले भनेका छन् कि त्यसको कारण libido complex पनि हो । उनको कुरा मानेर भन्नु हो भने- लिबिडो-म्यान ऐले ससुरालीमा छ । त्यसको उदाहरण हो सुत्ने बेलामा गौंथली पिसाप फ्याँक्न बाहिर निस्केकी हुन्छे । आफ्नो काम सकेर भित्र जाँदैगर्दा पिंढीमा सुत्नलागेको चामे गौंथलीलाई समात्न झम्टिन्छ । तर गौंथली फुत्केर घरभित्र जान्छे ।

त्यसअघि, डिनर ज्युनार गर्न चामेलाई घरभित्र बोलाइन्छ । हात-मुख पखालिसकेपछि चामे भित्रिन्छ । त्यतिबेला स्टेज खाली हुनेवाला छ । यसको लागि अडियन्स भुलाउन अडियो रेकर्डरको भर परियो । काँसाको थाल-बटुका बजाउँदै भात-तिहुन मुछेको र गाँस निलेको, बिच-बिचमा १-२वटा डाइलग बोलेको सप्पै रेकर्ड गरिनुपर्ने । स्थान थियो– टकु माइलाकै बेडरुम । विमला भाउजु (टकु माइलाकी श्रीमती)ले चैं चामेकी सासुको रोलमा भाँडा-बर्तन बजाउँदै केही बाक्केहरु बोल्नुपर्ने ।

—लु त ज्वाईं नानी चामल चेपुङ है !— टकु माइलाले नाके र चाम्रो स्वर निकालेर बोले ।

विमला भाउजुले भाँडा-बर्तन बजाउँदै त्यै वाक्यलाई सपोर्ट गर्ने अर्को वाक्य बोल्नुपर्ने थियो तर पति परमेसोरको नाके स्वर सुनेर मरीमरी हाँस्न लागिन् । यता मेरो पनि जिम्मामा त्यस्तै केही गर्नपर्ने थियो । विमला भाउजुलाई हेरेर हाँसो रोक्न सकिएन र हाँस्नथालें ।

—अँ नानी भुँइसीले दूध कति दिँदैछ त !— भन्दै सोथ्र्याक सोथ्र्याक भात चप्काएको स्वर पनि निकाल्न लागे टकु माइलाले । विमला भाउजु मुटु मिची मिची झनै हाँस्न लागिन् ।

आफैले सोधेर आफैले नै जवाफ पनि फर्काए टकु माइलाले —इ याँ घुँडाको पाङ्ग्रा गाडीको क्राउन्टेल जस्तो भएको र पुरिनसक्ने आँखाको खोपिल्टा हेरेर पनि था’ पाउनुभएन र ? भुँसीले एति नै धूध दिँदैछ क्या— त्यो थियो लिबिडो-म्यानको चर्को डाइलग टकु माइलाको मुखबाट ।

एकातिर टेपरिकर्डर अन थियो । अर्कोतिर हँसाइको खाप थपियो । त्यसैले सप सप डिस्टर्ब गरिरहेको थियो । टकु माइला मात्र नहाँसिरहेका न्यारेटर मनुवा थियो । यसरी, त्यस दिन काम फत्ते गर्न सकिएन र फेरि अर्को दिन भेला भएर धेरै कोशिष पश्चात मात्रै काम एक्जिक्युट गर्नसकियो ।

बिहाइन्ड द सिन्स २
ड्रामा लगाउन तम्सिएको महिना दिन बितिसकेको थियो । पूर्वाधार भन्छ नि क्या ? हो त्यस्तै “स्टेज” जतिको भन्न सुहाउनेसम्मको त्यस्तो केही पनि थिएन हामीसँग । पात्र-पात्रा, अपात्र-अपात्रा सप्पैले घरबाट एक-एक घाना बाँस र सक्दो केही न केही दिनुपर्ने मतो भयो । बाँकी थोक उठेको चन्दाको रकम खर्चेर बनाउनपर्ने, किन्नपर्ने ।

किन्नपर्नेमा— केही लुगा-फाटा, पर्दाको कपडा, डोरी, बिजुलीको सामान, अडियो क्यासेट्स, रङ्ग, तिर्पाल, गम आदि-आदि ।

बनाउनपर्नेमा— दुइवटा ब्याक स्क्रिन्स, चारवटा साइड स्क्रिन्स, चामेको घर, एउटा फलैंचा, एउटा रुख, पानीको धारो आदि आदि । यी थोकहरु बनाउनको लागि टकु माइला र म खटिनुपर्ने भयो तर ९० % काम चैं मैले नै गर्नुपऱ्यो । मनैमा छ कथा कहानी । आइ मिन हिड्डन क्रोनिकल्स क्या ! बट नट फोरबिड्डन, है ! माने दिन र रात नै खटिनुपऱ्यो।

यता समाजको लागि भन्यो उता घरकाहरु ठुसुक्क परिराखेका हुन्थे । बुढी र रोगी आमा खाना बनाउँथिन् । त्यै खाना विहान खाएर हिंड्यो र रात परेपछि त्यै खाना (चिसै भए पनि) खायो, सुत्यो, फेरि विहान उठ्यो, मुख-सुख धोयो र हिंड्यो । समाजको लागि क्या ! हन कुन समाजको लागि हौ ? ऐले कोही ‘मार्क अव एक्सक्लामेसन’ लिएर देखापरे जवाफ फर्कैउनै गाह्रो गाह्रो । तै समाज भन्थ्यौं । कला भन्थ्यौं । संस्कृति भन्थ्यौं । इन्ट्यान्जिबल स्टफ थिए ती । नदेखिने तर हामी चैं देखिएको जस्तै गरिरहन्थ्यौं ।

पछि पछि बुझ्दा हाम्रै उमेरकाहरु चैं आफआफ्नो सुतीखेतीमा लागिरहेका रहेछन् । हामी चैं पैसा न कौडी समाज निर्माणमा । नोकरी, कन्ट्र्याक्ट, राजनीति, व्यापार— केही पनि थिएन हामीसित । गाडी चढेर आउने, मञ्चमा उभिएर भाषण गर्ने सप्पै सप्पैले हामीलाई उपदेश दिन्थे— समाज सेवा गर्नुपर्छ । हामी मक्ख, हामी पक्क, कि हामी छक्क ? ऐलेसम्मको निर्क्यौल अनुसार चैं सबैभन्दा बेसी नाफा राजनीतिमा रहेछ । त्यसपछि ठूल्ठूला बिजनेस र कन्ट्र्याकट काममा । ल ठीक छ, मरेको बेला सम्झिँदा चैं यी नाफा भनाउँदाहरु केही पनि लान नपाइँदो रहेछ । तब नो दुःखेसो ।

अन्ततः
‘जय भारत जय स्वदेश
प्राणप्रिय मातृभूमि
होस् तिम्रो जय जय जय’–

देवकुमार राईले लेखेको गीतगुञ्जनबाटबाट सुरु भएथ्यो नाटक । सो गीतमा देवकुमारले लेखेको ‘सिक्किम’-लाई ‘भारत’-ले स्थानापन्न गरेको थियो । पछि गरिएको हेरफेर त्यो ।

२४ जनवरी १९९६-सम्म स्टेज तयार गरियो । जम्मा १४ सिनको ड्रामाको विजुअल डकुमेन्टेसन गर्नको लागि सिलगडीबाट मान्छे बोलाइयो । २५ जनवरीको दिन फाइनल रिहर्सल भयो । २६ जनवरीमा प्रदर्शित सो ड्रामा बेजोड भयो अरे । भन्नेहरुले त्यसो भने क्या ! २७ जनवरीमा मुसलधारे झरी वैरियो र विडियोग्राफि बाधित बन्यो । तरै पनि शुभधन, बिन्दिया, निलम, पूरण, प्रेमसिङ, पूर्णबहादुर र अन्य पात्र-पात्राको बेजोड अभिनयले जीवन्त भइउठेको थियो पःआ, अर्थात “परालको आगो” । मैले भनेको होइन, दर्शक-मनुवाहरुले भनेको । बिच-बिचमा देखाइएको नाच-गानाको रमझम अलग्गै । बिहाइन्ड द सिन रही हातले सगाउने दिवस, खिमत, कर्णबहादुर, प्रकाश आदिको सम्झना नगरिए अधुरो होला बखान । सायद त्यसपछि जुममा कुनै नाटक भएको छैन । यसको सेरोफेरोमा राइमिङ वर्डहरु भने थपिँदै गइरहेको देखिन्छ, जस्तै—

प्रेम गर्नेहरुको लागि– हुम (दिल हुम हुम करे)
खोज्नेहरुको लागि– फुम (हन फुम छैन)
राजनीती गर्नेहरुको लागि– सामसाम सुमसुम (थाहा पाउँछ नि त)
दुःख गर्नेहरुको लागि– कुम (कालो चोलो कुम-कुममा टालेको)
यस्तै, यस्तै ।।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares