सेफ्टी ट्याङ्कमा भेटियो दम्पतिको शव : हत्याको आशङ्का

कालेबुङ, 18 अगस्त


पेदोङमा शेर्पा दम्पतिको हत्या भएको अनुमान गरिएको छ। फुर्तेम्बा शेर्पा (69) अनि पत्नि कुसुम शेर्पा (55 वर्ष) को शव सेफ्टी ट्याङ्कीभित्र भेटिएको छ। उनीहरूको हत्या भएको हुन सक्ने अनि हत्याराले शव सेफ्टी ट्याङ्कीमा लुकाएको हुनसक्ने पुलिसले शङ्का गरेको छ।

अहिलेसम्म यसबारे कुनै सुइँको पुलिसले प्राप्त गर्न सकेको छैन। दम्पतिका दुईजना छोरा छन्। तर उनीहरू दुवै घरमा थिएनन्। स्थानीयहरूअनुसार छोराहरू काम गर्न पेदोङ बाहिर नै बस्छन्। दुइमध्ये एकजनाले घरमा हिजोदेखि नै बारम्बार फोन गरिरहेका थिए, तर घरबाट फोन उठेन।

छोराले फोन नउठेको भन्दै नजिकैको आफन्तलाई घर गएर बुझिदिने अनुरोध गरेपछि आफन्त दम्पतिको घर पुगेका थिए। तर उनीहरू घरमा थिएनन्। उनीहरूले खोजी गर्दा दुवै दम्पतिको शव सेफ्टी ट्याङ्कीमा भेटिएको बताइएको छ। ती आफन्तहरूले नै पुलिसलाई फोन गरेर यसबारे जानकारी दिएका थिए।

पुलिसले घटना स्थलबाट दुवैको शवलाई उद्धार गरेको छ। दुवै दम्पतिको शिरको अघिल्लो भागमा धारिलो हतियारले हिर्काएको चोट  भेटिएको छ।  पुलिसले छानबिन शुरु गरेको छ। चोरी गरेर कसैले उनीहरूको हत्या गरेको हुनसक्ने पुलिसको शङ्का छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया