रेमिटल्याण्ड डिस्कोर्स

‘रेमिटले सिमेन्टको पक्का घर त खडा गरिरहेको छ, तर सम्बन्धका घरहरू भने भत्किरहेको छ’

केही दिन अघि कान्तिपुरका पर्वत पोर्तेल, रेमिटल्याण्ड उपन्यासका लेखक श्याम सिङ्घक, लेखक जितेन मुस्कान अनि कवि विराट किराँती कालेबुङ आए। उनीहरू आएको मौकामा ‘क्याफिन एण्ड कपिज’-का सर्जकहरू निशा छेत्री, उमेश परियार, सङ्गीत नेम्बाङ, पुकार पारदर्शी, मनोज बोगटीलगायत पुरण छेत्री, विपल रसाइलीहरूको समूहले उनीहरूसित अनौपचारिक बहस गऱ्यो।

रेमिटल्याण्डका सर्जक श्याम सिङ्घकले उपन्यासले तयार गर्न खोजेको डिस्कोर्सलाई केन्द्रमा राखेर चारैजना सर्जकहरूलाई ‘क्याफिन एण्ड कपिज’- सदस्यहरूले विभिन्न प्रश्नहरू राखे। त्यही बहसका केही अंश यहाँ प्रकाशित गरिरहेका छौं-


किन नेपालमा आख्यानतिरै सबै तानिएका?

श्याम सिङ्घक : नेपालमा बिक्रीको हिसाबले आख्यान नै धेर प्रकाशित हुन्छ। पाठक पनि आख्यानले धेर पाउने भएकोले पनि यसो भएको हो। धेरै कविहरूलाई प्रकाशकले यही कारण पनि आख्यान लेख्न लगाएका पनि छन्। धेरै प्रशिद्ध कविहरूको मात्र कविता सङ्ग्रह प्रकाशित गरिन्छ तर ठिकैखाले आख्यान लेख्नेहरूको पुस्तक पनि छापिने गरेको छ।

प्रकाशकले बजार र नाफालाई हेरेर यसरी लेख्न लगाउँदा साहित्यिक गुण र स्तरीयतासहितको पुस्तक आउने सम्भावना कम बन्दैन र?

श्याम सिङ्घक : यस्तो सम्भावना पनि बन्छ। धेरै नाम चलेका कला, रङ्गमञ्च, मिडियातिरका सेलिब्रिटीहरूसमेतलाई लेख्न लगाउने परम्परा बनिसकेको छ। बिजयकुमार, मदनकृष्ण-हरिवंश, बिनिता बरालहरूसमेत लेखक बनेका छन्। ती प्रकाशकहरूले नै बनाएका लेखक हुन्। प्रकाशकहरूले नाफा हेर्ने हो। नाफा जेमा हुन्छ, त्यही लेख्न लगाउने परम्परा पनि नेपालमा शुरु भइसकेको छ। लेखकहरूको हकमा भने प्रकाशकले नाफा र बजार हेरेर लेख्न लगाए पनि निर्णय गर्ने स्वाधिनता लेखकसितै छ। लेखकहरूलाई आफ्नो कृतिको ओजनअनुसार अथवा साहित्यिक मूल्यको आधारमा पुस्तक छाप्ने-नछाप्ने छुट त छ। अन्तिम निर्णय त लेखकसितै हुन्छ।

तपाईँलाई चाँही आख्यान लेखन केले आकर्षित गरेको हो?

श्याम सिङ्घक : नेपालमा लेखक बन्ने रहर धेरैसित छ। तर रहरले नै मात्र त पुग्दैन। पाठकसमाजलाई केही नयाँ कुरा, नयाँ दृष्टि, नयाँ विषय, नयाँ दर्शन दिन्छु भनेर पनि नयाँ लेखकहरू आइरहेका छन्। अहिलेसम्म नआएको अथवा सबैले देखेको तर कसैले नलेखेको कुरा लेखनमा ल्याउँछु भनेर पनि आइरहेका छन्। म पनि यस्तै सोचेर लेखनमा आएको हुँ।

भनेपछि तपाईँको रेमिटल्याण्डमा नौलो केही पाइन्छ

श्याम सिङ्घक : देश निर्भरशील रहने एउटा पाटो रेमिट्यान्स पनि हो नेपालमा। पहिले खेतीपाती गर्ने, अन्न उप्जनी गर्ने, त्यही खाने, गाईवस्तु पाल्ने, त्यही बेचेर आफ्ना आवश्यकताहरू पूरा गर्ने गरिन्थ्यो। तर अहिले स्थिति त्यस्तो छैन। नेपालका हरेक घरकाजस्तो सदस्य विदेश जान्छन्। मेरै श्रीमतीसमेत इज्रायल गएकी छन्। परिवार धान्न जुन आर्थिक सङ्कट छ, त्यसले पनि विदेश जानैपर्ने बाध्यता नेपालीसित छन्।

चालीस लाखभन्दा धेर नेपाली विदेशमा छन्। यो विदेश जाने-आउनेबीच धेरै नयाँ किसिमका सम्बन्धका चरित्रहरू देखापरेको छ। जीवनलाई हेर्ने, भोग्ने सवालमा पनि धेरै फरक चरित्रहरू निर्माण भइसकेको छ।

सोच्ने शैली फरक बनिसकेको छ। सम्बन्धहरूमा विचलन, विश्रृङ्खलता घुसिसकेका छन्। सम्बन्धहरू नयाँनयाँ आयामले परिभाषित बनिसकेका छन्। धेरै ठूलो हिस्सामा आइरहेको यो चेतनाको स्तरको, मानिसक परिवर्तन, मिश्रित संस्कृति, सभ्यतालाई स्वीकार्ने समाज भने जन्मिसकेको छैन।

ती नयाँ सम्बन्धहरूलाई पुरानौ सम्बन्धका संस्कृतिको आधारमा व्याख्या गरिन्छ। यसो हुँदा समस्या अझ जटिल बन्दै गइरहेको छ। तर रेमिट्यान्स कल्चरले नयाँरूपको जुन आफ्नै समाजको प्ररूप बनाउँदैछ, त्यसलाई स्वीकार्नु पर्छ अनि त्यसका व्यवस्थापनका फरकफरक बाटोहरूको खोज गरिनुपर्छ। रेमिट्यान्सले भित्राएका चिन्तनका, जीवनका, दर्शनका, मानसिकताका नयाँ चरित्रहरूलाई अब समाजले स्वीकार गर्नुपर्छ। स्वीकारेपछि नै त्यसका व्यवस्थापनका बाटो खुल्छ भन्ने बहस रेमिटल्याण्डले उठाउन खोजेको हो।

रेमिट्यान्सले ल्याएको सामाजिक परिवर्तनहरू त विकृतिसहितका होलान्, त्यसलाई पनि स्वीकार गर्नु?

श्याम सिङ्घक : नस्वीकारी त त्यसलाई सामाजिक ढाँचामा व्यवस्थापन गर्ने नयाँ बाटो नै खुल्दैन।

तपाईँ नेपालको लेखन संस्कृतिलाई नजिकबाट हेर्नुहुन्छ, कस्तो हो कविता र आख्यानको अवस्था ?

जितेन मुस्कान : यस्तो पनि हो, पहिले बढि कविता नै निस्किन्थ्यो। तर द्व्न्द्वको बेला थोरै मात्र कविताका किताब आए। विदेशी किताब भित्राउन दिइएन। द्वन्द्वपछि पल्पसा क्याफे आयो। द्वन्द्वले तयार पारेको सामाजिक मनोविज्ञान पल्पसा क्याफेले केहीसम्म खोतल्यो। भोको पाठक समाजलाई आख्यानतिर तान्न यस किताबले ठूलो भूमिका निर्वाह गऱ्यो। त्यसपछि कर्णाली ब्लुज आयो। मिडिया पनि शक्तिशालीरूपले अघि आयो। बजारमा चलेका किताबहरूलाई बहसतिर लग्यो। पाठकहरू आख्यानमा आकर्षित बन्दै गए। यही क्रम बढ्दै गएर आख्यानले आफ्नो स्पेस तयार गरेको हो।

कविता कलात्मक कुरा भयो। आम समाजमा कलाचेत उस्तो नरहने हुँदा पनि कविताभन्दा धेरै प्रभाव आख्यानले पार्ने भयो। जीवनकै कुरा पनि कविताले केही जटिलरूपले भन्ने भयो। आख्यानले त्यही जीवनको कुरा सरलसित भनिदियो। आख्यानले पाठक समाजको निर्माणमा ठूलो काम गरेको छ।

प्रकाशकहरू पनि आख्यानतिरै तानिए। यहाँसम्म कि पाठकसमाज कुमार नगरकोटीका फ्यान्टासीसम्म पढ्नेसम्म बनियो। सुबिन भट्टराईका रुमानी कुरा पनि पढ्ने बनियो। आख्यानले पनि पाठक समाज तार्गेट गर्न थाल्यो। समाजमा कस्तो भ्रम जन्मियो भने, कविमात्र बनेर जीवन धान्न नसकिने भयो। लेखेरै पनि बाँच्न सकिन्छ भन्ने समाजको निर्माण भइसकेपछि कविता लेख्नेहरूको निम्ति त्यो सम्भव नहुने भयो। बजारले पनि विधागत लेखनमा धेरै ठूलो असर गर्छ भन्ने त यहीँबाट नै बुझिन्छ।

किताब लेखिसकेपछि  लेखकहरूबारे पनि धेरै भ्रम र यथार्थ मिश्रित कुराहरू आए। कोही लेखेर बाँच्न सक्ने उदाहरणकोरूपमा, कोही नसक्ने उदाहरणकोरूपमा। त्यसो भएर पनि कविहरू आख्यानतिर आकर्षित बनेका हुन्।

धेरै कविहरू जीवन धान्छु भनेरै आख्यानमा छिरेका हुन्। तर उनीहरू कविता पनि लेखिरहेकै छन्। उपेन्द्र सुब्बाको खोलाको गीत, मनु मन्जिलको ल्याम्पपोष्टबाट खसेको जुन-हरू धेरै पढिएका किताब हुन्। मूल्यसहितको कृतिहरू यसरी व्यवसायिक बन्दै जानु राम्रै हो। तर अब कविता मात्र लेख्ने कविहरू आख्यानतिर तानिसकेका छन्। पाठकको निम्ति त यो सुखद कुरा नै हो। हाम्रा श्याम सिङ्घकहरू पछिल्लो समय द्ह्रोगरि देखापरेका छन्।

भारतमा भारतीय साहित्य भनेर हिन्दी साहित्यको प्रचार हुने गरेको छ, जब कि सबै भाषाका साहित्यको समुच्चरूप भारतीय साहित्य हो। नेपालमा चाँही कस्तो छ?

विराट किराँती : नेपालमा पनि उस्तै हो। नेपालीले नेपाली भाषा साहित्यलाई हेर्ने नै भयो, तर नेपालमा पनि विभिन्न जाति छन्। उनीहरूको आफ्नै भाषा छ, साहित्य छ, संस्कृति छ। नेपाली साहित्यले ती सबैलाई सम्बोधन गर्दैन। उनीहरूको साहित्य अहिले पनि पछि परेको छ। श्रवण मुकारुङ प्रतिष्ठानमा आउनु भएपछि यसबारे काम हुन थालेको छ।

हामीलाई पनि लाग्छ, सत्ताले पछि पारेका जातिका भाषा, साहित्य, संस्कृतिलाई पनि देशको मूलधारमा ल्याइनुपर्छ। नेपाली साहित्य भन्दैगर्दा उनीहरूको साहित्य पनि सम्बोधित हुनुपर्छ। तर काम हुँदैछ।

तपाईँ नेपालभारत सिमामा हुनुहुन्छ, दुवैतिरको नेपाली साहित्यलाई कसरी हेर्नुहुन्छ?

पर्वत पोर्तेल : भौगोलिकरूपमा पर भए पनि सांस्कृतिक, भाषिकरूपमा एकै भएकाले साहित्यमा सम्बोधन हुने कुराहरू मिलेको लाग्छ। भारतीय नेपालीमा पनि फरक धार, विषय र शैलीका किताबहरू आइरहेका छन्। नेपालमा पनि यस्तै छ। जस्तो, श्याम सिङ्घककै रेमिटल्याण्डलाई हेरौं, आर्थिक-सामाजिक सङ्घर्षले जीवनका द्वान्द्वहरूका चरित्र निर्माण गर्ने कुरा यो किताबले गर्छ। वैदेशिक रोजगारीका संस्कृतिले नेपाली समाजमा अन्य सामाजिक विकृति, अन्य सामाजिक सौन्दर्य पनि भित्राइरहेको छ।

रेमिटले सिमेन्टको पक्का घर त खडा गरिरहेको छ, तर सम्बन्धका घरहरू भने भत्किइरहेको छ। यसलाई यति कै छाड्ने कि यसलाई स्वीकार गर्ने भन्ने सवाल किताबले उठाएको छ।

देशमा यो एउटा जटिल र मुख्य समस्या हो। यसले भित्राएका सबल पक्ष र नकारात्मकतालाई व्यवस्थापन गर्ने कि नगर्ने? यो प्रश्न उठाइरहेको छ। यो समस्या त नेपालको मात्र होइन। भारतको पनि हो। अन्य राष्ट्रहरूको पनि यो समस्या हो।

दुवैतिर यसरी सर्जकहरू आआफ्नै मुद्दामाथि काम गरिरहेको देख्छु।

तर संसार औंलाको टुप्पोजत्रो छ भनिन्छ। ग्याजेटहरू आयो, सोसल मिडियाहरू छन्, मूल्य मान्यता, विश्वास, प्रेमका सवालहरू छन्। सोसल मिडिया जीवनमा अभिन्न बनिसकेको छ भनिन्छ। फेरि सम्बन्धहरूको घर किन भत्किरहेको हो?

श्याम सिङ्घक : हो, तर नेपाल आर्थिक-सामाजिकरूपले विकसित छैन। प्राविधिकरूपले भर्खरै विकास गर्दैछ।  यस्तोमा सोसल नेटवर्कहरूले पार्ने प्रभावको रेसियो धेरै नकरात्मक, थोरै सकरात्मक छ। लोग्ने वा स्वास्नी विदेशमा छन्। परिवारलाई पैसा पठाइरहेका छन्। परिवारको इच्छाहरू पुरा भइरहेकै छ। तर भौतिकरूपमा चाँही नजिक छैनन्। यसो हुँदा मनोवैज्ञानिकरूपले सम्बन्धहरूमा विचलन आउनु स्वाभाविक हो। यस्तोमा सोसल मिडियाले खेल्ने भूमिका अनेकौं चरित्रका हुन्छन्। तर अधिकांश सोसल मिडियालाई यस्तोमा दुरुपयोग भएकै धेर देखिन्छ।

मानिसहरूको इच्छाका आयम निश्चित हुँदैन। यो निक्कै अमुर्त हुन्छ। एउटा पुरा हुँदा अर्को अपुरा बन्छन्। रेमिटल्याण्डका नागरिकहरूमा यो विऋङ्खलता हुनु स्वाभाविक हो। सबै रहर, इच्छा पुरा नहुँदै नै सम्बन्धका घरहरू भत्किने हो। त्यसमा सोसल मिडियाले पनि सहयोग गरेकै छ।

यसको सामाधान के हो त?

श्याम सिङ्घक : यसको समाधान अहिले नै यही भने भन्नत सकिन्न। तर रेमिट्यान्सले निर्माण गरिराखेको एकखाले समाजलाई स्वीकार चाँही गर्नुपर्छ। रेमिट्यान्सले आफ्नै प्रकारको संस्कृति नेपाली समाजलाई दिइरहेको छ। यसलाई स्वीकारेर यसका चरित्र, मूल्य र अन्तरविरोधहरू केलाइनुपर्छ। त्यसपछि नै यसका सामाधानका बाटोहरू बनिँदै जाने हो।

यसबारेका शिक्षाका क्षेत्र, साहित्यका क्षेत्र, सचेतनाका क्षेत्रमा कामहरू हुनुपर्छ। वैदेशिक रोजगारमा रहेकाहरूका परिवारलाई पनि उनीहरूसितै बस्नदिने परिवेश तयार पार्न सकिन्छ, कि सकिँदैन। कम्पनी, सरकारले यताबाट पनि हेर्नु पऱ्यो। वैदेशिक रोजगारमा लागेका परिवारसित जुन दुरत्व बनिन्छ, समस्या त्यही भ्याकुमले तयार पार्ने हो। त्यो भ्याकुम मेटाउन सकिन्छ कि सकिन्न? यहाँ पनि बहस चाहिन्छ।

तर विदेश जाने त जानेको व्यक्तिगत रोजाईको कुरा होइन र?

श्याम सिङ्घक : हो, तर कोरियामा अहिले काम गर्न आउनेहरूको परिवारसित कसरी उनीहरूलाई जोडिराख्न सकिन्छ भन्नेबारे सोच्न थालिएको छ। परिवार साथमा नहुँदा कर्मचारीहरूको मानसिक संसारमा जुन नैराश्यता वा डिप्रेसन आउँछ अथवा लगावमा समस्याहरू आउँछ, यसलाई व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे सोच्न थालिएको छ। सरकार र कम्पनी मिलेरै यो गर्न सकिने हो। गल्फ देशहरूमा अहिले नै सम्भव नहोला तर कोशिश त गर्नैपर्छ।

वैदेशिक रोजगारको विकल्प देशमा नबनेकोले पनि यो समस्या जटिल बनेको होइन त?

श्याम सिङ्घक : विदेश जानु सपना हो। अर्थनीतिसित जोडिएको कुरा हो। हरेक मानिस आफ्ना सपना खोज्दै जहीँ पनि जान पाउनुपर्छ। कुनै पनि देश अहिले नै रोजगारका सारा अवसरहरूलाई सम्बोधन गर्न सक्षम पनि हुँदैनन्।

यस्तोमा सर्जकहरूको दायित्वको कुरा कस्तो आउँछ?

जितेन मुस्कान : यो स्कूल अफ थटको कुरा पनि हो। जस्तो मुना मदन। देवकोटा शिक्षा मन्त्री थिए। उनले सम्भावनाहरूको खोज गर्नुको साटो, कलकारखाना वा रोजगार निर्माणका अवसरहरू खोजेर आर्थिक प्रगतिका बाटो देखाइदिएको भए मदन भोट जानु पर्दैन थियो।

मदन भोट गएपछि त्यसले दिने आम मनोविज्ञान भनेको ‘यो देशमा केही नहुने रहेछ, विदेश त जानै पर्ने रहेछ’ नै हुने भयो।

मलाई लाग्छ, लेखकले देश निर्माणको बाटो, अवसरहरूको निर्माणका बाटो पनि खोजिदिनुपर्छ। गाइड गर्नुपर्छ। सेन्टिमेन्ट मात्रै लेख्ने कुरा हो र? उसको कृतिले भोलि समाजलाई के दिन्छ? त्यतातिर पनि लेखकहरूको चेत हुनुपऱ्यो।

देवकोटा साग र सिस्नु खानुलाई आनन्द बताइदिन्छन्। भगवत गीता ‘आजमा भरोसा गर, परिणतिको आशा नगर’ भनिदिन्छ। परिणति नै नआउने हो भने आजलाई के भरोसा गर्नु?

हनुमान उतिखेरै उड्यो। हरेकभित्र उड्ने शक्ति छ, भनेको हो नि त्यो त। लेखकहरूले यतातिर पनि हेर्नु पऱ्यो। सरकार करप्ट होला, देश छैन। देश बनाउन हरेकलाई नयाँ बाटो प्रदान गर्नेसहितको लेखनको आवश्यकता चाँही अहिले पनि छ।

जस्तो भारतमै पनि अटल बिहारी बाजपेयीको बेलामा मेट्रो, माइक्रो, आकासे रोडहरूको कुरा आयो। अब्दुल कलामहरूले पनि त्यसैलाई पछ्यायो। देश बनाउने मास्टर प्लानहरू बनिए। तर नेपालमा बढी गफ गरियो। जस्तो पानीको स्रोतमा धनि देश हो नेपाल, ब्राजिलपछि नेपालको नाम आउँछ। तर कविहरू कस्तो भने जस्तो नवराज पराजुलीकै कुरा गर्ने हो भने पनि, ‘यो देश जलस्रोतमा दोस्रोमा आउँछ होला, त्यसलाई पर राखौं तर अहिले भने मरुभूमिमा छोरोलाई एक घुटका मिनिरल पिलाउन आएको छु’ भनिदिन्छन्।

हामीले स्रोतहरूलाई त्यसरी लात मारिदिने? त्यो स्रोतको प्रयोग र सम्भावनाको खोजीबारे चाँही केही नबोलिदिने? समस्या यो पनि हो।

तपाईँ चाँही कसरी हेर्नु हुन्छ यसलाई?

श्याम सिङ्घक : त्यो त आआफ्नै विचारको कुरा भयो। जस्तो म, देशलाई यसरी बनाउ, उसरी बनाउ भन्दिन। सबैले सबै प्रकारले लेख्छन्। लेख्नु पनि पर्छ। आफूलाई ढाँट्नु हुँदैन। सबै अरुन्धति रोय हुनुपर्छ भन्ने छैन, कोही त चेतन भगत पनि हुनैपऱ्यो। सबैको आफ्नो विचार आउनु पर्छ। साहित्य भनेको मोरल इथिक्समात्र पनि होइन, न त करिकुलममात्रै पनि हो। यसको आयाम त विशाल छ।त्यही विशालतामा साहित्यलाई हेर्नुपर्छ।

मानिसका अनेकौं प्रवृति हुन्छन्। कोही स्वतन्त्र जीवन चाहान्छन्, कोही केही मूल्यहरूले बाँधिएरै बस्न रुचाउँछन्। यी सबैलाई आफ्नो हिसाबले रहने स्पेस हुनुपर्छ भन्ने मेरो मान्यता हो।

रेमिटल्याण्डले दिन खोजेको डिस्कोर्स केही मध्ये यो एउटा पनि हो।


फोटो : विपल रसाइली

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया