जितेको जितेकै मोर्चाले…

मिरिकमा मोर्चाको हार


मोहन लामा

दार्जीलिङ, 17 मई/2017


जापको पत्तासाफ/ तृणमूल नै दोस्रो वृहत पार्टी/मोर्चाले  गऱ्यो मिरिकमा पुर्नचुनावको माग


दार्जीलिङ पहाड़का चारवटा नगरपालिकामध्ये तीनवटा नगरपालिकामा गोजमुमोकै जीत भयो भने गोजमुमोले मिरिक नगरपालिका आफ्नो हातबाट उम्कायो। यति मात्रै दार्जीलिङ पहाड़मा लगभग 21 वर्ष शासन गर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले पहाड़का चारवटा नगरपालिकाका मोठ 84 वटा वार्डमध्ये एउटै पनि वार्डमा खाता खोल्न सकेन। तरै पनि गोरामुमोसित हातेमालो गरेर यस चुनाउमा भाग लिने राज्यको सत्तारूढ़ दल तृणमूल काङ्ग्रेसले मिरिक नगरपालिकामा आफ्नो वर्चस्व कायम गऱ्यो भने दार्जीलिङमा यस पार्टीले केवल वार्ड नम्बर 31 मात्रै आफ्नो हातमा लिनसक्यो।

आज भएको मतगणनाअनुसार, गोजमुमोले दार्जीलिङका 32 वटा वार्डमध्ये 31 वटामा आफ्नो जीत दर्ता गऱ्यो भने खरसाङका 20 वटा वार्डमा 17, कालेबुङका 23 वटा वार्डमध्ये 18 वार्डमा आफ्नो जीत दर्ता गरे पनि मिरिकका 9 वटा वार्डमध्ये केवल 3 वटा वार्डमा मात्रै जीत हासिल गरेर गोजमुमोले मिरिक नगरपालिका आफ्नो हातबाट फुत्काउन परेको छ। समग्रमा दार्जीलिङ पहाड़का चारवटा नगरपालिकाका 84 वटा वार्डमध्ये गोजमुमोले 83 वटा वार्डमा आफ्नो उम्मेद्वार खड़ा गरेको थियो भने यीमध्ये 69 वटा वार्ड गोजमुमोको झोलीमा आएको छ।

यसरीनै तृणमूल काङ्ग्रेसले आफ्नो पार्टीबाट मोठ 61 जना प्रार्थी मैदानमा खड़ा गरेको थियो भने गोरामुमोले 23 जना उम्मेद्वार उठाएको थियो। तर तृणमूल काङ्ग्रेसले 61 वटा वार्डमध्ये केवल 12 वटा वार्डमा मात्रै जीत हासिल गरे पनि मिरिकमा सबैभन्दा अधिक 6 वटा वार्डमा जीत दर्ता गरेर यस नगरपालिकामा आफ्नो जीतको झण्डा फहराउन सफल बनेको छ। तर गोरामुमोले उठाएका 23 जना उम्मेद्वारमध्ये एकैजना उम्मेद्वारले पनि जीत हासिल गर्न सकेन।

यस्तै अवस्था कालेबुङमा जनआन्दोलन पार्टीको भएको स्पष्ट छ। जनआन्दोलन पार्टीको जन्मथलोनै कालेबुङ हो, तर कालेबुङ नगरपालिकाका मोठ 23 वटा वार्डमध्ये केवल 2 वटा वार्डमा मात्रै जाप प्रार्थीको जीत हुनुबाट कालेबुङमा पनि जापको जनाधार धेरै घटेर गएको स्पष्ट भएको छ। यी पहाड़का चारैवटा नगरपालिका चुनाउको परिणामअनुसार, तृणमूल काङ्ग्रेसले केवल 12 वटा मात्रै आसन हत्याए पनि दार्जीलिङ पहाड़मा तृणमूल काङ्ग्रेसनै दोस्रो वृहत रातनैतिक दल बनेर अघि आएको स्पष्ट भएको छ। यसैबीच, गोजमुमो अध्यक्ष विमल गुरूङले दार्जीलिङ, खरसाङ र कालेबुङ नगरपालिकामा पार्टीको जीतलाई जनताको जीत हो भन्ने बताए। तर मिरिकमा पुनः मतदान गर्नुपर्ने माग गर्दै उनले यसको लागि दार्जीलिङकी जिल्लापाललाई पनि पत्र दिएको बताए।

उनले भने-दार्जीलिङ पहाड़को नगरपालिका क्षेत्रका जनताले गोजमुमोलाई अन्तिम मौका प्रदान गरेको छ, अब गोजमुमोद्वारा गठन गरिने नगरपालिका बोर्डहरुले सबैसित राम्रोसित तालमेल मिलाएर विकासको कार्य गर्नुपर्छ। तरै पनि गोजमुमोले दार्जीलिङ, खरसाङ अनि कालेबुङ नगरपालिकामा जीत हासिल गरेको छ र यो जीत पहाड़का जनताको जीत हो।

बङ्गाल सरकारले दार्जीलिङ पहाड़का जनतालाई छिन्नभिन्न बनाउने जुन षड़्यन्त्र गरेको थियो, त्यसको जवाब हो यो जीत। तर मिरिकमा तृणमूल काङ्ग्रेसले गुल्चे गरेर जीत हासिल गरेको छ, किनभने मिरिक नगरपालिकाको मतगणना 10 मिनटमानै पूर्ण भएको थियो। 10 मिनटमा कसरी मतगणना पूर्ण हुन्छ, यसमा पक्कै षड़्यन्त्र भएको छ, यसैले मिरिक नगरपालिकामा पुनः मतदान हुनपर्छ, उनले माग गरे। यसरीनै दार्जीलिङ हिल तृणमूल काङ्ग्रेस अध्यक्ष राजेन मुखियासित सम्पर्क गर्दा उनले मिरिक नगरपालिकामा तृणमूल काङ्ग्रेस पार्टी बोर्ड गठन गर्न सफल बन्ने भएकोमा खुशी व्यक्त गर्दै तृणमूल काङ्ग्रेसले पहाड़मा सत्तामा आउन शुरूआत गरेको बताए। तरै पनि पार्टीका हेविवेट उम्मेद्वारहरु क्रमै दार्जीलिङका एनबी खवास. शारदा राई सुब्बा, मिलन डुक्पा, खरसाङकी पूर्व विधायिका शान्ता छेत्री आदिको हार सम्बन्धमा सोध्दा उनले भने-चुनाउमा हार-जीत हुन्छनै।

मिरिकमा गोजमुमो हारेको छ भने तृणमूल काङ्ग्रेसले जितेको छ। तब के तृणमूल काङ्ग्रेस हारेका नगरपालिका क्षेत्रमा पुनः मतदान गर्ने माग गर्नु उचित हो? दार्जीलिङ, खरसाङ र कालेबुङमा तृणमूल काङ्ग्रेसको हार भएको छ, यस हारलाई पार्टीले सहृदय स्वीकार गर्छ। यस्तैप्रकारले गोजमुमोले पनि मिरिक नगरपालिकामा भएको हारलाई स्वीकार गर्नुपर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन