खरसाङमा राजनैतिक हिंसा, 4 मोर्चा समर्थक घाइते

खबरम्यागजिन खबरदाता

खरसाङ, 17 मई/2017


 खबरदाता खरसाङ, 17 मई। नगरपालिका चुनाउको परिणाम सार्वजनिक भएलगत्तै खरसाङमा राजनैतिक हिंसाको घटनाको प्रकाशमा आएको छ। यो राजनैतिक 4 हिंसाको घटनामा जना मोर्चा समर्थकहरू घाइते भएका छन्, जसको उपचार अहिले खरसाङ महकुमा अस्पतालमा चलिरहेको छ। घाइतेहरूमा सुशिला प्रधान (40), नीता तामाङ (37), रिता थापा (47) र गणेश थापा (66) छन्। सुशिला प्रधान वार्ड नम्बर 20 -की हुन् भने अन्य वार्ड नम्बर 19 का हुन्।
 
यो कुटपीटको घटनामा तृणमूल समर्थकहरू संलग्न रहेको मोर्चाले आरोप लगाएको छ भने यसबारे खरसाङ थानामा प्राथमिकी पनि दर्ता गरेको छ। चुनाउ परिणाम आएलगत्तै बिहान वार्ड नम्बर 16 र 17 मा सामान्य तनाउ देखिएको थियो। यद्यपि दुवै दलका कार्यकर्ताहरूले आ-आफ्नो सुरुबुरू समातेपछि यी दुइ वार्डमा यो तनाउ हटेर सामान्य बनेको थियो।
 
यसपछि वार्ड नम्बर 20 मा तनाउ देखियो। मतगणना केन्द्र खरसाङ महकुमा कार्यालयबाट विजयी ऱ्याली निकालेर स्थानीय चानबारी आर्मी क्याम्प नजीक पुगेपछि आफ्ना समर्थकहरूमाथि ढुङ्गा-मूढ़ा भएको, जसमा सुशिला प्रधानको टाउकोमा चोट लागेर घाइते भएकी आरोप गोर्खा जनमुक्ति मोर्चाले लगाएको छ। घाइते प्रधानले खबरम्यागजिनलाई बताएअनुसार जुन ठाउँमा माथिबाट ढुङ्गामूढ़ा गरियो त्यस ठाउँमा तृणमूल कङ्ग्रेसका 30-35 समर्थकहरू थिए।
 
घाइते भएकी मोर्चा समर्थक प्रधानले तृणमूल समर्थक रोशन तामाङ र पूजन गुरूङविरुद्ध प्राथमिकी दर्ता गरेकी छन्। उनको टाउकोमा चोट लागेको छ भने हाल खरसाङ अस्पतालमा उपचार चलिरहेको छ। घाइते प्रधान नयाँबस्ती निवासी हुन्। यता, पुलिसले पनि घटनाको पुष्टि गर्दै यसबारे गहन छानबीन चलिरहेको बताएको छ।
 
अर्कोतिर वार्ड नम्बर 19 –को ढाड़ गाउँमा तृणमूल समर्थकहरूको कुटपीटमा 3 जना घाइते भएका छन्। घाइते हुनेहरूमा नीता तामाङ, रिता थापा र गणेश थापा छन्। घाइतेद्वय नीता तामाङ र रिता थापाले घटनाबारे जानकारी गराउँदै आरोप लगाएअनुसार यो कुटपीटको घटनामा तृणमूल समर्थकहरूको संलग्नता छ। घाइतेद्वय दिएको जानकारी अनुसार उनीहरू गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) समर्थक हुन्। यद्यपि यसपटकको नगरपालिका चुनाउमा जाति र माटोका लागि गोजमुमोलाई उनीहरूले समर्थन गरेका थिए।
 
गोजमुमोलाई समर्थन गरेपछि नै तृणमूल कङ्ग्रेस प्रार्थी पराजित भएको भन्दै आफूहरूलाई एक्कासी तृणमूल समर्थकहरूले कुटपीट गरेको हो भन्ने आरोप घाइतेद्वय नीता तामाङ र रिता थापाले लगाएका छन्। यो वार्डमा तृणमूल प्रार्थी निशा मोक्तान केवल 7 भोटले पराजित भएकी थिइन्। उनलाई मोर्चा प्रार्थी देवकी प्रधानले पराजित गरेकी हुन्। मोर्चा प्रार्थीले 287 मत पाइन् भने तृणमूल प्रार्थीले 280 मत। यहाँको खरसाङ अस्पतालमा तीनै घाइतेहरूको उपचार चलिरहेको छ। घटनाबारे खरसाङ थानामा आरोपीहरूविरुद्ध प्राथमिकी दर्ता गरिएको छ। घटनास्थलमा पुलिस बल पुगेको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन