भाषा व्यावहारिकताका सन्दर्भ र काँधका भारीहरू

फाइल फोटो

आज सिलगढ़ी भानु जयन्ती समारोह समितिले देवकोटा सङ्घ, सिलगढ़ीमा भाषा मान्यता दिवस मनायो। साहित्यकार कालुसिंह रनपहेंलीको सभापतित्वमा अनि नाटककार लक्ष्मण श्रीमलको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा  चिन्तक बी० पी० बजगाईंले आफ्नो वार्ता प्रस्तुत गरेका थिए। यसैको केही अंश प्रकाशित गरिरहेका छौं-सम्पादक

बी० पी० बजगाईं


आज हाम्रो भाषा किन सङ्कटमा उभिएको छ? किन हाम्रो भाषा हामी नेपालीभाषीबाट नै तिरस्कृत भएको छ? किन यसको संरक्षण सम्वर्धनमा हामी उदासीन छौं?…………… किनभने नेपाली भाषा अनि आठौँ अनुसूची र यससँग जोडिएका कार्यहरूले हामीलाई कुनै व्यवसायिक फाइदा दिँदैन। यसको प्रयोग, संरक्षण अनि सम्वर्धनको फाइदा केवल व्यवहारिक अनि भावनात्मक मात्रै भएकोले गर्दा अनि हामी र हाम्रो समाज केवल तत्काल लाभमा मात्र कुद्ने चरित्रमा बाँचेको हुँदा यो भाषा हामीबाट नै तिरस्कृत हुँदैछ।

  • यस कुरालाई केलाउन हामीले भाषा मान्यता पछिका कुराहरूलाई हेरौं। आठौँ अनुसूचीको कारणले शिक्षाको माध्याम सम्वैधानिक तवरमा पायौं, तर राजनीति भयो। हाम्रा शिक्षण संस्थानहरू भटाभट अङ्ग्रेजी माध्यममा परिणत भए। यस विषयमा हाम्रो उत्तर बङ्गाल विश्वविद्यालय पनि मौन बसेको छ। मलाई एउटा कुरा सोचेर उदेक लाग्छ, भोलि प्राथमिक स्तरमा नै नेपाली भाषा मासिए उच्च तहमा कहाँको नेपाली विद्यार्थी पडाउनु? नेपालको? हामी मौन हुनु हुँदैन, किनभने यो षडयन्त्र हो। अहिले पनि फ्रान्स, जापान, बाल्कन राज्य समुहहरूमा पाठशालामा अङ्ग्रेजी छैन। अङ्ग्रेजी सिक्नु परे त्यहाँ खोलिएका अन्तर्राष्ट्रिय स्कूलहरूमा जानुपर्छ। यी देशहरू आज विश्व कै शक्तिशाली, विकसित अनि पूर्णरूपले आत्मनिर्भर देशहरू हुन्। हामीलाई भने अंगेजले छोडेर गएपनी अहिले पनि उनीहरूले नै शाषण गरिरहेकै छन्।

यसको अर्थ मैले अङ्ग्रेजी सिक्नु हुँदैन भनेको होइन। तपाईंलाई अङ्ग्रेजी बोल्नु आउँदैन भने तीन महिने, छ महिने भाषा कोर्सहरू अहिले जता-ततै खुलेका छन् अनि त्यहाँ अर्काको भाषा सिकेर हाम्राहरू ती विशेष देशमा काम गर्न पनि गईरहेका छन्। तर हाम्रो पाठशालाहरूमा भने प्राथमिक पाठशालादेखि नाउन्-प्रोनाउन् सिकाउन थालिन्छ अनि उसले उच्च माध्यमिक छिचोल्दा पनि भर्व पडिसकेको हुँदैन। अहिले सोसियल मिडियामा यसको प्रत्यक्ष उदाहरण देखिन्छ, न त हाम्रो नानीहरूले अङ्ग्रेजी नै राम्रो सिकेका छन् न नेपाली नै…।  तीन महिनामा एउटा  साधारण इन्स्टिच्युटले सिकाउन सक्ने भाषा हाम्रो विद्यालयले वर्षौं सबै सब्जेक्ट पडाएर पनि किन सिकाउन सकेको छैन? हामीले पठन पाठन पुनः नेपालीमा नै गरेर एउटा सब्जेक्ट अङ्ग्रेजीलाई यदि इमान्दार भएर पड़ायौं भने पनि हाम्रा विद्यार्थी अङ्ग्रेजी भाषामा पुख्ता हुन सक्नेछन्।। हामीले हामीमाथि भएको षडयन्त्रलाई कहिले बुझ्ने?

  • आठौँ अनुसूचीको कारणले भाषालाई सरकारले विकासको निम्ति एकनिष्ठ प्रयास गर्नुपर्छ, तर यहाँ सरकारले भाषालाई नकारात्मक रूपले प्रभाव पुरयाउने कार्य गरयो। बहुसंख्यक जातिको भाषा अनिवार्य गराउने फरमान समेत भयो। यसले बहुसंख्यकले बनाएको सरकारको हामीप्रतिको दृष्टिकोण स्पष्ट गरेको छ।(सङ्घ संस्था मौन)
  • आठौँ अनुसूचीका भाषालाई अखिल भारतीय उच्चतर केन्द्रीय सेवामा परीक्षाको निम्ति वैकल्पिक माध्यम बनाएको हुनुपर्छ, यो कार्य पूर्णरूपमा हुनसकेको छैन। किन? कसको कमजोरी?
  • ‘प्राधिकृत अनुवाद (केन्द्रिय कानुनहरू) ऐन, १९७३’ अनुसार सरकारले निकालेका अध्यादेशहरू, आदेश पत्रहरू, केन्द्रिय ऐनहरू, परिपत्र जस्ता सरकारी दस्तावेजहरू नेपाली भाषामा सरकारद्वारा नै अनुवाद हुनुपर्ने हो। हामीले यो कार्य पनि अधुरै छोडेका छौं। किन हामी यस दिशामा मौन छौं? हामीले कसको बाटो हेरेका हौँ? कसले गरिदिन्छ अथवा बुझिदिन्छ भनेर पर्खिएका हौँ? हाम्रो समाजको बौद्धिकहरू जो उच्च पदहरूमा आसिन छन्, जसले यी कुराहरूको उठान गर्ने क्षमता राख्छन्, उनीहरूको मौनताले नै हाम्रो भाषालाई विस्तारै मृत्यु शैयातिर लाँदैछ।
  • हामीले केन्द्र सरकार, राज्य सरकार, सर्वोच्च-उच्च अनि अन्य न्यायालयहरूमा आठौँ अनुसूचीको आधारमा आवेदन गर्न पाउने अधिकार छ। आवश्यकता परेको खण्डमा सरकार तथा सम्बन्धित निकायले अनुवादक तथा व्याख्याकार नियुक्त गर्नुपर्ने हुन्छ। तर यहाँ पनि हाम्रो बौद्धिक समाज, राजनैतिक नेता लगायत वरिष्ठहरू यस दिशामा मौन छन्।
  • नेपाली भाषाको विकास, संचालन अनि व्यवस्थापनलाई लिएर केन्द्र अनि राज्य सरकारलाई हाम्रा सांसद तथा विधायकहरूले परियोजना बनाउन लाउन पाउँछन्, तर हामी त्यस दिशामा पनि मौन प्रायः नै छौं।
  • हामीले भाषाको आधारमा शहर र गाउँलाई पनि फरक पाराले अध्ययन गरौँ। शहरमा नेपाली भाषा बिलायो भने के हुन्छ? अफिस, अड्डा, अदालत सबै शहरमा छन्, साहित्य अनि संस्कृति थाम्ने ठिका लिएका संस्था अनि संस्थानहरू पनि शहरमा नै अधिकांश हुन्छन्। गाउँमा खेताला-गोठाला, दाउरे-भरिया, कमाने मजदुर र बगाने श्रमिक –हरूले भोगेका तीता–पीरा, गुलिया-अमिला, खस्रा-रसिला अनुभवहरूको अभिव्यक्ति शहरमा मर्छ। उनीहरूको पीडा न त साहित्यमा आउँछ न त अफिस, अड्डा, अदालतले बुझ्न नै सक्छ। किनभने भाषा आफ्नो कुरा अभिव्यक्त गर्ने सशक्त मध्यम हो। यो नै मरेपछि गाउँको पसिनाको मूल्य पनि मरेको हुन्छ।
  • सबैभन्दा मुख्य कुरा चाहीं हामीले हाम्रो प्राथमिक तहमा नानीहरूलाई शिक्षा दिँदा चोरेको, कपी गरेर अनुवाद गरेको सिलेबस अनुसार शिक्षा दिनु बन्द गरेको हुनुपर्छ। म यहाँबाट सोध्न चाहन्छु, के प्राथमिक तहमा हाम्रो सिलेबस कमिटी छैन? के अनुवाद गरिएको सिलेबसले हाम्रो नानीहरूले भाषासँगै सांस्कृतिक र परिवेशजन्य ज्ञान पाउँदैछन्? मैले यो कुरा सोध्नुको पछी कारण छ।

प्राथमिक तहमा कक्षा एकको “मेरो किताब” नाम गरेको पुस्तकको नाक-नक्शा म तपाईंहरू समक्ष राख्न चाहन्छु। प्राथमिक तहका पुस्तकहरूमा यो पुस्तक एउटा दृष्टान्त हो। यस पुस्तकको ‘गाउँले काका’ शीर्षक कविताले भन्छ …… “गाउँले काका, कम्मरमा छ पटुका, नाकले खान्छ साग, कुइनाले दिन्छ धाक, ढिस्का फोरी कीरा मार्छ, सिड़ीमा चढ़ी खेला गर्छ, जति फन्को घुम्छ उ त्यति पुड्को हुन्छ उ।” यो कवितामा नैतिक शिक्षा के छ? खैनीको पत्ता सुँघेको चित्र देखाएर नाकले साग खान्छ लेख्नुको नानीहरूले के अर्थ लगाउनु? भोलि घरमा गएर कुनै नानीले प्रयोगको रूपमा साग नाकमा हाले को जिम्मेवार हुने? कुइनाले धाक कसरी देखाउनु? ढिस्का फोर्नु कि ढिस्कनो फोर्नु? सिँड़ी चडनलाई कि खेल गर्नलाई? मान्छे जति फन्को घुम्यो त्यति पुड्को कसरी हुन्छ? के यस्तो शिक्षाले नानीहरूमा ज्ञान बढ्छ कि झनै गलत सूचना उनीहरूको मस्तिष्कले संग्रह गर्छ?

त्यही पुस्तकको अन्य पृष्ठहरूमा छानोको चित्र देखाएर ‘छत’, लट्ठीको चित्र देखाएर ‘लाठि’, असारलाई आषाढ़,  चराको गुँढ़को चित्र देखाएर ‘ओढ़ार’ लेखिएको छ। यो के गर्नु खोजेको हो?

यस पुस्तकमा एउटा कविता यस्तो पनि छ- “बाबा काका बडा सबै, भाई हुन् एकै, फुपूहरूलाई डाकी ल्याए, हुन्छौं हामी सबै।’ हन…, हाम्रो भाषाको पुस्तकमा फुपुहरूलाई बङ्गलामा डाक्ने कि नेपालीमा बोलाउने? के हो ‘डाकी ल्याए’ भनेको? यसरी राज्य सरकारले राजवंशी, आदिवासी समुदायमा धेरै हदसम्म बहुसंख्यक बङ्गला भाषा हालिसकेको छ, उत्तर बंगालको धेरै अल्पसंख्यक घरहरूमा उनीहरूको भाषा बङ्गला भईसकेको छ। हामी नेपाली भाषामा यस्तो हुन दिदैनौं। सरकारले यो कुरा सच्याओस्। अल्पसंख्यकको भाषाको सुरक्षा गरोस्। हाम्रो सिलेबस कमिटीले काम गर्छ भने इमान्दारिता राखेर काम गरून्, भाषा-संस्कार संस्कृति मास्ने काम नगरुन्।

कति भूलको कुरा गर्नु? अझै एउटा उदाहरण हेरौं, “हावा सनसन् , जाड़ो कनकन्, घड़ी टङटङ्, फोड़ा टनटन्”। हाम्रो हावा सनसन् बहँदैन, सिरिरी बहन्छ, मन्द बहन्छ, हुँईंकिन्छ, स्वाँ स्वाँ बहन्छ, हुरूरू चल्छ। जाडोमा नेपालीलाई कनकन् हुँदैन, लगलग काम्छ। टनटन् दुख्ने फोड़ा हुँदैन, पिलो हुन्छ। सिलेबसले हाम्रो कलिलो नानीहरूलाई भाषाको कुन जंगलमा लगेर घोक्र्याउन चाहेको हो? यस्ता अनगन्ती गल्तीहरू हाम्रा नानीहरूले सिक्दैछन् अनि हामी यहाँ गजक्क पारेर भाषा मान्यता दिवस मनाउँदैछौं।

 

  • एउटा प्रसंगको मैले आज उठान गरिनँ भने सायद मेरो वक्तव्य अधुरो रहला। अहिले पनि हामीमाझ हाम्रो भाषा नेपाली होइन गोर्खाली हो भन्नेहरूको संख्या कम छैन। यस सन्दर्भमा पनि आज मैले केही भन्नै पर्छ। म आफु चाहीं मेरो जाति गोर्खा लेख्न मन पराउँछु, जो भारतीय सन्दर्भमा नेपालीको पर्याय हो अनि मेरो भाषा नेपाली हो। किनभने…
  1. श्रीलंकामा ११.२१ प्रतिशत जनसंख्या (२२,७०,९२४) तमिलहरूको छ अनि भारतको तामिलनाडुको राज्यभाषा तमिल हो।
  2. बङ्गलादेशको राष्ट्रिय भाषा पश्चिम बङ्गालमा लेखिने अनि बोलिने आजको आधुनिक मानक बङ्गाली भाषा हो।
  • २,०५,३४४ वर्ग किलोमिटर क्षेत्रफल भएको भारतको भन्दा ठूलो पंजाब पाकिस्तानमा छ। पाकिस्तानको ५५% आबादी पंजाबीहरूले ओगटेका छन् जसको संख्या ११,००,१२,४४२ हो। यूएसको एसआइएल इन्टर्नेशनलद्वारा प्रकाशित ‘Ethnologue 2005’ -को आँकडा अनुसार पाकिस्तानमा १३० मिलियन जनसंख्याले पंजाबी भाषा बोल्छन्, जो पाकिस्तानको दोस्रो बृहत्तर भाषिक संख्या हो।
  1. भारतमा बङ्गलादेशको बङ्गला अर्थात् बङ्गाली भाषा बोल्ने नागरिकहरूलाई विदेशी भनिंदैन, श्रीलंकामा वृहत्तर संख्याद्वारा बोलिने तमिल भाषीलाई यहाँ विदेशी भनिंदैन, पाकिस्तानको दोस्रो बृहत्तर संख्याले बोल्ने पंजाबी भाषीलाई भारतमा विदेशी भनिंदैन भने हामीले नेपाली भाषा बोल्दा हामीलाई विदेशी भन्छ भनेर हाम्रै जातीका कसैले सोच्छन् भनेको कि त उ अज्ञानी हो, कि अनुभवको फाँटिलो मैदान छिचोल्ने यात्रामा नयाँ यात्री हो, कि आफ्नो राजनैतिक दुनो सोझ्याउने जाली राजनैतिक कर्मी हो, कि भने हाम्रो जातीय एकतालाई तोड्ने राष्ट्रिय-अन्तराष्ट्रिय शक्तिको भाडाको टट्टू हो। यस भन्दा अधिक कुरा कुनै दिन आवश्यकतामा सहि स्थानमा लेख्न परे लेखौंला, बोल्न परे बोलौंला।
  2. मलाई सम्झना छ, भारतीय नेपाली राष्ट्रिय परिषद गठन भएपछी ‘नेपाली भाषाको परिचय अनि सम्वैधानिक मान्यताको प्रश्न’ भन्ने एउटा निलो रङको पुस्तक छापिएको थियो। त्यस पुस्तकमा हाम्रो भाषा नेपाली होइन गोर्खा हो भन्नेहरूलाई एउटा प्रश्न गरिएको थियो जसको जवाब मैले आजसम्म पाएको छुइन। प्रश्न यस्तो थियो, ‘नेपाली र गोर्खाली दुइ भाषा फरक हुन् भन्नेले कुनै नेपाली वाक्यलाई गोरखामा अनुवाद गरी नेपाली अनि गोर्खालीमा त्यही कुरा लेखिँदा वाक्य गठन, अर्थ, शब्द अनि ध्वनिमा कहाँ के फरक हुन्छ बुझाइदिनु परयो..’। २६ वर्ष बित्यो, यसको जवाब कसैबाट पनि अहिलेसम्म छैन।

यसै  सन्दर्भमा  कलकत्तामा तत्कालिन भाषा समितिका सत्याग्रही माझमा मुख्यमन्त्री ज्योति बसुले भनेको कुरा हाम्रो निम्ति प्राण बुटी हो। उनले भनेका थिए, ‘भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषालाई अन्तर्भुक्त गरियो भने राष्ट्रिय एकीकरण सुद्रिढ़ हुनेछ। यदि केन्द्रले नेपाली भाषालाई नेपालको भन्छ भने बङ्गाली भाषा बङ्गलादेशको हो, तर बङ्गाली भाषालाई किन मान्यता दिइयो त? नेपाली भाषालाई मान्यता दिए उनीहरूको ठूलो कल्याण हुनेछ।” अब भारतमा एउटा अहम् स्थान ओगटेका बङ्गला भाषालाई नै स्वयम् बङ्गाली मुख्यमन्त्रीले यस्तो टिप्पणी गरेपछि अहिलेसम्म पनि नेपाली भाषा नेपालको भन्नु हाम्रै स्वजातिलाई अलिक नपच्ने कुरा हो।

 

  • यदि भारतीय हुनुको नातामा नेपाली भाषालाई सम्मान गर्ने हो भने हामीले हाम्रो राष्ट्रियतालाई दह्रो राखौं। एक गाग्री पानीमा एकै थोपा विष पनि विष नै हुन्छ। हामी खाँटी भारतीय नेपाली भाषीहरूभित्र एकै जना पनि कहींकतै नेपाल प्रेम बोक्ने छ भने त्यसले हामीलाई भोलि सङ्कटमा उभ्याएको हुन्छ। हामीभित्र कतिपयको दुइवटा नाउमा खुट्टा राख्ने बानि परेको छ भने अहिले नै आफ्नो मूल नाउमा फर्किएको राम्रो हो। हिजो अस्ति आसामको एनआरसीले पाठ पडाएकै होला। यसै
  • अब आउँ मूल कुरामा। के मैले मेरो वक्तव्यको क्रममा भनेका विसंगतिहरू सच्याउन, हामीले हाम्रै सुरक्षा कोर्न, हाम्रो निम्ति हामीले नै विधान बनाउन सक्षम छौं? छैनौं। यसैले नै कुरा बुझौं है हजुरहरू हो। हाम्रो पहिलो आवश्यकता चिनौं।

अन्तमा, म यस मन्चबाट पाँचवटा प्रस्ताव हाम्रो समाजलाई दिँदै विदा लिन चाहन्छु।

प्रस्तावहरू-

 

  • हामीले हाम्रो विद्यालयहरूमा एउटा विषय ‘अङ्ग्रेजी’ दोस्रो पत्रको रूपमा पूर्ण निष्ठासँग पढ़ाउन पर्छ अनि विद्यार्थीलाई अङ्ग्रेजी भाषामा पारंगत बनाउन पर्छ तर हाम्रो शिक्षाको माध्यम अनि पहिलो पत्र नेपालीमा नै हुनुपर्छ।
  • आठौँ अनुसूचीको कारणले भाषालाई सरकारले विकासको निम्ति एकनिष्ठ प्रयास गर्नुपर्छ, हाम्रो विद्यार्थी नानीहरूलाई जबर्जस्ती अन्य भाषा कोचार्ने प्रयास हुनुहुँदैन। हाम्रा सिलेबस निर्माताहरूले सिलेबस बनाउँदा भाषासँग हाम्रो सांस्कृतिक आधार पनि जोडेको हुनुपर्छ। कलिला नानीहरूले पड्ने पुस्तकसँग खेलवाड गरिएको हुनु हुँदैन।
  • आठौँ अनुसूचीका भाषालाई अखिल भारतीय उच्चतर केन्द्रीय सेवामा परीक्षाको निम्ति वैकल्पिक माध्यम बनाएको हुनुपर्छ, यो कार्य पूर्णरूपमा हुनसकेको छैन। यस प्रति हामीले सजग भएर पूर्णरूपमा लागु गराउने तर्फ लाग्नुपर्छ।
  • ‘प्राधिकृत अनुवाद (केन्द्रिय कानुनहरू) ऐन, १९७३’ अनुसार सरकारले निकालेका अध्यादेशहरू, आदेश पत्रहरू, केन्द्रिय ऐनहरू, परिपत्र जस्ता सरकारी दस्तावेजहरू नेपाली भाषामा सरकारद्वारा नै अनुवाद हुनुपर्ने हो। हामीले सरकारलाई यसको माग गर्नुपर्छ।
  • हामीले केन्द्र सरकार, राज्य सरकार, सर्वोच्च-उच्च अनि अन्य न्यायालयहरूमा आठौँ अनुसूचीको आधारमा आवेदन गर्न पाउने अधिकार छ। आवश्यकता परेको खण्डमा सरकार तथा सम्बन्धित निकायले अनुवादक तथा व्याख्याकार नियुक्त गर्नुपर्ने हुन्छ। हामीले यस दिशामा गम्भीर पदक्षेप लिनुपर्नेछ।

यी मेरा निजी विचारहरू हुन्। समाजले यसलाई परिमार्जन गरेर अघि बढाएको राम्रो हो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन