एसडीएफको जनसम्पर्क राज्यभरि तिब्र बन्दै, शहरी क्षेत्रबाट हराएको समर्थन फर्काउने प्रयास युद्धस्तरमा

गान्तोक, 9 सेप्टेम्बरः सत्तारूढ सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)  जनसम्पर्क अभियानले गति लिएको छ।  पार्टी हाइकमानकै निर्देशअनुसार भइरहेका गतिविधिलाई एसडीएफले अझ राज्यभरि तीव्र पारेको छ। शहरी क्षेत्र (विशेष गरेर गान्तोक)-मा भएका कार्यक्रमहरूमा विपक्षी पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-बाट 500 भन्दा अधिक युवा समर्थकहरू सत्तारूढ़ पार्टीमा सामेल भएको दाबी गरिएको छ।

गान्तोकमुखी कार्यक्रमहरूलाई नेतृत्व दिइरहेका एसडीएफका युवा नेता आशिष राईले  भने,‘‘हाईकमानको विशेष आदेशमा हामीले पार्टीका गतिविधिलाई सञ्चालन गरिरहेका छौं। रानीपुलदेखि बोजोघारीसम्मका 500 भन्दा अधिक एसकेएमका युवा कार्यकर्ताहरू एसडीएफमा सामेल भएका छन्। पछिल्लो एक साताभित्रका कार्यक्रममा उनीहरू एसडीएफमा सामेल भएका हुन्। हामीले ठूला सभाहरू गर्ने मन बनाएका छैनौं। जनतासँग सोझो संवाद र अन्तरक्रिया नै हाम्रो कार्यक्रमको नयाँ परिपाटी हो।’’ एसडीएफका युवा नेता भानुप्रताप रसाइली, आर्थर तारगेन, कर्मा सुब्बा र मुख्यमन्त्रीपुत्र विकास चामलिङले आशिष राईलाई साथ दिइरहेका छन्। गान्तोक नगरनिगम क्षेत्रका एसडीएफ युवा संयोजक समेत रहेका राईले अझ भने,‘‘भानुप्रताप रसाइली र आर्थर तारगेन एसकेएम पार्टीबाट एसडीएफ पार्टीमा सामेल भएकाले हामीलाई एसकेएमका कार्यकर्ता चिन्न सजिलो भएको छ। उनीहरूले पहिला सँगै काम गरेका कार्यकर्ताहरूसँग हामीलाई जोड्ने काम गर्दैछन्। धारावाहिक रूपमा हामी यस्ता कार्यक्रमहरू गरेर शहरी क्षेत्रबाट एसकेएम पार्टीलाई निमिट्यान्न पार्नेछौं। 2014 मा गुमेको हाम्रो अस्तित्वलाई पुनः फर्काइल्याउनेछौं।’’  अर्कातिर, एसकेएम पार्टीका अध्यक्ष पीएस गोलेको गृह समष्टि सोरेङ-च्याखुङमा पनि एसडीएफले पार्टी गतिविधिलाई अझ तीव्र बनाएको छ। एसडीएफले एकै ठाउँमा केन्द्रिकृत सभा नगरेर पाँच खण्डमा पार्टीका गतिविधि विभाजित गरेको छ। यसको निम्ति एसडीएफका केन्द्रिय उपाध्यक्ष डा.एडी सुब्बा, युवा नेता खेमप्रसाद दाहाल, चेली मोर्चा नेतृ पद्मा शङ्कर, जेबी तामाङ र एसडीएफका वरिष्ठ नेता रस्तमान राईलाई खटाइएको छ। डा. एडी सुब्बालाई थर्पु, कार्थोक र टिम्बुरबुङ; जेबी तामाङलाई मेन्दोगाउँ र छोटा सामदोङ; खेमप्रसाद दाहाललाई मलबाँसे, सिङ्लिङ र बुदाङ; रस्तमान राईलाई सोरेङ, मङ्सारी र मगरजोङ अनि पद्मा शङ्करलाई च्याखुङ र चुम्बुङ ग्राम पञ्चायत एकाइको कार्यभार सुम्पिएको छ। उनीहरूका कार्यक्रमलाई अझ प्रकाशमा ल्याउन सबै वार्डमा एक-एकजना प्रचार-प्रसार प्रभारी पनि नियुक्त गरिएको छ। यस सम्बन्धमा अझ विस्तृत जानकारी दिँदै खेमप्रसाद दाहालले भने,‘‘तीन दिनदेखि सोरेङ-च्याखुङको सबै क्षेत्रमा हाम्रो जनसम्पर्क कार्यक्रम चलिरहेको छ। जनताबाट हामीले राम्रो सहयोग पाएका छौं। बाहिर जुन हल्ला छ त्यसको ठीक विपरित जमिनी यथार्थ छ। सोरेङ-च्याखुङमा एसडीएफको जुन किल्ला थियो, त्यो यथावत छ। जनताबाट पाएको अनुक्रियाअनुसार हामी नब्बेमा छौं, एसकेएम दशमा छ। 2014 को भन्दा 2019 मा एसडीएफले अझ बढ़ी भोट पाउनेछ। एसकेएमले आफ्नै मान्छेलाई फेरि सामेल गराएर बाहिर हल्ला गरिरहेको छ।’’

उत्तर जिल्लामा पनि एसडीएफले घरदैलो तथा अन्य स-साना सभालाई प्राथमिकताका साथ अघि बढ़ाएको छ। उत्तर सिक्किममा पार्टीको गतिविधिका निम्ति मन्त्री छिरिङ वाङ्दी लेप्चा स्वयं मैदानमा उत्रिएका छन्। उनी सँगसँगै केही सभाहरूमा जङ्गु क्षेत्रका विधायक सोनाम ग्याछो लेप्चा र कबि-तिङ्दाका विधायक उगेन निडुप भोटिया पनि सहभागी भइरहेका छन्। छिरिङ वाङ्दी लेप्चाले विशेष गरेर विद्यार्थीहरूसँग सोझो संवाद गरिरहेको पार्टीको उत्तर जिल्लाले जनाएको छ। मन्त्री लेप्चाको अगुवाइमा उत्तर जिल्लाका विभिन्न ठाउँमा घरदैलो अभियान पनि शुरु गरिएको र अन्य दुई विधायकका अगुवाइमा स-साना कोठे बैठकहरू लगातार रूपमा चलिरहेको बताइएको छ। उत्तर जिल्लामा गणनामा आउने तर पूर्व जिल्लामा पर्ने कबि-तिङ्दाको केही क्षेत्रमा उत्तर जिल्ला एसडीएफ कार्यकारी समिति र पूर्व जिल्लाका केही युवा नेतालाई जिम्मेवारी सुम्पिइएको जानकारी पाइएको छ। यो संयुक्त टोलीले आफ्ना गतिविधिलाई धारावाहिक रूपमा अघि बढ़ाएको छ। पश्चिम जिल्लाको योकसम-टाशीडिङ र रिञ्चेनपोङ क्षेत्रमा पनि सोही नीति अप्नाएर धारावाहिक कार्यक्रम परिचालन गरिएको एसडीएफले जनाएको छ।

 

 

 

 

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares