मकै बोक्ने ट्युसन र एलबी सर

एलबी सरकोमा फ्रिमा ट्युसन पढ्थें। फ्रिमा किन भने आमाले ट्युसन फि दिन सक्थिनन्। फि दिन नसक्ने आमाहरूबाट पैसा पनि थाप्थेनन् एलबी सर।

दिलिप, धनबहादुर, काबेरी, आशिषहरू पनि पढ्थे। हामी क्लास बीमा पढ्थ्यौं। क्लास वान जान पढ्दैथ्यौं।

ट्युसन आएन भने घरैमा लिन आउँथे सर। डिबगोली खेलिरहेको ठाउँमा च्याप्प समात्थे। कानमा समातेर विरालोलाईजस्तै उचाल्थे। आँखामा पिरो पस्थ्यो। पिल्पिलाउँथ्यो। तरक्क आँशु चुहुन्थ्यो। बाख्रालाई दोरीले तानेर मैदानमा खुट्टि गाडेर बान्थ्यौं हामी। एलबी सर चाँही कानैमा तानेर हामीलाई ट्युसन पुऱ्याउँथे।

ट्युसन जानु पनि साह्रो नजानु पनि साह्रो।

होम वर्क दिनुहुन्थ्यो। याद गरेर सुनाउनुपर्ने। खातामा पनि लेख्नुपर्ने।

त्यतिबेला मकै पाकेको थियो। सरको घरमुन्तिर सातवटा गह्रा थियो। बारीमा पाकेको मकै। कोकोले र भ्याकुराले भुर्कुट पारिसकेको थियो। बिहानै ट्युसन पुग्दा आँगनमा पाँचवटा डोको थियो।

साथीहरू पनि जम्मा भए। सिकुवामा खाताकिताब फिजाउन पनि पाएनौं, सरले भन्नु भो, ‘आजु बारीमा पढ्नु पर्छ है केटाकेटी हो।’

सर डोको बोकेर बारीतिर निस्किनु भो। ‘एकएकवटा डोको बोकेर हिँड मेरो पछिपछि’, सरले भन्नु भयो। हामीले चालपाइहाल्यौं। आजु पढ्नु पर्दैन। खाताकिताब सिकुवामै फ्याकेँर डोको टिप्न झुत्तियौं। पढ्न नपर्दाको हर्ष डोको बोकाइमा थियो। त्यसैले डोको टिप्न सबै झम्टियौं।

अघिल्लो दिन हिसाब सिकाउनु भएको थियो। 10 सम्मको गुणा याद गर्नु, जोड्नु, घटाउनु, भाग गर्नु, गुणा गर्नु। मलाई 10 सम्मकै गुणा थाहा थियो, यसकारण मलाई समस्या थिएन। तर साथीहरू 7 को गुणासम्म पनि पुग्न सकेका थिएनन्, साह्रो  उनीहरूलाई थियो।

तर के र, आज ट्युसन पढ्नै नपर्ने भयो। मकै बोक्ने ट्युसन जो थियो।

सरको पछिपछि हल्ला गर्दै लाग्यौँ।

सरले पुछार बारीमा पुऱ्याउनु भयो। लाइनै राख्नु भयो। एकजनाले मकै भाँचेर डोकोमा हाल्नै लागेको थियो, सरले सिर्कुना हान्नु भयो। त्यसको छेपारीमा सुम्लै उठ्यो। सरले डोकोमा सिर्कुना बोक्नु भएको रहेछ। त्यो देखेर हामी डरले डोको बोकेर सावधानमा उभ्भिएका थियौं। डोको, कसैको ठूलो थियो, कसैको सानो। सबैभन्दा ठूलो डोको मेरै थियो। साथीहरूले हतारहतार सानो छानेर बोकेपछि छोडिएको जो डोको थियो त्यो।

सबैभन्दा सानो डोको त्यसकै थियो। धेरै चतुर थियो त्यो। नजानिँदो बदमास पनि। काम देखाउन रिफ्फु। नराम्रो बनाउन रिफ्फु। कुटाइ खुवाउन रिफ्फु।

‘मैले मकै भाँच भने तँलाई?,’ सरले त्यसलाई सोध्नु भयो।

प्रश्न मात्र होइन सरले सिर्कुना पनि उठाउनुभएको थियो। बाँसको हाँगाको खिरिलो सिर्कुना। सुकेको। त्यसले चाक र पासुँला, छेपारीमा भेट्दा जे देखथ्यौ त्यो पृथ्वीलोक हुन्थेन नै। त्यसले अहिले त्यस्तै लोक देखिरहेको थियो।

त्यसले आँशु पुछ्दै ‘होइन’-मा टाउको हल्लायो।

फेरि सिर्कुना हान्नु भयो। ‘अन्त किन बाठो भइस?,’ सरको आँखामा रिस त उस्तो देखिन्थेन तर यस्तो गर्नुहुन्थ्यो कि लाग्थ्यो संसारको सबैभन्दा पिटुवा सर एलबी सर नै हुन्।

त्यसै कारण सर खोक्दा पनि पिसाब निस्केलाजस्तो हुन्थ्यो।

फेरि सरले सिर्कुना उठाउनु भयो। त्यसको होस गायब होलाजस्तो भइसकेकै थियो। एकहातले थाप्लोको नाम्लो थामेर अर्को हात सिर्कुना रोक्न उठाउन थालिसकेको थियो। त्यो हात सिर्कुना जताजता जान्थ्यो उताउतै नाँच्थ्यो।

‘6 को गुणा भन्,’ सरले त्यसैलाई सोध्नुभयो।

यतिखेर त्यो कालोनिलो भइसकेको थियो। कालोनिलो मात्रै किन र हरियोनिल्लै पनि भइसकेको थियो। त्यसको एउटै कारण थियो- 6 को गुणा। जो त्यसलाई कण्ठस्त छैन।

त्यो भन्दैजान्थ्यो, छछछत्तीसपछि अड्किन्थ्यो। पहिलोपल्ट अड्किँदा सरले भन्नु भयो, ‘मनोज मकै भाँच, यो जतिपल्ट अड्किन्छ, त्यतिवटै यसको डोकोमा हाल्नु।’

मैले मकै भाँचेर त्यसको डोकोमा हालिदिएँ।

त्यो छछछत्तीसबाट अघि बढेन। त्यसको डोको भरियो।

डोको भरिएपछि सरले एक सिर्कुना फेरि हाने। त्यो भारी बोकेर थरर काम्यो। न भारी झार्न सक्थ्यो न सिर्कुना बज्रेको ठाउँमा छाम्न नै सक्थ्यो त्यो। बस्, थररर काम्थ्यो।

‘जा सिकुवामा खनाएर आइज,’ सरले भन्नु भयो। त्यो थिरिरि हुँदै गयो।

त्यसपछि अर्कोको पालो आयो।

000

सबैको डोको त्यसरी नै भरियो।

मेरो पनि पालो आयो। सवाल जवाफ भयो।

सकेर सरले खिस्स हाँसेर सोध्नु भयो,  ‘के गर्छस्?’

मैले भने, ‘हाल्दिनुस् सर।’

सरले मेरो टाउको मुसार्नु भयो र तीनवटा मकै भाँचेर हाल्दिनु भयो। म बोकेर फिलिलि कुदें। मैले सबै प्रश्नको जवाब दिएको थिएँ। त्यसै कारण ‘के गर्छस्?’ भनेर सोध्नु भएको थियो।

सिकुवामा पुग्दा मकै डङ्गुर थुप्रिएको थियो। साथीहरू पासुवाको सुम्लामा फुफु गरेर फुकिरहेको थियो।

-यसरी पढाउनुहुन्थ्यो एलबी सरले।

भोलिपल्ट सरले दलगाउँ प्राथमिक पाठशाला जाँदै गरेको मलाई उनको स्कूल 46 प्राथमिक पाठशाला सार्नु भयो।

दलगाउँमा बी-मा पढ्दै गरेको म इक्जाम नलेखी 46 मा वान क्लासमा बसेको थिएँ।

हरेक टिचर्स डेमा मलाई याद आउने उनी नै हुन्।

अम्बकको रुखमा फलेको याद
एलबी सरले हामीलाई रुखलाई माया गर्न सिकाए। जहाँजहाँ पैह्रो जान्थ्यो ट्युसन पढ्ने हाम्रो ग्रुपलाई विरुवा बोकाएर काँटा काँधमा हालेर निस्कन्थे सर। स्कूल छुट्टिभएर घर फर्किँदा मेरो मुठीमा विरुवा हुन्थ्यो।

सडक किनारकिनार उम्रिएका लिची, अम्बक र रुख कटहरको विरुवा पुरुक्क उखेलेर बोक्थेँ। हाम्रो बारी त थिएन। भएको दुइ फोक्टा बारीमा रुख रोप्न मनाही थियो। साग रोप्ने बारीमा रुख रोप्नु अपराध नै थियो। बगानमा काम थिएन। अहिले पनि छैन। तर जन्में त्यहीँ। जन्में त के भो अझसम्म जमीन छैन।
भारतवर्षमा जमीन नै नभएको कवि हुँ म।

सायद म जस्ता धेरै होलान् नै। तर हामीलाई बारी कमाउनै पर्थ्यो। सायद तारा थापा दाजुहरूको बारी हुनुपर्छ। घरदेखि केही पर थियो। स्कूल छुट्टीपछि आमासित म त्यहीँ हुन्थेँ बाँझो खन्न। कमाउँदैथ्यौं हामी त्यो बारी।
म विरुवाहरू उखेल्दै ल्याउँथेँ र बारीको डीलडील रोप्थेँ।
आमाले फलको रुख रोप्, अरु नरोप भन्नुहुन्थ्यो।
रोपेको विरुवामा बिहानै मगमा पानी बोकेर हाल्नु जान्थेँ।
स्कूलबाट फर्किँदा एकदिन मैले रोपेका अम्बकका विरुवाहरू कुनै पनि थिएनन्।

बारीको डीलमा बसेर बेलुकीसम्म म रोइरहेँ। सुत्दाखेरी मलाई याद आयो हिजो मैले रोपेका विरुवा दिलिप र धनबहादुरलाई देखाएको थिएँ। दिलिप राई र धनबहादुर सुब्बा मेरो क्लास मेट। एउटै गाउँको। पक्कै पनि उनीहरूले नै उखेलेर लगे। मैले हार खाइन। फेरि रोपेँ।

000

हिजोअस्ति धनबहादुर साथी मेरोमा पहुना आए। धेरैवर्षपछि भेटेका हामीले सँगै ब्रान्डी पियौं।
अलिअलि मात चढेको धनले भन्यो, ‘ओउ बोगटी, त्यो अम्बकको रुखले साह्रै मिठो फल्छ यार। तिमीलाई थाहा छ? तिमीले रोपेको अम्बकको विरुवा मैले चोरेको थिएँ। कुनै दिन आएको बेला टिपेर खानु है अम्बक।’

कति मज्ज आएको थियो यो सुन्दा मलाई। साँच्ची नै त्यो अम्बकको बोट हराएको छोरा जस्तो लाग्यो। एक दिन गाउँ गएको बेला म त्यो अम्बककोरुपमा चढ्छु र धेरैबेर बस्नेछु र त्यहीँबाट हेर्नेछु पुरिसकेका सानाका दिनहरूलाई पनि। एलबी सरले रुख रोप्न नसिकाएको भए कसरी टिपेर खानु र अम्बकको रुखमा फलेको याद?

नुहाइरहेको गरिबी
नाकबाट सिंगानको पाप्रा यस्तो बस्थ्यो कि अमिर सुन्दासले हुरिले ठेलिरहेको सिक्रा मात्र भएको रुखको चित्र बनाएजस्तो। रातो खोपिल्टा बस्थ्यो नाकको दुइप्वालबीच। त्यहीँ चलिबस्थ्यो ज्वारभाटा। ट्युसन पढ्दापढ्दै एलबी सरले मलाई दलगाउँ प्राथमिकबाट ४६ प्राथमिक सारे।

किन भने म पढ्नमा बिच्छु। जाडो बढिसकेको थियो। एकदिन एलबी सरले बिहानै अङ्गालो मारेर धारा लगे र दुइचाकबीच जुइना मात्र बाँचेको खाकीको हापेन्ट र कात्ती परेको हरियो सर्टमाथिबाट नै अचानक पानी खन्याइदिए। जाडोमा चिसो पानी। त्यसपछि मरिमरि हाँसे सर र भने, ‘बजिया गन्धे। गनाउँदै हिँड्छस्? ई: यसरी नुहाउनुपर्छ।’

हापेन्ट र सर्ट खोल्नु लगाए। मैले लुगा खोलेर ढुङ्गामाथि राखेँ। सरले साबुन दलेको जालोले बेस्मरी घोटिदिए। आँखामा धर्धरि आशु त थियो, हिक्का त थियो तर आवाज थिएन। म थररर काँपी रहेको थिएँ। अहिले सिंगानको पाप्रा थिएन गालामा। नुहाइसकेपछि सरले मलाई नरम तौलियाले बेर्नु भयो। ढुङ्गामाथि राखेको मेरो लुगा एउटा भाटाले उचाल्नु भयो र घुरेनमा मिल्काउनु भयो।

एकछिनपछि
घरमाथिको डाँडाबाट आमालाई कराइरहेको थिएँ, ‘आमा इः मेरो नयाँ लुगा, सरले ल्याइदेको।’
त्यो बेला मेरा आँखामा थोपाहरू थिए। गरिबी र खुशीका। तर आमाले देखेनन्। एलबी सरले पनि देखेनन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares