फोरमलाई हिफभिअ र उबश्रमञ्चको समर्थन : भन्यो-फोरम प्रतिनिधिहरू श्रमिकहरूको न्यायको माग गरिरहेका छन्, सरकार उनीहरूलाई नै अनेकौं मुद्दा हालिरहेको छ

‘यस्तो दमनसित फोरम र श्रमिकहरू डराउनु हुँदैन। डरायो भने आवाज संधैको निम्ति दबाउने खेल हुनसक्छ। बनबासी, श्रमिक, फोरम, अर्गनाइजेशन न त मञ्च कसैले पनि कानूनदेखि बाहिर कुनै काम गरेको छैन। यसैकारण सरकार डराएको हो। अर्गनाइजेशन र मञ्च फोरमको साथ छ।’

कालेबुङ, 18 अगस्त


हिमालयन फरेष्ट भिलेजर्स अर्गनाइजेशन र उत्तरबङ्गाल बनजन श्रमजीवि मञ्चले चियाबारीको आन्दोलनलाई समर्थन गरेको छ। अर्गनाइजेशनका सचिव लीलाकुमार गुरुङ अनि मञ्चका मुख्य संयोजक लालसिंह भुजेलले विज्ञप्ति जारी गरेर यस्तो घोषणा गरेका हुन्।

‘मौलिक अधिकारको निम्ति लड्ने, चाहे चियाबारीका श्रमिक होस् चाहे कुलैनबारीका श्रमिक, यस्तो लडाईँलाई अर्गनाइजेशन र मञ्चको सहयोग हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिया श्रमिकहरू जो पुस्तौंदेखि बगानमा छन्, उनीहरूले अहिलेसम्म पर्जापट्टा पाएका छैनन्। जमिनसित जोडिएको सबैको मौलिक अधिकारको लडाईँमा हाम्रो साथ छ।’

गोर्खा जनमुक्ति मोर्चा र तृणमूल काङ्ग्रेसको श्रमिक सङ्गठन संलग्न नभएको तर अन्य राजनैतिक दलहरूका जम्मै श्रमिक सङ्गठनहरूको जोइन्ट फोरमको लडाईँलाई कमजोर पार्न सरकारले आफ्नो कुटनैतिक चाल अघि बढाइरहेको पनि अर्गनाइजेशन र मञ्चले बताएको छ।

‘श्रमिकहरूको निम्ति लडिरहेको जोइन्ट फोरमले चिया श्रमिकहरूलाई न्युनतम् रोजी ऐन लागू गर्न लडाईँ गरिरहेको छ, यो देखि सरकार डराएको छ,’ अर्नाइजेशनका सचिव लीलाकुमार गुरुङले भने,  ‘फोरमका 11 जना प्रतिनिधिहरूलाई मुद्दा लाग्नु, डुवर्सका फोरमका प्रतिनिधि विशाल मोक्तान र दार्जीलिङका सुरज सुब्बालाई पक्राउ गर्नु  श्रमिकहरूको मुद्दालाई दबाउनु हो। यसको अर्थ फोरमको आन्दोलन सही दिशामा गइरहेको सङ्केत पनि हो।’

मञ्चका मुख्य संयोजक लालसिंह भुजेलले बनबासीहरूको मुद्दालाई पनि यसरी नै दबाउने कोशिश भइरहेको भन्दै चिया श्रमिकहरूलाई न्याय दिन जोइन्ट फोरमले गरिरहेको आन्दोलनलाई दबाउन बिर्सिसकेका मुद्दाहरू हाल्ने काम भइरहेको बताए।

‘उनीहरू श्रमिकहरूको न्यायको माग गरिरहेका छन्, सरकार उनीहरूलाई नै अनेकौं मुद्दा हालिरहेको छ,’ भुजेलले भने, ‘यस्तो दमनसित फोरम र श्रमिकहरू डराउनु हुँदैन। डरायो भने आवाज संधैको निम्ति दबाउने खेल हुनसक्छ। बनबासी, श्रमिक, फोरम, अर्गनाइजेशन न त मञ्च कसैले पनि कानूनदेखि बाहिर कुनै काम गरेको छैन। यसैकारण सरकार डराएको हो। अर्गनाइजेशन र मञ्च फोरमको साथ छ।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares