मुख्यमन्त्रीद्वारा दोस्रो शनिबारको छुट्टी र एरियरको अन्तरिम राहतको घोषणा, कर्मचारीहरूमा खुशीको लहर भने, हामी सरकारप्रति आभारी छौं

गान्तोक, 11 सेप्टेम्बर। सिक्किमे सरकारी कर्मचारीहरूको निम्ति मुख्यमन्त्री पवन चामलिङले आज थुप्रै महत्वपूर्ण घोषणा गरेपछि कर्मचारी संगठनहरूमा खुशीको लहर छाएको छ। मुख्यमन्त्री चामलिङले सम्मान भवनमा आज अखिल सिक्किम सरकारी कर्मचारी संगठन ग्रुप सी एण्ड डी लगायत अन्य विभिन्न विभागीय संगठनहरूसितको अन्तरक्रिया कार्यक्रममा दोस्रो शनिबारलाई पुन: छुट्टी दिइने, पॉंचौ वेतन आयोगको एरियर 1 जनवरी, 2016 देखि नै लागू गर्ने, अन्तरिम राहतको रूपमा दशैं अघि नै वेतन आयोगको सिफारिशलाई लागू गर्दै अन्तरिम राहत राशि वितरण गर्ने तथा पॉंचौं वेतन आयोगले सिफारिश गरेको एचआरए र अन्य भत्ताहरूको अनियमिततालाई सुधार गर्ने घोषणा गरे,यसका साथै कर्मचारीको एरियर तीन किस्तीमा दिने बचन पनि मुख्यमन्त्री चामलिङले दिए। मुख्यमन्त्रीको यी घोषणाहरूलाई अखिल सिक्किम सरकारी कर्मचारी संगठन ग्रुप सी एण्ड डी को अध्यक्ष साङ्गे जाङ्गपो भोटिया र महासचिव राप्देन भोटियाले मुख्यमन्त्रीको अघि संगठनले अहिलेसम्म राखेको सबै मागहरूलाई आजको अन्तरक्रियामा सकारात्मक रूपमा लिएर सबै माग पूरा गरिदिने घोषणा गरेपछि कर्मचारीहरूलाई ठूलो राहत मिलेको बताए। महासचिव भोटियाले आजको बैठकले ग्रुप सी र डी का कर्मचारीहरूलाई मात्र नभएर सिक्किम भरिकै 85 हजार कर्मचारीहरूलाई फाइदा पुग्ने रहेको बताए। उनले सरकारको यी घोषणाहरूले कर्मचारीहरूलाई आफ्नो काम गर्नमा थप उर्जा प्राप्त भएको अनि यसको निम्ति सरकारप्रति सबै कर्मचारीवर्ग कृतज्ञ रहेको बताए। पत्रकारहरूसित कुराकानी गर्दै अध्यक्ष भोटियाले जुन प्रकारले सरकारले हामी कर्मचारीहरूको मागलाई सबै पूरा गरिदिने घोषणा गरेका छन् उसैगरि कर्मचारीहरूले पनि अबउसो इमानदार र जिम्मेवार भएर सरकारको विकास र जन सेवाको कार्यमा सक्रियता ल्याउनुपर्ने बताउॅंदै सरकारको निर्णयलाई स्वागतयोग्य रहेको बताए। दशैं अगाडी अन्तरिम राहतको रूपमा ए वर्गमा कार्यरत कर्मचारीलाई 1.5 लाख रूपियॉं, बी वर्गलाई 95 हजार, सी वर्गलाई 50 हजार र डी वर्गलाई 40 हजार रूपियॉं प्रदान गरिने मुख्यमन्त्रीको घोषणालाई अध्यक्ष भोटियाले स्वागत जनाए। यस अतिरिक्त विभिन्न विभागमा कार्यरत एमआरका कर्मचारीहरूको मासिक वेतन 1 देखि 10 तारिकभित्र दिइसक्नुपर्ने निर्णय पनि आजको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्रीले गरेका छन्। उल्लेखनीय छ, 2014 को चुनाउपछि दोस्रो शनिबारको छुट्टीलाई सरकारले हटाएको थियो जसलाई सरकारी कर्मचारीहरूले पटक पटक माग उठाउॅंदै छुट्टी गरिदिने आग्रह गर्दै आएका थिए।
सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares