डा. हर्कबहादुर छेत्री अर्थात भालेमुङग्रो

आलोचना

प्रवीण कौशिक


अस्सी नब्बेको दशक, जतिखेर दार्जीलिङ पहाड़मा सुबास घिसिङ र गोरामुमो पार्टीको सत्ता थियो। उतिखेर सुबास घिसिङ र गोरामुमो पार्टीको कट्टर आलोचक बनेर घरिघरि चर्चामा छाइरहने व्यक्ति थिए- डा. हर्कबहादुर छेत्री।

यसो त उहाँको पूर्ण बायोडाटा मँसग छैन। मलाई यति जानकारी पक्कै पनि छ कि उनी एक कुशल वक्ता अनि असल तार्किक भने अवश्यै पनि हुन्।

उनको बोल्ने र तर्क गर्ने शक्ति भने बढो चाखलाग्दो छ।

गोरामुमोको पालोमा कट्टर आलोचक र विरोधी बनेर गोरामुमोको खोइरो खने पनि तर त्यसताक डा. छेत्रीले राजनैतिक धरातलमा आफ्नो खुट्टा राख्ने सानो स्पेस धरी पाएनन्।

एक दुई चोटी निर्दलीय भएर चुनाउमा उठेपनि त्यसले पनि डा. छेत्रीको राजनैतिक करियरमा कुनै बुस्ट गर्न सकेनन्। २००७ मा गोर्खा जन्मुक्ति मोर्चाको पहाड़मा उदयसँगै डा. छेत्रीको झण्डै झण्डै सकिन लागेको राजनैतिक जीवनले एकपटक गज्जबले काँचुली फेर्ने मौका पायो।

त्यसताक गोर्खाल्याण्ड राज्य निर्माणको नारा दिएर देखापरेको गोर्खा जन्मुक्ति मोर्चामाथि मानिसहरूको क्रेज त अवश्यै थियो नै त्यहीँमाथि डा. छेत्रीको गोर्खाल्याण्डमाथि आधारित सारगर्भित सम्भाषणहरू सुन्दा साँच्चै यो पाली चाहीँ गोर्खाल्याण्ड अवश्यै हुन्छ क्या हो जस्तो मलाई पनि मनमा लागेको हो।

मेरो विचारमा त्यसताक गोर्खाल्याण्डको डेथ लाइन तोक्दै ‘१० मार्च २०१० मा गोर्खाल्याण्ड ल्याउँछु नत्र निधारमा गोली ठोकी मर्छु’ भन्ने निराधार भाषण गर्ने बिमल गुरुङले पक्कै पनि डा. छेत्रीको भाषण सुनेर नै प्रभावित भएर बोली पठाएको हुनुपर्छ।

हुन पनि डा. छेत्रीले त्यसबेला गोर्खाल्याण्ड राज्य निर्माणको सम्भावनाबारे बहुत नै मिठामिठा चिप्ला कुराहरू बोलेका थिए। यसैको आड़मा डा. छेत्रीले पश्चिम बङ्गालको विधानसभा चुनाउ पनि जिते।

धेरै पहिलादेखि डा.छेत्रीको विधानसभा जाने सपना र आन्तरिक इच्छा गोर्खा जन्मुक्ति मोर्चाले दुइचार वर्षमा नै पूर्ण पनि गरिदियो।

गोर्खाल्याण्डको नारा भट्याउँदै गोर्खाल्याण्ड हुन्छै हुन्छ भन्ने डा. छेत्रीले पहाड़मा जिटिए जस्तो असंवैधानिक व्यवस्था भित्रिएपछि भने एकाएक भाका फेर्न थाले।

त्यसपछि उही हर्कबहादुर ‘गोर्खाल्याण्ड अहिले सम्भव छैन, इन्द्रेको बाउ चन्द्रेले पनि गोर्खाल्याण्ड ल्याउन सक्दैन, यदि कसैले गोर्खाल्याण्ड सिधै ल्याएछ भने म टिस्टामा हाम फालेर मर्छु’ भन्ने भए।

अंसवैधानिक व्यवस्था जिटिए हो भनेर लाटालाई समेत थाहा हुँदापनि ‘जिटिए राज्यभित्रको राज्य हो’ भन्दै भ्रामक सन्देश जनतामा बाँड्ने पनि डा. हर्कबहादुर छेत्री नै हुन्।

डा. हर्कबहादुरलाई यहाँनेर आइपुग्दा आफ्नो महत्वाकांक्षा पूरा गर्न पायो भयो जुनै रङमा पनि अनुहार देखाउन सक्ने भालेमुङ्ग्रो भन्न सकिन्छ।

वास्तवमा नब्बेको दशकमा हामीले चिनेर सुन ठानेको डा. छेत्रीलाई २०१७ सम्म आइपुग्दा मात्र हामीले बुझ्यौं, उनी त न सुन, न फलाम रहेछन्। उनी त भालेमुङ्ग्रो पो रहेछन्। विमल गुरुङसित आए विमल गुरुङकै रङमा देखापर्ने, ममता व्यानर्जीसित आए ममताकै रङमा देखापर्ने।

डा. छेत्रीलाई जतैबाट पनि आफ्नो मतलब पूरा गर्नु छ। यसपल्ट भूमिपुत्रकोरूपमा ‘मलाई सांसद बनाउ’ भन्ने अभियानमा छँदैछन्।

भारतीय गोर्खा समाजभित्रको बुद्धिजीवी भनेर हामीले एकबखत गर्व गर्ने डा. छेत्रीलाई हेरेर लाग्थ्यो, उनीझैं प्रकाण्ड विद्वानले अवश्यै पनि बङ्गाल अनि दिल्लीको नेताहरूलाई हाम्रो शताब्दी पुरानो छुट्टै राज्य गोर्खाल्याण्डको बारेमा राम्ररी बुझाउनु सक्छन्।

तर डा. छेत्री त केवल आफ्नै मतलब र फाइदामा मात्र चल्ने एक ब्राण्ड नेम रहेछन्। गोर्खा जनमुक्ति मोर्चा कै टिकटमा बङ्गालको विधानसभामा एन्ट्री पाएको डा. छेत्रीलाई जब २०१४ तिर गोर्खा जनमुक्तिले आफ्नो पदबटा राजीनामा दिनु लायो, डा. छेत्रीले टेरेनन्। अरू दुई विधायक रोहित शर्मा र त्रिलोक कुमार देवानले भने राजीनामा दिए। अहिले ती नै छेत्री दलीय इमान्दारिता र संहिताको कुरा गर्छन्।

विधायक बनेर विधानसभा छिरेपछि हर्कको रङ फेरिएको हो। चौकी स्वाद पाएका र बङ्गाली बुद्धिजीवीहरूबीच बाङ्ला पनि फाँडिहाल्ने, बुद्धिगीरी पनि देखाइहाल्ने डा. छेत्रीलाई विधानसभाका दोस्तहरूले ‘तिमीजस्तो बुद्धिजीवी विमलजस्तो मुर्खसित बस्ने?’ भनिदिएपछि नै हर्कको रङ अर्कै बन्दै गएको सबैलाई थाहा छ।

हिजो गोर्खाल्याण्डको कुरा गर्ने डा. विधानसभा छिर्दासम्म त इन्द्रेको बाउ चन्द्रले पनि गोर्खाल्याण्ड ल्याउन सक्दैन, ल्याए टिस्टामा हाम फाल्छु भन्ने भइसकेकै थिए। यसरी रङ फेर्ने हर्कले विमललाई टेर्ने कुरै आएन।

यी जम्मैले उनी छुट्टैराज्यबारे कति सिरियस रहेछन्, जनताले उतिखेर नै बुझेका हुन्। उतिखेर डा. छेत्री ममताको मायावी मोहजाल (बङ्ग वैभव) मा फसिरहेका थिएछन्। र नै त मोर्चासँग छुटिएको केही दिन नबित्दै आफ्नो नँया पार्टी जाप खोले।

ममताको निर्देशनमा हुनसक्छ, आफ्नो पार्टीको नाँउमा ‘गोर्खा’ शब्दको ‘ग’ पनि लगाएनन्। डा. छेत्रीले ‘गोर्खा’-शब्दबारे त लेखै लेखे। गोर्खा शब्द भावानात्मक भो रे, राजनीतिमा भावनाको स्थान छैन, बुद्धि र व्यावहारिकताको स्थान हुने गफ छाँटे। गोर्खा शब्दलाई परपरै टक्टकाए। पन्छाए।

जापले केहिदिन त ममताकै काखमा बसेर जिल्लाको आन्दोलन गरी टोपल्यो। खासाकै भएपनि ममताले पनि कालेबुङ जिल्ला दिइन् तर जिल्लाको श्रेय डा. छेत्रीलाई ममताले दिइनन्।

डा. हर्क हिस्रिक्क परे। मन दुखाए। त्यही बेला ममता र राज्यको विरोधमा पनि के के बोले। दूधबाट झीङ्गा फ्याँकेझैं ममताले हर्कलाई फ्याँकिदिए।

त्यसपछि फेरि डा. हर्कलाई गोर्खाल्याण्ड र गोर्खाको याद आयो। कालेबुङ थानाअघि जाप खोलिएपछि उनले पहिलोपल्ट जय गोर्खा, जय गोर्खाल्याण्ड भने।

सुन्नेहरू मरिमरि हाँसे। मानिसहरू हाँसे र नै उनले कुनै पनि चुनाउ त्यसपछि जितेनन्। मोर्चामा हुँदा विमलको वर्चस्वमा उनले भोट माग्न खट्नै परेन। विमलले भने, जनताले भोट दिए। जब विमल, ममताले लात हाने, उनलाई आफ्नै वर्चस्व बनाउने मन भयो। तर जनताले हर्कको आनीबानी चाल पाइसकेका थिए।

नगरपालिका पनि हारे, विधानपालिका पनि हारे।

अचम्म लाग्छ, एकजवा बुद्धिजीवीले कतिवटा रङ फेर्न सक्छ? जुन गोर्खा र गोर्खाल्याण्ड शब्दले बोक्ने जातीय भावुकताको विरोधमा अनेकौं भाषण गर्ने डा. छेत्री दिल्लीको सडकमा त्यही शब्द उच्चारण गरिरहेका थिए।

उनले खासमा गोर्खा र गोर्खाल्याण्ड शब्दको शक्ति थाहा पाएका छन्। जातीय भावुकता चिनेका छन्। अब त्यसैलाई भऱ्याङ बनाएर सत्ताचौकीमा चढ्ने सपना पालेका छन्। उनको सपनाको रङ अहिले नै सबैले चाल पाइसके।

डा. छेत्रीको राजनैतिक जीवनमा भुलैभुल देखाउने मेरो कुनै मनसाय होइन। तर डा. छेत्रीको गन्यौला चरित्रमा अहिलेसम्म पनि परिवर्तन आएन।

मैले डा. छेत्रीलाई जनमुक्ति मोर्चाको मञ्चमा उभिएर गोर्खाल्याण्ड हुन्छै हुन्छ भनेको पनि सुनें। फेरि त्यही मञ्चमा इन्द्रेको बाऊ चन्द्रेले पनि गोर्खाल्याण्ड ल्याउनु सक्दैन भनेको पनि सुनें। घरि सड़कमा आन्दोलन गर्नु पर्छ भन्छन् घरि संसदमा गर्नुपर्छ भन्छन्।

घरि गोर्खाल्याण्ड पटक्कै हुँदैन भन्छन्। फेरि आफै दिल्लीको  सड़कमा गोर्खाल्याण्ड भन्दै नारा लगाउँछन्। घरि बङ्गालपट्टि फर्कने घरि पहाड़ पट्टि फर्कने डा. छेत्रीको चरित्रले उनको सिद्धान्तबारे बताउँछ। अर्थात डा. हर्कबहादुर छेत्री सिद्धान्तविहिन नेता हुन्।

हामीले गोर्खा जातिको बुद्धिजीवी भनेर एकसमय नाक घोक्राएको डा. छेत्री अन्तमा गएर दुधुभात निस्किन्छ भनेर एकमनले पनि सोचेका थिएनौं। आफ्नै मतलब र स्वार्थमा घरिघरि रङ फेर्दै माछा देख्दा भित्रहात र साँप देख्दा बाहिरहात गर्ने डा. छेत्रीको पिएचडी दिमागले जातिको हितमा नयाँ कुरा सोच्छ भनेर आशा राख्नु फेरि मुर्खता मात्र हुनेछ।

हिज अस्ति चौरास्तामा ममता व्यानर्जीको छेउमा सानो स्पेस पाएको डा. छेत्रीले अहिलेसम्म दिल्लीमा भट्याउँदै गरेको गोर्खाल्याण्डको नारालाई फेरि निकालेर बाकसमा ताल्चा मारेर पो राख्ने हुन कि?

लोकसभा चुनाउसम्म डा. छेत्रीको अर्को रङ सबैले देख्न पाउनेछन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares