तीनधारे क्षेत्रका समाजसेवक मदन देवानको निधन

खरसाङ, 25 अगस्त।


तीनधारे क्षेत्रको समाज सेवक, कलाकार, साहित्यिक व्यक्तित्व, नाट्यकर्मी एवं तीनधारेको लागि पथ प्रदर्शक मदन देवानको निधन भएको छ। तीनधारेको गोलाई पाखास्थित निजी घरमा शुक्रबार राती 10 बजेर 54 मिनट जाँदा मदन देवानले अन्तिम श्वास लिएको जानकारी प्राप्त भएको छ। तीनधारेको उल्लेखनीय हस्तीहरूमध्ये एक मानिने देवान 83 वर्ष पुगेका थिए। उनले आफूपछि पत्नी पूर्णिमा देवानसहित 5 जना छोरीहरू र ज्वाईहरू लगायत नाता नातिनीहरू छोडी गएका छन्।

उनको अन्तिम यात्रा आइतबार बिहान 11 बजेदेखि तीनधारेको 20 माइलस्थित स्मृति वनमा लगिने छोरी सरोजनी देवानले जनाएकी छन्। स्व. मदन देवानले तीनधारे क्षेत्रमा धेरै सामाजिक कार्यहरू गर्नुको साथै तीनधारेको सामाजिक, साहित्यिक, सांस्कृतिक लगायत क्षेत्रको उन्नतिको लागि योगदान दिएका थिए। तीनधारेमा सप्ताहव्यापी भानु जयन्ती समारोह आयोजना गर्नेहरूमा उनी एक थिए। साई समितिमार्फत् तीनधारेमा धेरै सामाजिक कार्यहरू पनि गरेका थिए। मदन देवान मूलतः नाट्यकर्मी थिए। उनले तीनधारे मित्र सङ्घको आयोजनामा गरिएको नाटकहरूमा गैरीबास, जलढका, तीनधारे क्षेत्रमा मञ्चन गरेका थिए।

उनी मित्र सङ्घ गोलाईको सभापति, साई समिति तीनधारेको कर्मठ पदाधिकारी, एनएफ रेलवे इम्प्लोइज युनियन तीनधारेको सभापति पनि थिए भने साहित्यमा राम्रो ज्ञान भएको बौद्धिक पाठक पनि थिए। उनी भारती नेपाली साहित्यको वरिष्ठ स्रष्टा विन्द्या सुब्बाको भेना हुन्। आफ्नो भेनाको निधनमा स्रष्टा विन्द्या सुब्बाले सोसियल मिडियामा फोटो पोष्ट गरेर तीनधारेको उल्लेखनीय हस्तीहरूमध्ये एक भनी लेख्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्। त्यसरी नै तीनधारे गोलाईस्थित मित्र सङ्घको सचिव बीरेन लामाले सङ्घको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्। स्थानीय दिपक प्रधानले पनि मदन देवान तीनधारेको गौरव बताउँदै साहित्यिक, सामाजिक र पथ प्रदर्शक भनी बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया