न त ग्राच्युटी, न त अन्य सुविधा : नागरी-मगरजुङ चियाबगान मालिकलाई कानूनी कार्वाहीको चेतावनी

वर्ष 2015-मा अवकाश ग्रहण गरेका चियाश्रमिकहरूले अहिलेसम्म पनि ग्रेच्यूटी पाएका छैनन्। यो त भइगयो, चियाबगानका श्रमिकहरूले इमान्दारसित काम गरिरहेका छन्, तर दैनिक रोजीबाहेक उनीहरूले अरू कुनै सुविधा पनि पाएका छैनन्।

दार्जीलिङ, 18 अगस्त।


तृणमूल काङ्ग्रेस र विनय गुट मोर्चाका श्रमिक सङ्गठन जोइन्ट फोरममा छैनन्। फोरमले निरन्तर श्रमिकहरूको हितमा श्रमिकसितै सडक ओर्लिएर सरकार र मालिकमा दवाब बनाइरहेको छ।

यता गोजमुमोको श्रमिक सङ्गठनले पनि प्रेस विज्ञप्तिमार्फत आफूहरू श्रमिकको निम्ति लडिरहेको बताउँदै आइरहेको छ। जिटिए विओए विनय तामाङले त ‘श्रमिकको आङमा घाम लाग्ने’-समेत बताइसकेका छन्। तर सरकारले भने उत्तरकन्याको बैठकमा 172 मात्र दैनिक रोज दिइने प्रस्ताव ल्यायो। फोरमले त्यसलाई स्वीकारेको छैन।

यसबिच नागरी-मगरजुङ चियाबगानका चियाश्रमिकहरूले दैनिक रोजीबाहेक अन्य कुनै सुविधा नपाएको खुलासा भएको छ। जोइण्ट फोरमले न्यूनत्तम रोजी ऐन लागू गर्ने मागमा पहाडका चियाबगानहरूमा गेटसभा गरिरहेको छ। यसैबीच नागरी मगरजुङ चियाबगानका श्रमिकहरूले कामको दामबाहेक अर्थोक केही नपाएको खुलाएका छन्।

आज जोइण्ट फोरमको एक घटक दल एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-ले यसै न्यूनत्तम रोजी ऐन लागू गर्ने माग गर्दै नागरी मगरजुङ चियाबगानमा गेटसभा गरेको थियो। चियाबगानमा वर्षौं काम गरेर सेवानिवृत्त भएका श्रमिक-कर्मचारीहरूले यसै सभामा अहिलेसम्म आफूहरूले ग्रेच्यूटीसमेत नपाएको बताए।

अचम्म त के छ भने, वर्ष 2015-मा अवकाश ग्रहण गरेका चियाश्रमिकहरूले अहिलेसम्म पनि ग्रेच्यूटी पाएका छैनन्। यो त भइगयो, चियाबगानका श्रमिकहरूले इमान्दारसित काम गरिरहेका छन्, तर दैनिक रोजीबाहेक उनीहरूले अरू कुनै सुविधा पनि पाएका छैनन्।

गोरामुमोका श्रमिक सङ्गठन हिमालयन प्लान्टेशन वर्कर्स युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले यदि चियाश्रमिकहरूले प्लान्टेशन लेबर ऐनअनुसार अधिकार पाउन नसके चियाबगान मालिक विरूद्ध कठोर कानूनी कार्वाही गर्ने पनि चेताउनी दिए।

यसका साथै ग्रेच्यूटी नपाएको विषयमा पनि छानबीन गर्ने उनले एचपीडब्लुयूको नागरी मगरजुङ शाखा समितिलाई निर्देश दिए।

स्मरण गराइन्छ, चियाश्रमिकहरूका लागि पनि न्यूनत्तम रोजी ऐन लागू गर्ने माग लिएर विगत केही वर्षदेखि उत्तर बङ्गालका 29 वटा श्रमिक सङ्गठनहरूद्वारा गठित जोइण्ट फोरमले आन्दोलन गरिरहेको छ। जसमा केही समयअघिसम्म गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन पनि सामेल थियो, तर जोइण्ट फोरमले ताजा आन्दोलनस्वरूप समतलका चियाबगानहरूमा 3 दिन बन्द, पहाडका चियाबगानहरूबाट पक्का चिया बाहिर लान नदिने घोषणा गरेपछि गोजमुमोको श्रमिक सङ्गठनले जोइण्ट फोरमको साथ छोडेको थियो।

यसपछि दार्जीलिङ पहाडका अन्य श्रमिक सङ्गठनहरूद्वारा जोइण्ट फोरम हिल सब्-कमिटीको गठन गरी अलगै आन्दोलन गरिरहेका छन्। जुन आन्दोलनको मूल माध्यम हो चियाबगानहरूमा गेटसभा। तर गोजमुमोको श्रमिक सङ्गठनले न्यूनत्तम रोजी ऐनको लागि सरकारपक्षबाट सकारात्मक पहल भइरहेको बताउँदै यसबारे 20 अगस्तको दिन कलकत्तामा एक सभा हुने भएको पनि जानकारी गराएको छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares