पेदोङ दम्पति हत्या : पुलिसले फेला पाऱ्यो महत्वपूर्ण क्लू : भन्यो- ‘सिआईडीले मुद्दा हातमा लिइसकेको छ, क्लुले हामीलाई हत्यारासम्म पुऱ्याउनेछ’

‘‘घटनास्थलको भ्रमण गरेर जानकारी लिएपछि घटना सम्बन्धमा हामीले धेरै महत्वपूर्ण सुईँको फेला पारेका छौं, हामीले हरेक कोणबाट जाँच गरिरहेका छौँ। केही महत्वपूर्ण क्लुहरू फेला पारेका छन्। यही महत्वपूर्ण सुरागले हामीलाई हत्यारासम्म पुऱ्याउनेछ।  हत्यारासम्म पुग्न  जाँच चलिरहेको छ। स्निफर डग टोली पनि बोलाइएको छ। शेर्पा दम्पति हत्याकाण्डको जाँच सिआईडीले गर्नेछ। सिआईडीले मुद्दा हातमा लिइसकेको छ।’

पेदोङ, 18 अगस्त


घरमा लोग्ने-स्वास्नी मात्र। एउटा छोरा माल्दामा, अर्को सिलगढी। ठुल्छोरा सुकदेन शेर्पा पुलिसमा नै छन्। सान्छोरा ओङदेन शेर्पा सिलगढी नजिक स्कूल पढाउँछन्। टाडामा रहेकोले घरको चिन्ता दुवैलाई हुन्छ। उनीहरूसित त्यो चिन्ता भगाउने एउटै माध्यम छ –फोन।

15 अगस्तको ड्युटीले थाकेको चिन्ता थिएन सुकदेनलाई। घरमा आमाआप्पा सञ्चो छन् छैनन्, त्यसको चिन्ता थियो। फोनमा कुरा गरेर उनलाई त्यो दिन सञ्चो लागेको थियो। हरेक दिन फोन गर्ने र आमा र आप्पाको हालखबर सोध्ने ड्युटी सुकदेनकै हो।

उनले 16 अगस्तको बेलुकी पनि उसरी नै फोन गरे तर आमाको फोन उठेन। त्यसपछि आप्पाको फोन बज्यो तर उठेन। पटकपटक फोन गर्दा पनि नउठेपछि उनले आफन्तहरूलाई फोन लगाए।

निमा ओङ्दी शेर्पा, सुकदेनको काका। सुकदेनले फोनमा घरको चिन्ता व्यक्त गरेपछि 17 अगस्तको बिहानै सोझै पेदोङ हान्निए। छिमेकीहरू पनि जम्मा भइसकेका थिए।

‘पुग्नसाथ मलाई केही नराम्रो भइसकेको हो कि भन्ने डर लागिहाल्यो,’ निमा ओङ्दी शेर्पाले भने, ‘चप्पल सेफ्टी ट्याङ्कीमाथि छ। चाबी भुइँमा छ। घरमा ताला लागेको छ। मोबाइल आँगनमा नै छ। नालीमा खुनको टाटो देखेपछि मैले पुलिस बोलाएँ।’

सुकदेनले आफन्तबाट राम्रो खबर पाएनन्।

कालेबुङ पुलिसले फुर्तेम्बा शेर्पा अनि पत्नी कुसम शेर्पाको शव उनीहरूकै घरको सेफ्टी ट्याङ्कीबाट उद्दार गरेका हुन्। पुलिसलाई लागेको छ, यो मामुली घटना होइन। पुरै प्लानिङसित दुवैको हत्या भएको छ। आज दुवैको पोष्टमर्टम रिपोर्टमा पेटमा पानी पाइयो। त्यसो हो भने उनीहरूलाई जिउँदै सेफ्टी ट्याङ्कीमा हालिएको हो?

पुलिसले यही सिराबाट छानबिन शुरु गरेको छ। उनीहरूको टाउकोमा गहिरो चोट पनि छ। हत्याराले कुनै धारिलो हतियारले प्रहार गरेको हुनसक्ने शङ्का सबैले गरिरहेका छन्।

‘शुक्रबार सँधै उनीहरू राशिन थाप्न जान्थे, तर त्यो दिन गएनछन्,’ निमा ओङ्दी शेर्पाले भने, ‘छोराले फोन गर्दा फोन पनि उठेन। केही न केही त गडबढी हो नै भनेर म कुदेको थिएँ तर यस्तो देख्न पऱ्यो।’

छिमेकी सोनाम भोटिया अनुसार पेदोङमा चोरी चकारी भइरहेकै घटना हो। कसैको फ्रिज हराउने कसैको के। तर अहिलेसम्म न चोर पक्राउ परेका छन् न चोरी नै बन्द भएको छ।

‘अब त हत्या नै हुन थाल्यो। यो त अत्ति भयो। हत्यारालाई कुनै पनि हालतमा पक्राउ गरिनुपर्छ,’ भोटियाले भने, ‘हत्यारा पक्राउ परेमात्र हामी सुरक्षित अनुभव गर्न सक्छौं। नत्र त यो घटना पेदोङको कुनै पनि परिवारमा घट्न सक्छ।’

निमा ओङ्दी शेर्पालाई पनि लाग्छ, घटना पुरै योजनासहित भएको हो। यो घटना अरूतिर पनि दोहोरिन सक्छ। यसकारण हत्यारा पक्राउ पर्नै पर्छ।

‘घटनास्थलको भ्रमण गरेर जानकारी लिएपछि घटना सम्बन्धमा हामीले धेरै महत्वपूर्ण सुईँको फेला पारेका छौं,’ कालेबुङ जिल्ला पुलिस उप-अधिक्षक अतुल विश्वनाथनको भनाई छ, ‘हामीले हरेक कोणबाट जाँच गरिरहेका छौँ। केही महत्वपूर्ण क्लुहरू फेला पारेका छन्। यही महत्वपूर्ण सुरागले हामीलाई हत्यारासम्म पुऱ्याउनेछ।  हत्यारासम्म पुग्न  जाँच चलिरहेको छ। स्निफर डग टोली पनि बोलाइएको छ। शेर्पा दम्पति हत्याकाण्डको जाँच सीआईडीले गर्नेछ। सिआईडीले मुद्दा हातमा लिइसकेको छ।’

मृतक दम्पति तृणमूल काङ्ग्रेसका नेता छेवाङ भोटियाका मामा माइजु हुन्। उनलाई पनि दम्पतिको हत्या नै भएको लाग्छ। पुलिसले हत्यारालाई पक्राउ गर्ने विश्वास उनलाई छ।

‘मामा निमा ओङ्दी शेर्पाले फोन गर्नुभएपछि म पनि घटनास्थल पुगेको थिएँ। तर घरमा कोही थिएनन्। हामीले वरिपरि सबैतिर खोज्यौं। जङ्गलसम्म पुग्यौँ तर भेटेनौं,’ उनले भने, ‘पुलिसहरू पनि आइपुगेका थिए। सेफ्टी ट्याङ्कीको ढब्बु अलिकति भत्किएकोजस्तो देख्यौँ। पुलिसले उघारेर हेर्दा दुवैको शव त्यही थियो।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया