एसडीएफको पत्रकार सम्मेलन शोक सभामा परिणत, नेता र पत्रकारले राखे शोक मन्तव्य

गान्तोक, 17 अगस्त।


सत्तारूढ एस़डीएफ पार्टीको पूर्व निर्धारित पत्रकार सम्मेलन शोक सभामा परिणत भयो। भारत रत्न अटल बिहारी वाजपेयीको निधनले गर्दा एसडीएफले स्थानीय एक होटलमा आयोजन गरेको पत्रकार सम्मेलनलाई शोक सभाको रूपमा पालन गऱ्यो। एसडीएफ प्रवक्ता भीम दाहालले भने,सामाजिक, राजनैतिक र आरोप प्रत्यारोपका कुराहरूको  निम्ति हामीसित 365 दिन बाँकी छ तर आज देशको निम्ति जुन घड़ी आइपरेको छ त्यो कुरालाई ध्यानमा राख्दै एसडीएफ पार्टीले पूर्व निर्धारित पत्रकार सम्मेलनलाई देशकै राजधर्मका आइकन अटल बिहारी वाजपेयीको निधनले मर्माहत बनेको समयलाई शोक सभाको रूपमा पालन गर्ने निर्णय गरेको छ। यस अवसरमा उनले पत्रकारहरूसितै मिलेर यो शोक सभा पालन गर्ने पार्टीले निर्णय़ गरेको बताउँदै एसडीएफका नेतागण र पत्रकारहरूले संयुक्त रूपमा शोक मन्तव्य व्यक्त गर्दै वाजपेयीलाई श्रद्धाञ्जलि पनि आर्पण गर्ने आह्वान गरेपछि पत्रकार सम्मेलन शोक सभामा परिणत भयो।

शोक सभामा प्रवक्ता दाहालसमेत मुख्यमन्त्रीका कानुनी सल्लाहकार तथा प्रवक्ता केटी ग्याल्छेन, प्रवक्ता तथा ओवीसी आयोगका चेयरमेन टीएन शर्मा, प्रचार सचिव सुश्री कविता सुब्बा, डीबी कटवालले मन्तव्य व्यक्त गरेका थिए। पत्रकारहरूको पक्षबाट प्रेस क्लब अफ सिक्किमका अध्यक्ष जोसेफ लेप्चा, पत्रकार प्रवीण खालिङ र पदम छेत्रीले सम्बोधन गर्दै शोक मन्तव्य राखेका थिए।

प्रवक्ता ग्याल्छेनले स्वर्गीय अटल बिहारी वाजपेयीले देशमा सुशासन र उदाहरणीय प्रधानमन्त्रीको छविलाई स्पष्ट पारेको बताए। उनले अटल बिहारी वाजपेयीले ससंदीय प्रजातन्त्रमा गठबन्धनको सरकारको नयाँ आयम ल्याउने राजनेताको रूपमा रहेको बताए। यसैगरि उनले गैर कांग्रेसी सरकार गठन गरेर सफलतम रूपमा पाँच वर्षको कार्यकाल पुरा गर्ने व्यक्तिको रूपमा  कार्य गर्न सफल भएको तथा समावेशी र लिबरल राजनीति गर्ने व्यक्तिको रूपमा उभिएको बताए।

यसैगरि टीएन शर्माले आफूलाई सधैँ वाजपेयीको राजनैतिक सम्भाषण र कार्यहरूले अभिप्रेरित गरिरहेको बताए। यसैगरि कविता  सुब्बाले आफू सानो छँदादेखि नै वाजपेयीको सम्भाषण र कुराहरू बल्याक एण्ड ह्वाइट टीभीमा हेरेर मान्छे मान्छे भन्दा अर्को नहुनसक्ने कुराको ज्ञान प्राप्त गरेको बताउँदै उनको कार्यले अभिप्रेरणा प्राप्त भएको कुरा राखे। यसैगरि डीबी कटवालले पनि आफ्नो सम्झाना साझा गरे।

पत्रकारको पक्षबाट जोसेफ लेप्चाले सिक्किम भ्रमणको सन्दर्भमा वाजपेयीले एक नेताले पत्रकारहरूप्रति गर्नु पर्ने व्यावहारको उदाहरण स्थापित गरेको तथा प्रत्येक प्रश्नको कुटनैतिक र वाक पटुटाको हिसाबले जवाफ दिएको बताए। यसैगरि उनले वाजपेयी एक सफल पत्रकार पनि रहेको हुनाले सिक्किमेली पत्रकारहरूको पक्षबाट उनीप्रति सधैँ श्रद्धाभाव रहने बताए। यसैगरि पत्रकार प्रवीण खालिङले वाजपेयी एक कुशल कवि रहेको बताउँदै उनको कविताहरूले आफू सधैँ अभिप्रेरित हुने गरेको बताउँदै श्रद्धा अर्पणको निम्ति वाजपेयीकै चर्चित कविता ठन गई मौत से-को नेपाली अनुवाद पाठ गरेर  श्रद्धाञ्जलि अर्पण गरे। अर्कोतिर पत्रकार पदम छेत्रीले वाजपेयीको सिनेमा प्रेमको प्रसंगलाई अघि सार्दै उनले वाजपेयीको कार्यहरूको सराहना गर्दै श्रद्धाञ्जलि मन्तव्य पेश गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares