सिन्कोना निर्देशकले गरे बगानबासीलाई बोर्डको घर बनाउन जिटिएले एनओसी नदिएको खुलासा : जिटिएले दिएन कुनै जवाब : बगान क्षेत्रमा पैसावाल कम्पनीको टावर भने धमाधाम बनिँदै

 ‘कसैलाई पनि एनओसी दिइएको छैन।कसरी कोसित मिलाएर टावर बसाइँदैछ, त्यो मेरो जानकारीमा छैन। तर जति पनि टावरबारे मैले जानकारी पाएको छु, मैले थाहा पाएपछि सबै काम रोकिदिएको छु। अहिले टावरको काम भइरहेको छैन। मैले यसबारे नै जिटिएमा फाइल बुझाएको छु, यसबारे कुनै निर्णायक निर्देशन हामीलाई आएको छैन।’


कालेबुङ, 9 सेप्टेम्बर


सिन्कोना बगानका एक वासिन्दालाई एउटा बोर्डले घर दिने भयो। बोर्डले मागेको सबै कागजपत्र त थियो, थिएन त बोर्डले मागेको एनओसी। ‘बोर्डले घर बनाउन अघि बगानको एनओसी लिएर आउनु भनेको थियो,’ उनले भने, ‘तर एनओसी माग्न जाँदा प्रबन्धकले ‘जिटिएले एनओसी नदिनु भनेको छ’ भनेर एनओसी दिएनन्। सरकारले घर त दियो तर जिटिएले घर बनाउने एनओसी नै दिएन।’

तर सिन्कोना बगानमा बोर्डको घर त बनिरहेकै छ त? भन्ने प्रश्नको उत्तर उनले दिन सकेनन्। जबसम्म बगानबाट उनले एनओसी पाउँदैन, घर नबनिने भयो। खबरम्यागजिनले त्यसपछि अघिबाट नै बोर्डका घर बनाइसकेका परिवारसित सम्पर्क गऱ्यो।

‘जिटिएले एनओसी नदिनु भनेको सही हो। हामीलाई पनि त्यसै भनेको हो, हामीले त भित्रभित्रै मिलाएर घर बनाएका हौं,’ एक व्यक्तिले भने, ‘अहिले फेरि स्ट्रिक गरेको छ अरे।’

विभिन्न क्षेत्रमा विभिन्न बोर्डका काम गरिरहेका प्रतिनिधिहरूसित पनि खबरम्यागजिनले सम्पर्क गऱ्यो। ‘जिटिएले एनओसी नदिएकोले बोर्डको घर बगानमा बनाउनै सकिएको छैन। त्यसैको झमेलामा कुदिकुदाइ भइरहेको छ,’ उनीहरूले भने, ‘युनियन, पार्टीहरूसित कुरा राख्दा जिटिए विओए विनय तामाङ र निर्देशक सामुएल राईसित कुरा चलिरहेको बताउँछ, बगानले एनओसी नदिएको हो कि जिटिएले हो, कुरै बुझ्न सकेका छैनौं।’

लगभग सबै बोर्डले केही महिनाअघिसम्म सिन्कोना बगानमा घर बनाइरहेकै हो। उनीहरूले भित्रभित्रै मिलेर घर बनाएको बताएका छन्। यता बोर्डका केही प्रतिनिधिहरूसित बुझ्दा उनीहरूले जजसको एनओसी आयो उनीहरूको घर बनिएको बताए।

‘अहिलेसम्म एनओसी पाइएकाहरूको घर बनिसकेको छ,’ एक वोर्डका अध्यक्षले भने, ‘एनओसी नल्याए हामी घर बनाउन सक्तैनौं। बगानबाट अहिले धेरैको गुनासो एनओसीकै छ।’ यहाँ कसैको पनि नाम हामीले प्रकाशित गरेनौं, उनीहरूले अनुरोध छ, ‘नाम प्रकाशित नगरिदिनुहोला, नत्र हाम्रो घर बनिँदैन। बल्ल बल्ल पाएको घर, तपाईँको समाचारको कारण रोकिन सक्छ।’

बोर्डहरूसित सम्पर्क गर्दा पाइएको जानकारीअनुसार प्रत्येक बोर्डले अहिलेसम्म सिन्कोना बगानमा 50 देखि 200 वटासम्म बोर्डको घर बनाइसकेको छ। सबै घर ‘भित्रभित्रै मिलाइएको एनओसी’-को कारण नै बनिएको हो। जसजसको पनि घर बनेको छैन, उनीहरूको घर जिटिएले एनओसी नदिएको कारण नै नबनिएको हो।

सिन्कोना बगान जिटिए अधिनस्त छ। त्यसकारण सिन्कोना बगानमा जिटिएको हस्तक्षेप हुन स्वाभाविक हो। सबै बगान गरेर 5,350 जना श्रमिक छन्। उनीहरूका आफन्त लगभग 20 हजारभन्दा धेर छन्।

सरकारले बेरोजगार परिवार वा गरिबीरेखामुनिका मानिसहरूको निम्ति विभिन्न योजनाहरू तय गरेको छ। पहाडमा बोर्डहरूले उनीहरूलाई घरको सुविधा दिइरहेको छ। जिटिएले पनि घर बनाउने योजना कार्यान्वयन गरिनै रहेको छ। तर सिन्कोना बगानबासी एनओसी नपाएको कारण घर बनाउन पाइरहेका छैनन्।

सिन्कोना बगानका निर्देशक सामुएल राईसित सम्पर्क राख्दा उनले जिटिएले एनओसी रोकेको पुष्टि गरे।

‘मैले अघिबाटै भइरहेको यो समस्यालाई केन्द्रमा राखेर जिटिएसित कागजपत्र गरेको हुँ,’ राईले भने, ‘बगानको कुनै पनि जमिन कसैलाई प्रयोग गर्न हामीलाई एनोसी नदिनु भनेको छ। यसमा विनय तामाङले हस्ताक्षर गरेका छन्।’

‘बगानबासीलाई घर बनाउन चाँही एनओसी नदिने तर बगानको जमिनमा विभिन्न मोबाइल टावरको पोइन्टहरू बनाउने चाँही कसरी एनओसी दिनु भयो?,’ खबरम्यागजिनले उनलाई प्रश्न गरेको थियो। जवाबमा उनले भने, ‘कसैलाई पनि एनओसी दिइएको छैन।कसरी कोसित मिलाएर टावर बसाइँदैछ, त्यो मेरो जानकारीमा छैन। तर जति पनि टावरबारे मैले जानकारी पाएको छु, मैले थाहा पाएपछि सबै काम रोकिदिएको छु। अहिले टावरको काम भइरहेको छैन। मैले यसबारे नै जिटिएमा फाइल बुझाएको छु, यसबारे कुनै निर्णायक निर्देशन हामीलाई आएको छैन।’

यद्धपि टावर बनाउन गैरीबासमा केबल जोड्न बनाइएका पोइन्टहरू खन्नेकाम चलिरहेको स्थानीयहरूले खबरम्यागजिनलाई बताए। यसबारे उनलाई प्रश्न गर्दा टावर बनिरहेको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘यसबारे म म्यानेजरहरूसित बुझ्नेछु,’ उनले भने।

यसबारे बुझ्न विभिन्न दलका प्रतिनिधिहरूलाई खबरम्यागजिनले सम्पर्क गरेको थियो, तर उनीहरू कसैलाई पनि एनओसीसम्बन्धमा जानकारी नभएको बताए।

यता जिटिएका विओए अध्यक्ष विनय तामाङसित खबरम्यागजिनले फोन गरेको थियो, तर फोन उठेन। फोन नउठेपछि यस सम्बन्धका प्रश्न तामाङलाई वाट्सएप गरिएको थियो। म्यासेज सिन भयो तर उनले कुनै पनि जवाब दिएनन्।

यता उपाध्यक्ष अनित थापालाई पनि खबरम्यागजिनले सम्पर्क गरेको थियो। ‘यसबारे मलाई पनि केही जानकारी छैन, समस्या के रहेछ म बुझ्नेछु,’ उनले भने।

अचम्मलाग्दो कुरा के हो भने अरू कामको लागि भने जिटिएले एनओसी दिइरहेकै छ। जो 2014 मा  बाहिरकालाई एनओसी नदिने निर्देश जिटिए आफैले बगान निर्देशकलाई दिएको थियो। दलगाउँको भ्यू पोइन्टदेखि लिएर सामुदायिक भवन र मोबाइल टावरसम्म बनाउन जिटिएले एनओसी दिएको मानिसहरू बताउँछन्।

19.8.2014 मा जिटिएको निर्देशमा बगान निर्देशकलगायतको एउटा बैठक गरिएको थियो। जहाँ बगानबाहिरका कुनै पनि लगानीकर्तालाई बगानको जमिन नदिन अथवा एनओसी नदिन जिटिएले निर्देशकलाई निर्देश गरेको थियो। यसै बेला बगानका श्रमिकहरूको लागि उनीहरूको आफन्तको निम्ति जमिन प्रयोग गर्नको निम्ति एनओसीको कुनै प्रावधान नराखेको निर्देशकले  नै बताएका थिए। बैठकमा बगान निर्देशकले गरेको निर्देशअनुसार हो भने बगानका श्रमिकका आफन्तहरूलाई घर बनाउन कुनै एनओसी पर्दैन।

तर अहिले टावरहरू भने बनिरहेको छ, जसलाई जिटिएले निर्देशकलाई एनओसी नदिने निर्देश दिएको थियो। श्रमिकहरूका आफन्तलाई भने एनओसीको झमेलाबाट मुक्त राखिएको थियो, तर अहिले उनीहरूले नै एनओसीको झमेला बेहोर्नु परिरहेको छ।

निर्देशक राईले  2015 मा गैरीबासको रिसर्चल्याण्डमा हाटसेट बनाउने कागज बनाएका थिए। बोर्डर डेभलोपमेन्ट फन्डबाट बनिने हाटसेटलाई जिटिएले 2017 मा एनओसी दिएको छ। हाटसेट बनिएको पनि छ, तर प्रयोगमा आएको छैन। तर बोर्डको घर बनाउन भने एनओसी रोकेर राखेको छ।

रोङ्गो, लाटपन्चरलगायतका कतिपय बगान क्षेत्रलाई बनविभागले 1946 मा जमिन हस्तान्तरण गर्दा ती बगानक्षेत्रमा बस्ने श्रमिक वा श्रमिकका परिवारहरूलाई राख्नेबारे ती बगानहरूका प्रवन्धकलाई नै निर्णय गर्ने क्षमता दिइएको थियो।

त्यो नोटिफिकेशन निस्तेज गरिएको अर्को नोटिफिकेसन अहिलेसम्म फेरि जारी भएको छैन। यता बगान क्षेत्रका धेरै समस्याका सामाधान गर्ने जिम्मेवारी निर्देशकलाई छ। श्रमिकका पक्षमा रहेका निर्देशकले समस्या सामाधानको निम्ति आफ्नो पक्षको पहल गर्नुपर्ने हो तर धेरैवर्षदेखि जिटिएले एनओसी रोकेको छ भन्दै आफ्नो पक्ष स्पष्ट पार्ने काम मात्र निर्देशकले गरिरहेका छन्।

यदि  एनओसी नै प्रमुख कुरा हो भने आन्तरिकरूपमा मिलाएर कसरी अहिलेसम्म बोर्डहरूले घर बनाइरहेको छ, यो अलग्गै विवादको धेरोमा पुगेको छ।

यता 2014 मा एउटा बैठकपछि बगान निर्देशक आफैले श्रमिकहरूले आफन्तहरूलाई जमिनमा घर बनाउन वा आफूले पाएको जमिनलाई प्रयोग गर्न दिन पाउने बताएका थिए। यदि त्यसो हो भने फेरि कुन एनओसी हो, जो नभए गरिबहरूले बोर्डको घर बनाउन पाउँदैनन्। जिटिएले कुन कारणले एनओसी कसको लागि रोकेको हो, अहिलेसम्म त्यसबारे विस्तृत जानकरी पाइएको छैन।

एनओसीबारे जबसम्म जिटिए विओए विनय तामाङले आफ्नो मौनता तोड्दैनन् तबसम्म यो निक्कै ठुलो समस्याकोरूपमा रहने स्थिति बनेको छ। जसले आउँदो चुनाउमा मोर्चालाई निक्कै ठूलो धक्का लाग्ने सम्भावना चुलिएको छ।

जिटिए, जसले जनसुविधा र विकासको कुरा गरिरहेको छ, उसले किन बगानबासीहरूलाई एनओसीको अड्को थापिरहेको हो, त्यसको रहस्य खुल्न सकेको छैन। एनओसीको निम्ति बगानका गरिबहरू हजार रुपियाँ पिटेर जिटिए कार्यालय धाउनुपर्ने हो वा उनीहरूले आफ्नो हक जिटिएको फर्मानको कारण गुमाउनुपर्ने हो? यो प्रश्न पनि उठेको छ।

रहस्यको कुरा के छ भने बगानमा विभिन्न दलका युनियनहरू छन्, तर यो मामिलामा सबै युनियन मौन छ।

सिन्कोना बगानमा विस्तारै लोकसभा चुनाउको हावा यसै पनि गर्मिरहेको छ। जहाँका मानिसहरूले जिटिएले रोकेको एनओसीको कारण दुःख र झमेला सहनु परिरहेको छ। सरकारले दिएको योजनाको लाभ सरकारकै अड्चनको कारण गुमाउन परिरहेका सिन्कोना बगानबासीलाई आखिर किन जिटिएले हकबाट विमुख गरिरहेको हो, त्यो बुझ्न सकिएको छैन।

यदि निर्देशक राईको कुरा साँचो हो भने जिटिएले सिन्कोना बगानबासीमाथि तानाशाह लागू गरिरहेको प्रमाणित हुनेछ। यदि साँचो होइन भने निर्देशकले बगानबासीप्रति असंवेदनशीलता देखाइरहेको स्पष्ट हुन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया