त्यो राजनीति, यो राजनीति

राजनैतिक कुसंस्कारलाई परिवर्तन गर्ने प्रत्येक नागरिकको कर्तव्य हो भन्ने मेरो मान्यता छ। जबसम्म सचेत, शिक्षित, सभ्य, इमान्दार मान्छे नेतृत्व गर्नु अघि आउँदैन तबसम्म हाम्रो राजनीतिमा कुट्ने, पिट्ने, मार्ने, धम्काउने राजनीति बन्द हुँदैन। जस्तो चाण्क्यको भनाई छ- ‘राजनीति मे हिस्सा ना लेनेका सबसे बडा दण्ड यह है कि अयोग्य व्यक्ति  आप पर शासन करने लगते है।’


आत्मालोचना

अमीर बस्नेत


बाबा मजदुर हुनुहुन्थ्यो। त्यसैले उहाँ कम्युनिष्ट हुनुहुन्थ्यो। ‘हँसिया मार्तोल तारा गरीबको साहारा’ उहाँको नारा थियो । पूर्व  पैयुङको भेडीगोठ ग्राउन्डको छेउमा हाम्रो सानो झुप्रो थियो।  दुइकोठाको। अहिले पनि त्यहीँ छ। तर घर चैं अलिक ठूलो भयो। हामी तीनभाई छोराहरू , एक बहिनी छोरी र आमाबाबु गरी ६ जनाको परिवार खचाखच हुन्थ्यो त्यो झोपडीमा ।

बाबाले मजदुरी गरेर पनि राजनीति गर्नु भ्याउनु हुन्थ्यो। त्यतिबेला त्यो उहाँको बाध्यता र रहर दुवै थियो होला। मार्क्सवादी विचारधारा बुझ्नुहुन्थ्यो कि बुझ्नुहुन्थेन, त्यो त थाहा छैन तर ‘मजदुरहरूमाथि हुने अन्यायको विरोध गर्नुपर्छ’ भन्नुहुन्थ्यो ।

त्यतिबेला  हाम्रो बाबाहरूलाई डोर्‍याउने सामुएल गुरूङ अङ्कल, खगेन्द्र अङ्कल ,केशर थापा दाजु, तुलसी अङ्कलहरू थिए।

000

यो कथा १९८८ देखि यताको हो। गाउँ हरियै थियो। फ्रेन्च रिभुलेसनपछि रेन अफ टेरोर भएको जस्तै  थियो पहाडको राजनैतिक अवस्था।

‘छ इन्ची घट्ला है’ भनेर धम्काउने जमाना । गाउँका सबैजना हरियो हुँदा बाबा रातो हुनुहुन्थ्यो। हाम्रो कलर कस्तो थियो थाहा छैन। तर आमा चैं अराजनैतिक थिइन् ।

दु:ख थियो घरमा। किनभने कमाउने एकजना मात्रै। त्योपनि मजदुरी काम कहिले हुन्थ्यो , कहिले हुन्थेन। हामी सबै  स्कूल पढ्दै थियौं।

गाउँमा स्कुल बनाउने काम आएको थियो दागोपापको। ठेकेदार गाउँ कै थिए। उसको नाम पनि मलाई थाहा छ। तर म नाम लिएर उसलाई बदनाम गर्न चहान्न। एकदिन उसले  बाबालाई मिस्त्री काम धरि गर्न दिएनछन् ,रातो पार्टीको भनेर। बिहान आमाले बनाएर पठाएको खाजा सुक्खा रोटी टिफिनक्यारी मै बोकेर फर्किनु भयो बाबा। त्यो रोटी हामीले रमाउँदै खायौँ ।

मजदुरीसम्म गर्न नदिँदा बाबा अझ बढी कम्युनिस्ट हुनुभयो। उहाँको प्रतिक्रिया गर्ने तरिका भिन्दै। इलेक्सनको बेला हँसिया मार्तोल ताराको नक्सा भएको पर्चाहरू लिएर आउनुहुन्थ्यो  घरमा। पोस्टरहरू पनि हुन्थ्यो त्यस्तै। आँटाको गम बनाएर तुलसी अङ्कल, मना बढा , उर्गेन ज्योज्योहरूसँग गाउँभरि टाल्नु हिड्नुहुन्थ्यो बिहानदेखि। बेलुकी अबेरसम्म्म पनि नआउँदा आमा सुत्नुहुन्थेन। अहिले सम्झिँदा सुर्ताले रहेछ। हामीलाई चैं डर देखाउदै सुताउनुहुन्थ्यो, ‘ऊ हरियोको केटाहरू आयो है’ भन्दै।

अर्को घटना पनि मलाई थाहा छ, सो के भने बाबाको क्यानभेसन गर्ने ठाउँ घरकै भित्ता थियो। रातो अलपटले बाबाको आक्रोश जत्रै ठूलो हसिँया, मार्तोल तारा बनाउनुहुन्थ्यो अनि लेख्नुहुन्थ्यो- हसियाँ मार्तोल तारा गरिबको साहारा।

त्यै नारा हामी भाँडाकुटि खेल्दा पनि फलाक्थ्यौँ। त्यो पार्टी हाम्रो परिवारको साहरा त भएन , तर नारा लगाउन चाँही मैले त्यही बेलादेखि सिकेको। भोटको बेला हाम्रै घरमा खाना पिना बनाउथ्यो। हामीलाई दसैं आएको जत्तिकै हुन्थ्यो। किनभने भुजा- चिउरा, बिस्कुटहरू ल्याएको हुन्थ्यो , बुथ खर्चबाट । कत्तिजना मान्छेहरू भोट हरियोमा हालेर खाना रातोको लगाएर जान्थेछन्। पछि रिजल्टमा थाहा हुन्थ्यो।

एउटा इलेक्सन थियो। त्यो डी०जी०एच० सी० को हुनुपर्छ। त्यो इलेक्सनको रिजल्ट आयो। जित्यो हरियोले। घरकै माथि  ग्राउन्डमा तीन -चार बजीदेखि पार्टी सुरू भयो। खसी पनि काटे। रम-रक्सी प्रसस्तै। एकजना हरियो  समर्थक दाजु कोल्टे लगाएपछि हाम्रो घरमा आएर आमालाई भने ‘भाउजू दाजु कहाँ हुनुहुन्छ ?  भरे टाउको लिनु आउछौं है हामी।’

आमा चुल्हामा हुनुहुन्थ्यो। त्यति सुन्नेबितिकै फलामको सोते थियो आगो फुक्ने, त्यै टिपेर झटारो हान्नुभयो ‘के हरे’ भनेर। लाग्यो कि लागेन थाहा छैन तर त्यो दाजु चम्पट कस्यो ।

हल्ला – खल्ला भयो। बाबा घरमा हुनुहुन्थेन । एकछिनपछि घरको माथिल्लो भित्तामा ढुङ्गा बज्रियो। माटोको भित्ता झरेर फत्किन्दैगरेको भातमा पर्‍यो । पिकनिकमा दाजुहरूले खसीको मासु र भात खाए कि खाएनन् तर हामीचाँहि भोकै सुत्यौ त्यो रात ।

पुलिस कम्प्लेन भयो । पन्द्र दिन जति गार्ड गर्‍यो पुलिसले हाम्रो थोत्रे झोपडीको ।

000

बाबाले राजनीति गर्नुहुँदा   घरमा आमा, आमै, आन्टीहरूले धेरै सुर्ता गर्नुहुन्थ्यो । पछि पार्टी छोड्नुभयो, हामी क्रीस्चियन भएपछि । बाबाले छोडेपछि त्यो राजनैतिक भूत ममाथि सवार भएको छ। अहिले आमाहरू मेरो विषयमा  सुर्ताउनुहुन्छ ।

म प्राय कालेबुङतिरै बस्छु आजभोलि। घर गएको बेला घरको सङ्घारै नकाटी आमा भन्नुहुन्छ ‘अमीर तँ राजनीति नगर है , दुश्मनी बड्छ। कुन दिन कसको फेला पर्लास्।’ कोठामा पसेर सम्झिन्छु। एकप्रकारले मेरो आमाले ठिकै भनेकी हुन् ।

समाजमा हाम्री आमाहरूले, बाबाहरूले देखेको र भोगेको राजनीति भनेको  कुट्ने, पिट्ने, मार्ने, हेप्ने, चोर्ने, ढाट्ने आदि किसिमको राजनीति हुन्। मेरो छोरालाई यस्तो बदमास बनाउनु मैले एम०ए० सम्म पढाको होइन भन्ने उनीहरूको भनाइ हो।

उनीहरूले देखेको राजनीति अनुसार त्यो बिचार ठिकै होला। तर म एकजना शिक्षित नागरिक भएर जब सम्झिन्छु कि हरेक व्यक्ति राजनीतिसँग प्रत्यक्ष्य र परोक्षरूपले सम्बन्धित हुन्छ। राजनीतिदेखि कोहीपनि भागेर भाग्नै सक्दैन। अनि राजनैतिक कुसंस्कारलाई परिवर्तन गर्ने प्रत्येक नागरिकको कर्तव्य हो भन्ने मेरो मान्यता छ। जबसम्म सचेत, शिक्षित, सभ्य, इमान्दार मान्छे नेतृत्व गर्नु अघि आउँदैन तबसम्म हाम्रो राजनीतिमा कुट्ने, पिट्ने, मार्ने, धम्काउने राजनीति बन्द हुँदैन। जस्तो चाण्क्यको भनाई छ- ‘राजनीति मे हिस्सा ना लेनेका सबसे बडा दण्ड यह है कि अयोग्य व्यक्ति  आप पर शासन करने लगते है।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares