‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’

वैरागी काइँला


दार्जिलिङको त्यो समय, कवि अगमसिंह गिरीको थियो । भानुभक्त प्राइमरी स्कुलका प्रधानाध्यापक थिए । उनको स्कुलमा पनि छुट्टीका बेला गोष्ठी र भेटघाट भइरहन्थ्यो । स्कुले विद्यार्थी छँदै पनि भाग लिएको थिएँ ।

धेरै अग्रज भएकाले म उनको छेउ परिहाल्न हच्कन्थेँ । उनको आफ्नै साहित्यिक जमात थियो । साँझ परेपछि नियमित सुरापान गर्थे भन्ने सुन्थेँ । तर, पिएर लरबराउँदै हिँडेको कहिल्यै भेटिनँ । पिएर कसैसँग झगडा गरेको पनि थाहा पाइनँ । पियक्कड त थिए तर भलाद्मी ।

सन् १९५४ मा दार्जिलिङ पढ्न पुगेपछि त्यहाँको वातावरणले मलाई साहित्यतिर घिसार्‍यो । स्कुलको वार्षिक मुखपत्र र होस्टेलमा बस्ने छात्रहरू मिलेर निकालेको हस्तलिखित पत्रिका आँसुले लेख्न प्रेरित गर्दै लग्यो । गिरीकै शैलीमा पनि कविताहरू लेखेँ । छन्दबद्ध कविता पनि लेखेँ ।

उसबेलाका नामचलेका अच्छा राई रसिक र अरू हास्यव्यंग्यकारको सिको गर्दै हास्यव्यंग्य निबन्ध र भारतीमा समस्यापूर्ति कविता लेखेँ । अरू पनि नामी कविहरू थिए तर गिरीका कविताले झैँ विह्वल र आल्हादित तुल्याउन सकेन । स्कुलमा राम्रा गुरुहरूले नेपाली र अन्य विषय पढाए । म पुग्दा सूर्यविक्रम ज्ञवाली प्रधानाध्यापक थिए । बाबुलाल प्रधान, परशुराम रोका, हर्कबहादुर कुमाई, रामचन्द्र गिरी आदि साहित्यकार शिक्षक थिए ।

सन् १९५५ मा गिरीको खण्डकाव्य याद छापियो र १०/१५ प्रति लिएर हामी बसेको कर्माइकल होस्टेलमा गिरीजी अर्का कवि निर्मल प्रधानसँग आएको सम्झन्छु । ‘बेचिदिनू है भाइहरूले’ भनेका थिए । हामीले पनि केही प्रति याद बेचेर सहयोग गरेका थियौँ । करुण रसको त्यो भन्दा मन छुने मीठो कविता त्यसअघि मैले फेरि पढेको थिइनँ–

जीवन क्षणको स्वप्न जगाउँदै

आयो निर्मम याद ।

सधैँ दौरा–सुरुवाल, कोट र टोपी लाउने अगमसिंह गिरीको व्यक्तित्व आकर्षक र प्रभावशाली लाग्थ्यो । उनका प्राय: गीत र कविता नेपाली जातीय भावनाले भरिएका हुन्थे । मुगलान भासिएका नेपालीको दु:ख, पीडा, गरिबी र तिनबाट मुक्तिको चाहले लेखिएका उनका कवितामा आफ्नो भूगोल, माटोप्रति अगाध प्रेम र निष्ठा नै प्राणतत्त्व हुन्थ्यो । नेपालीत्व उनको जीवन र काव्यको आदर्श थियो । सदा शोषित, उत्पीडित र सबै थोकको पहुँचबाट बाहिर सीमान्तमा बाँच्न बाध्य पारिएका पहाडका नेपालीको नागरिक र मानवअधिकार, तिनको जातिप्रेम र अस्तित्वको दाबीका लागि स्वर बुलन्द गर्ने कवि थिए, गिरी ।

माटोको माया बिर्सेर यहाँ जिउनु पो केको सार

पहाडकी रानी दार्जिलिङलाई माया छ बारम्बार ।।

पहिले कमानमा पैसा फल्छ भन्दै नेपालका कुनाकन्दराबाट दार्जिलिङ चियाबगानमा काम खोज्दै नेपालका मानिसहरू पुग्थे । तर, के साँच्चै चियाको बोटमा पैसा फल्थ्यो र ?

नियाली हेर हामीलाई भिजेका छैनन् परेली

आँसुले गह भिजाए . . . अरूले निर्धा सम्झेलान् ।

बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर

अरूका सारमा हाँसेको आँसुका घुट्का पिएर ।

उनका अरू पनि कृतिहरू छापिए । आत्मव्यथा (१९५९), जीवनगीत (१९६०) आँसु (१९६८), युद्ध र योद्धा (१९७०) उनकै जीवनकालमा प्रकाशित कृति हुन् । उनको निधनपछि छापिएको कृति हो, जलेको प्रतिविम्ब रोएको प्रतिध्वनि (१९७८) ।

नौलाख तारा उदाए … गीतका अमर गीतकार अगमसिंह गिरी मात्रिक छन्दमा मात्र नभएर गद्य कविता पनि लेख्थे । उनको तेस्रो आयाम (१) मा ‘ चिहान यहाँ बोलिरहेछ’ गद्य कविता प्रकाशित भयो । त्यस पत्रिकाको पाठक प्रतिक्रियामा गिरीको कविताको टिप्पणी थिएन । त्यसैले उनी हामीसँग रिसाए । … ‘रेलिङमा घस्रँदै मान्छे हिँड्छ, साँझको बेला, आकाशमा बादल लागेको छ ।’

‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’ रिसाएजस्तो व्यंग्य गरे गिरीजीले एक साँझ ममाथि । मैले त नबोली जितेँ । मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला । एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ ।

गिरी साहित्यमा अलिकति मात्र रुचि हुनेका लागि पनि उत्प्रेरक थिए । विभिन्न गोष्ठी आयोजना गर्थे र बोलाउँथे । साहित्यिक गतिविधिका अभियन्ता थिए । त्यसैले दार्जिलिङे साहित्यिक वातावरणमा रमाएका सबै उनको नेतृत्वप्रति अनुगृहीत रहनेछन् ।

प्रस्तुति : रमण घिमिरे/साभार-नेपाल साप्ताहिक (कान्तिपुर)

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares