पुटुङ उच्च माध्यमिक विद्यालयको जीर्ण अवस्था

मिरिक, 26 अगस्त।


मिरिक महकुमाको सबैभन्दा पुच्छरमा अवस्थित पुटुङ उच्च माध्यमिक विद्यालयका बिद्यार्थीहरू स्कूल भवनको जीर्ण अवस्थाको कारण कक्षाभित्र नै छाता ओडेर पढ्न बाध्य छन्। यस विद्यालयको अवस्था एकदमै जीर्ण र गम्भीर भएर गएको छ। पुरानो भवनमा एघाह्रौँ श्रेणीलाई पढाउन स्कूलपक्ष वाध्य छ। श्रेणी कोठाहरूको अभावमा एउटै कोठामा साठ्ठी भन्दा अधिक विद्यार्थीहरूलाई जबर्जस्ती अँटाएर पढाउन वाध्य भएको विद्यालय पक्षले बताएको छ। सेक्सन अथवा विभाग छुट्याएर पढाइने प्रावधान भए तापनि कक्षाको अभावमा यसरी जबर्जस्ती एउटै कक्षामा सबैलाई हालेर पढाउनु वाध्य भएको प्रधान शिक्षक मणि खवास बताउँछन्।

विद्यालय भवनकै अवस्था एकदमै नाजुक छ। बर्खाभरि विद्यार्थीहरू छाता ओडेर नै पढ्ने गर्छन्। प्रायः सबै कक्षाहरू जीर्ण छन्। यदि कुनै समय भूकम्प आए भवन क्षतिग्रस्त हुने निश्चित छ। पाँचौ श्रेणीदेखि बाह्रौँ श्रेणीसम्म सञ्चालन भइरहेको यस विद्यालयलाई मोडेल स्कूल बनाउने योजना जीटीएको रहेको गोजमुमो सौरेनी समष्टिका अध्यक्ष सुनिल प्रधानले बताएका छन्। उनले पुटुङ स्कूलको स्थलगत भ्रमण आफूले गरेको बताउँदै यहाँको अवस्था जीर्ण रहेको विषयलाई मध्यनजर राख्दै मोडेल स्कूल निर्माणको निम्ति उच्च स्तरमा पहल भइरहेको बताए। उनले सौरेनी रवीन्द्रनाथ विद्यालयलाई जुन प्रकारले निर्माण गरिँदैछ त्यसरी नै फुवागढी र पुटुङ विद्यालयलाई पनि शीघ्रै निर्माण गरिने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया