‘जित्यौ, अब 3 महिनामा पर्जा-पट्टा देउ’

मोहन लामा

दार्जीलिङ, 17 मई। 2017


सीके कुमाईले पाए 55 भोट


मिरिक नगरपालिकामा तृणमूल काङ्ग्रेसले आफ्नो विजयको झण्डा फहराउन सफल बने पनि यो जीत तृणमूल काङ्ग्रेसको लागि चुनौतीपूर्णनै हुने लगभग निश्‍चित छ। चुनाउमा जीत भयो, अब मिरिकका जनताको चाहनानै पर्जा-पट्टाको समस्या समाधान होस् भन्ने छ। यसैले अब तृणमूल काङ्ग्रेसको लागि मिरिकको थर्बु चियाबगानको अधीनमा रहेको  मिरिक नगरपालिका क्षेत्रको जमीनको मालिकाना अधिकार यहाँका जनतालाई दिनुपर्ने चुनौती राज्यको तृणमूल काङ्ग्रेस सरकारअघि ठिङ्ग उभिएको छ। यसैले गोजमुमोले पनि चुनाउ परिणाम सार्वजनिक हुनसाथ तृणमूल काङ्ग्रेसलाई मिरिकको जमीनको मालिकाना अधिकारको समस्या 3 महीनाभित्र समाधान गर्ने चुनौती दिएको छ।

आज यहाँ एक पत्रकार सम्मेलनको आयोजना गरी गोजमुमो सहसचिव विनय तामाङले भने-तृणमूल काङ्ग्रेसले मिरिकमा जमीनको पर्जा-पट्टा दिने विषयलाई आफ्नो मूल चुनावी मुद्दा बनाएको थियो अनि आज मिरिक नगरपालिकामा तृणमूल काङ्ग्रेसले बोर्ड गठन गर्ने परिणाम आएको छ। यसैले अब राज्यको तृणमूल काङ्ग्रेस सरकारले मिरिकका जनताको पर्जा-पट्टाको समस्यालाई 3 महीनाभित्र समाधान गरेर देखाउनुपर्छ।

जुन वचन दिएर आज तृणमूल काङ्ग्रेसकाङ्ग्रेस मिरिक नगरपालिकाको सत्तामा आएको छ, अब यस पार्टीले आफ्नो वचन पूरा गर्ने समय आएको छ। यदि तृणमूल काङ्ग्रेसले पर्जा-पट्टाको समस्या समाधान गर्ने कार्य गर्दैन भने आगामी दिनमा मिरिकका जनताले तृणमूल काङ्ग्रेसलाई मिरिकको जमीनमा रहेको जरैबाट उखेलेर फ्याँक्नेछन्। यद्यपि, मिरिक नगरपालिकाको चियाबगान अधीनस्थ जमीनको मालिकाना अधिकार राज्य सरकारले दिए, पहाड़का 87 वटै चियाबगानमा पनि यो मागले गतिलै बल पाउने निश्‍चित छ। किनभने,  दार्जीलिङ पहाड़का विभिन्न राजनैतिक पार्टीहरुले विगत धेरै समयदेखि चियाबगान, वन बस्ती अनि सिन्कोना बगान क्षेत्रमा बसोबासो गर्ने श्रमिकहरुलाई उनीहरु बस्दै आएको घर-घड़ेरीको मालिकाना अधिकार दिनुपर्ने माग उठाउँदै आइरहेका छन् र यस विषय लिएर आन्दोलन पनि चलिरहेको छ। यसैले राज्य सरकारले मिरिक नगरपालिका क्षेत्रका जनतालाई यो चुनाउ जितेको उपहारस्वरूप पर्जा-पट्टा दिने कार्य गर्छ भने यसैलाई आधार बनाएर अन्य चियाबगानहरुमा पनि यो मागले तीव्रता पाउने तय छ।

यसैबीच, गोजमुमो सहसचिव तामाङले यस नगरपालिका चुनाउमा गोर्खाल्यान्डको जीत भएको बताउँदै दार्जीलिङ पहाड़का जनताले परिवर्तन होइन, गोर्खाल्यान्डनै चाहेका छन् भने। उनले भने-आज नगरपालिका चुनाउको परिणामले यो प्रमाणित गरेको छ। दार्जीलिङ पहाड़मा गोजमुमोको कुनै विकल्प नरहेको बताउँदै उनले भने-मिरिक नगरपालिकामा गोजमुमोले हार स्वीकार गर्न परे पनि मिरिकका जनताको झुकाउ गोजमुमोप्रतिनै छ भन्ने चुनाउ परिणामबाट स्पष्ट भएको छ। यदि मिरिक नगरपालिका क्षेत्रमा पार्टीभित्रनै अन्तर्द्वन्द नभएको भए मिरिक नगरपालिकामा पनि गोजमुमोकोनै जीत हुनेथियो। तर पार्टीकै कतिजनाले स्वतन्त्र उम्मेद्वार बनेर यस चुनाउमा अंशग्रहण गरेपछि यसको फाइदा तृणमूल काङ्ग्रेसलाई पुगेको हो।

यस चुनाउमा प्रचार गर्नको लागि मात्रै राज्यका 14 जना शीर्ष मन्त्रीहरु दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा आएर डेरा जमाएका थिए, मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्यान्डप्रेमी जनताको एकतालाई तोड़्न कैयौं चाल गरिन्, तरै पनि पहाड़का जनताको एकता तोड़िएन अनि पहाड़का नगरपालिका क्षेत्रका 80 प्रतिशत जनताले गोर्खाल्यान्डको पक्षमा मतदान गरेका छन्। उनले दार्जीलिङ पहाड़का चारवटा नगरपालिकामा तृणमूल काङ्ग्रेसका हेविवेट प्रार्थीहरुको हारमाथि कटाक्ष प्रहार गर्दै भने-एनबी खवास गोरामुमोको शासनकालमा तीनपल्ट दागोपापका पार्षद बनेका थिए अनि उनी केही कालको लागि स्कूल बोर्डका चेयरमेन पनि बनेका थिए।

शारदा राई सुब्बालाई तृणमूल काङ्ग्रेसले गत विधानसभा चुनाउमा दार्जीलिङबाट उम्मेद्वार बनाएको थियो, तर विधानसभा चुनाउ मात्रै होइन, नगरपालिका चुनाउ पनि हारिन्। मिलन डुक्पा जीटीएका मनोनित सभासद थिए, तर उनले पनि यस चुनाउमा हारको सामना गर्नपर्यो। तृणमूल काङ्ग्रेस नेत्री शान्ता छेत्री खरसाङबाट तीनपल्ट विधायक बनेकी थिइन् भने कालेबुङ नगरपालिकामा 9 वर्षसम्म अध्यक्ष पदमा रहेका तृणमूल कंग्रेस उम्मेद्वार सीके कुमाईले पनि नराम्रोघतको हारको स्वाद चाख्न पऱ्यो। सीके कुमाईले यस नगरपालिका चुनाउमा केवल 55 भोट मात्रै पाएका छन्।

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया