भारतको पहिलो ट्रान्सजेण्डर प्रिन्सिपल मानवी वन्दोपाध्यायमाथि पवित्रा लामाको कविता

मानवी वन्दोपाध्याय बङला भाषा साहित्यमा विधावारिधि गरेर जून २०१५ देखि नदिया जिल्ला स्थित कृष्णनगर महिला महाविद्यालयकी प्राचार्य जस्तो गरिमामय पदमा पुग्ने भारतमा नै प्रथम परालैंगिक व्यक्तित्व हुन्।  यस अघि प्रथम परालैंगिक सम्वाददाताको रूपमा पदमिनी प्रकाशको नाम निकै चर्चामा आएको थियो। उनीहरूको यो उपलब्धिले समाजमा अनेकौ प्रश्नहरू पनि जन्माएको छ।

भारतमा परालैंगिक व्यक्तिहरूलाई मान्यता दिइएको छैन। उनीहरू समाजबाट पनि तिरस्कृत हुने गर्छन्। देशको दुइ लिङ्गलाई मात्र मान्यता दिइने कानुनले गर्दा उनीहरू मौलिक अधिकारहरू जस्तो वयस्क मतदाताको अधिकार, सम्पतिको अधिकार, विवाहको अधिकार अनि पासपोर्ट अनि अन्य सरकारी औपचारिक परिचयको अधिकारदेखि वञ्चित रहन्छन्।

यही परिचयको सङकटकै कारण उनीहरू खाद्य अनुदान, शिक्षा, नोकरी स्वास्थ्य जस्ता सरकारी सुविधादेखि वञ्चित छन्। धेरै परालैंगिक व्यक्तिहरू यसैकारण वा त भीख मागेर खान्छन् वा यौनकर्म तिर प्रवृत्त हुन्छन्। भारतमा मात्र होइन सारा विश्वमा नै यो सङ्कटले गहिरो रूप लिएको देखिन्छ।

विश्वका अनेक देशहरूले दुई लिङ्गको साटोमा तीन लिङ्गलाई मान्यता दिइसकेको छ। भारतमा पनि यसको व्यापक चर्चा परिचर्चा भइरहेको छ। भारतको सर्वोच्च न्यायलयले भर्खरै दिएको एउटा निर्णयमा समाजमा पुरूष, नारी अनि परालैंगिक तीन लिङ्गलाई मान्यता दिनुपर्ऩे कुरामा जोर दिएको छ तर धार्मिक कट्टर मान्यताहरूलाई ध्यानमा राख्दै सरकारले यस निर्णयलाई कानुनको रूपमा मान्यता दिन हिच्किचाइ रहेको छ।

मानिस स्वतन्त्र जन्मन्छ अनि उसले मान्छेले पाउनुपर्ने सम्पूर्ण अधिकारहरू कुनै वञ्चनाविना पाउनुपर्ने हो। तर भारत जस्तो अनेक देशहरूमा लिङ्को आधारमा परालैंगिकहरूहरूलाई कुनै पनि अधिकार प्राप्त छैन। टाइम्स अझ इण्डियाको एउटा रिपोर्ट अनुसार भारतमा झण्डै ५ लाख तेस्रो लिङ्गीहरू आफ्नो अधिकारदेखि वञ्चित छन् अनि आफ्नो अधिकारको निम्ति लडिरहेका छन्। उनीहरूका भावनासित समाजलाई कुनै सरोकार छैन। उनीहरू समाजको पूर्वाग्रही हेय दृष्टि वा हेराइबाट आफै अपराध बोधले ग्रस्त छन्।

मानवी वन्दोपाध्याय उनीहरूको यो अन्धकार संसारको दीयोको प्रकाश हुन्। उनैको जीवन को सङ्घर्ष अनि परालैंगिक समस्यालाई लिएर लेखिएको यो कविता यहाँहरूसमक्ष प्रस्तुत छ।


म मानवी बोलिरहेछु

  

 पवित्रा लामा


असामान्य जहाँ सामान्य मानिन्छन्

त्यस अडानबाट बोलिरहेछु

म मानवी बोलिरहेछु…

शरीर र आत्मा जहाँ

एक-अर्काका पूरक छैनन्

त्यस अतृप्ति र असम्पूर्णताको

विनिर्माणबाट बोलिरहेछु…

मन्दिरहरूमा त्याज्य घोषित भएका

अर्द्धनारीश्वरहरू जहाँ विद्यमान छन्

म ईश्वरको तिरस्कृत

तेस्रो दलानबाट बोलिरहेछु 

म मानवी बोलिरहेछु…        

समानताका तीव्र तुलाहरूमा सवार

परिभ्रमित नर-नारीहरूबिच

सृष्टिको सृष्टिहीन, संदिग्ध

पहिचानबाट बोलिरहेछु….

मान्छे उन्मुक्त जन्मन्छ

एक सुन्दर जीवको रूपमा

उत्फुल्ल, आनन्दित, उत्साहित

समाजको शोधनागारमा

क्रमश उ अनुकूलित हुन्छ

नर-नारीको रूपमा

कुनै शङ्खघोष नभएको मेरो जन्म

कुनै विलाप नहुने मेरो मृत्यु

जन्म र मृत्यु मेरा

परिधिबाहिरका कुरा हुन्

तर यो जीवनमाथि त

मेरै अधिकार छ

अधिकार मनको

अधिकार तनको

अझ अधिकार जीवनको

अधिकार कर्मको

अधिकार मर्मको

समाजहीन, देशहीन, माटोविहीन

न म कसैको, न कोही मेरो

न सक्छु कहिले मन खोलेर हाँस्न

न सक्छु कहिले मन खोलेर रून

नवरसका दिव्य अनुभूतिहरूमा

घृणा र वीभत्स मात्र मलाई किन

छन्दहीन क्रोमोसोमका गणितहरू टेक्दै

त्रिशङ्कु अवस्थानबाट बोलिरहेछु

 म मानवी बोलिरहेछु…..

 

इन्द्रेणीका सात रङ्गहरूमा

एक दुई रङ्गहरू त मेरा लागि होलान्

ईश्वरका असीम उपहारहरूमा

एक टुक्रा आकाश त मेरो पनि होला

समता र क्षमतालाई चुनौती दिने

संविधानबाट बोलिरहेछु

म मानवी बोलिरहेछु….

उपहासका व्यङ्ग्य वाणहरूले

चोटिल पखेटाहरू फिँजाउदै

छद्मवेषी स्टिग्मा पन्साई

इन्द्रेणीका रङ्गहरू समेट्दै

पौरख साँच्दै, उज्यालो खोज्दै

घामका टुक्राहरू बटुलिरहेछु

अवहेलना र निर्ममतामा

पृथक परिचय खोजिरहेछु

 

धिक्कार जन्म र घृणित जीवनहरूमा

प्राणवायु भरिरहेछु

प्यालिओथिया, हर्माफ्रोडिटस,

आइफिशहरू मात्र होइन

देउताहरूलाई नतमस्तक बनाउने

अरावन भई हेरिरहेछु

युद्धभूमिमा अर्जुनलाई विजयी तुल्याउने

आह्वानबाट बोलिरहेछु….

अवमानवीय भई

पैतालामुनिबाट होइन

अश्वमेधी अभियानबाट बोलिरहेछु…..

अविजित आकाश गङ्गा उक्लन्दै

महाभिनिष्क्रमणको संज्ञानबाट बोलिरहेछु

म मानवी बोलिरहेछु… ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares